गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 फेब्रुअरी › फेब्रुअरी 14
अर्थोडक्स पात्रो · फेब्रुअरी 1 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 फेब्रुअरी 14
आइतबार · स्वर 4
पर्व र सन्तहरू
जखायसको आइतबार
उपवास
उपवास छैन
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
बिहानको प्रार्थनाको चौथो सुसमाचार
1हप्ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए। 2तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए। 3तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन्। 4जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए। 5ती स्त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ?” 6उहाँ यहाँ हुनुहुन्न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ। 7मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ।” 8तब ती स्त्रीहरूले उहाँका वचनलाई सम्झे। 9र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए। 10अब मरियम मग्दलिनी, योअन्ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए। 11तर यो सन्देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्त्रीहरूको कुरामा विश्वास गरेनन्। 12यथापि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे। तब पत्रुस आश्चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे।
पत्र
9यो सन्देश भरोसायोग्य र पुरा स्वीकारको योग्य छ। 10किनकि हामी यसैको लागि हामी संघर्ष र कठिन परिश्रम गर्छौँ। किनभने हामीलाई जीवित परमेश्वरमा भरोसा छ, जो सबै मानिसहरू, विशेष गरी विश्वासीहरूका उद्धारकर्ता हुनुहुन्छ। 11यी कुराहरू घोषणा गर र सिकाऊ। 12कसैले पनि तिम्रो जवानीलाई तुच्छ नठानोस् बरू, तिमी विश्वास गर्नेहरूको लागि वचनमा, व्यवहारमा, प्रेममा, विश्वासमा, र पवित्रतामा उदाहरण होऊ। 13म नआउदासम्म वचन पढाईमा, अर्ति दिने कुरामा, र शिक्षा दिने कुरामा ध्यान देऊ। 14तिमीमा भएको वरदानलाई हेला नगर, जुन वरदान एल्डरहरूले हात राखेर अगमवाणीद्वारा तिमीलाई दिइएको थियो। 15यी कुराहरूको ख्याल राख। तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामू प्रकट होस्।
पत्र (सन्त त्रिफोनका निम्ति)
28हामी जान्दछौँ, कि परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ। 29किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्ति गर्नुभयो। 30जसलाई उहाँले पहिले नै नियुक्ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो। जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्याउनुभयो। जसलाई उहाँले धर्मी ठर्याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो। 31त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र? 32जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्न र? 33परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने? धर्मी तुल्याउनुहुने त परमेश्वर नै हुनुहुन्छ। 34दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्ट नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो। उहाँले आदरको स्थानमा रहेर परमेश्वरसँग शासन गर्दै हुनुहुन्छ, र हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ। 35हामीलाई ख्रीष्टको प्रेमबाट कसले अलग गर्न सक्नेछ? सङ्कष्टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्नताले, वा खतराले, वा तरवारले? 36जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ। हामीलाई मारिने भेडाहरूझैँ ठानियो।” 37यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ। 38किनकि म विश्वस्त भएको छु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न शासकहरूले, न वर्तमानका कुराहरूले, न आउने कुराहरूले, 39न उचाइले, न गहिराइले, न सृष्टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।
सुसमाचार
1येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो। 2हेर, त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए। उनी कर उठनेहरूका मुख्य र धनी मानिस थिए। 3उनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भिडको कारणले गर्दा हेर्न सकेनन्, किनकि उनी होचा थिए। 4त्यसैले उनी भिडका मानिसहरूभन्दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रुखमा चढे, किनभने येशू त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो। 5जब येशू उनी भएको ठाउँ नजिक आइपुग्नुभयो, उहाँले मास्तिर हेरेर भन्नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्नु छ।” 6त्यसैले उनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे। 7जब तिनीहरू सबैले यो देखे, तब उनीहरूले यसो भन्दै गनगन गर्न थाले, “उहाँ पापी मानिसकहाँ बस्नको लागि जानुभयो।” 8जखायस खडा भएर भने, “हेर्नुहोस् प्रभु, मसँग भएका जे-जति छन् त्यसको आधा म गरिबहरूलाई दिनेछु र यदि मैले कसैलाई ठगेर कसैबाट केही कुरा लिएको छु भने त्यसको चार गुणा फिर्ता दिनेछु।” 9येशूले तिनलाई भन्नुभयो, “आज यो घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका पुत्र हुन्। 10किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्न र बचाउनको लागि आएका हुन्।”
सुसमाचार (सन्त त्रिफोनका निम्ति)
19हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्याउनेछैन। 20तथापि आत्माहरू तिमीहरूको वशमा पर्छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी आनन्दित होओ।” 21त्यही समय उहाँ पवित्र आत्मामा आनन्दित हुनुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो। हे पिता, किनभने यो नै तपाईंको दृष्टिमा असल थियो।”
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको फेब्रुअरी 1 नागरिक पात्रोमा फेब्रुअरी 14 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार