20त्यसपछि जब्दियाका छोराहरूकी आमा आफ्ना दुई छोराका साथमा येशूकहाँ आइन्। तिनी उहाँको अगाडि घोप्टो परिन् र उहाँबाट केही कुरा पाउनलाई उहाँसँग बिन्ती गरिन्।
21येशूले तिनलाई भन्नुभयो, “तिमीले के कुराको चाहना गर्छौ?” तिनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा यी मेरा दुई जना छोरामध्ये एउटा तपाईंको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बसून् भनेर आज्ञा गर्नुहोस्।”
22तर येशूले जवाफ दिनुभयो र भन्नुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरूलाई थाहा छैन। के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र?” तिनीहरूले उहाँलाई भने, “हामीहरू सक्षम छौँ।”
23उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले मेरो कचौराबाट त पिउनेछौ। तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्न दिने मैले होइन, तर यो तिनीहरूका निम्ति हो, जसका निम्ति मेरा पिताद्वारा तयार पारिएको छ।”
24जब अरू दस जना चेलाले यो कुरालाई सुने, तिनीहरू यी दुई जना दाजुभाइसँग अति नै रुष्ट भए।
25तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्नुभयो, “तिमीहरू जान्दछौ, कि गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्दछन्।
26तर तिमीहरूका बिचमा यस्तो हुनुहुँदैन। बरु, जो तिमीहरूका बिचमा महान् हुने चाहना गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्दछ।
27र जो तिमीहरूका बिचमा पहिलो हुने इच्छा गर्दछ, ऊ तिमीहरूको दास हुनुपर्दछ,
28जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन्।”