Bible Explorer एप लिनुहोस्

बाइबल › गन्ती › 4

ULB · अध्याय 4 / 36

गन्ती 4

1परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

2“लेवीहरूबाट कहातका पुरुष सन्तानहरूको आ-आफ्ना वंशहरू र परिवार-परिवारअनुसार गन्ती गर्।

3तिसदेखि पचास वर्षसम्मका पुरुषहरूको गन्ती गर्। यी मानिसहरू भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुनुपर्छ।

4कहातका सन्तानहरूले भेट हुने पालको निम्ति मेरो निम्ति राखिएका अति पवित्र थोकहरूको देखरेख गर्नुपर्छ।

5छाउनी सार्न तयारी हुँदा हारून र तिनका छोराहरू भित्र जानुपर्छ, अति पवित्र स्थानलाई पवित्र स्थानबाट छुट्‌ट्याउने पर्दा झिक्‍नुपर्छ र गवाहीको सन्दूकलाई त्यसैले ढाक्‍नुपर्छ।

6तिनीहरूले सन्दूकलाई सीलको छालाले ढाक्‍नुपर्छ। तिनीहरूले यसमाथि निलो कपडाले ढाक्‍नुपर्छ। तिनीहरूले यसलाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ।

7तिनीहरूले उपस्थितिको रोटीको टेबुललाई एउटा निलो कपडाले ढाक्‍नुपर्छ। यसमाथि तिनीहरूले थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राख्‍नुपर्छ। टेबुलमाथि रोटी सदैव हुनुपर्छ।

8तिनीहरूले यिनीहरूलाई रातो रङको कपडाले र फेरि सीलको छालाले ढाक्‍नुपर्छ। टेबुललाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ।

9तिनीहरूले सामदानसाथै यसका बत्तीहरू, चिम्टाहरू, मोसोदानीहरू र बत्तीका निम्ति तेलका सबै भाँडालाई निलो कपडाले ढाक्‍नुपर्छ।

10तिनीहरूले सामदान र यसका सबै सरसामानलाई सीलको छालाले ढाक्‍नुपर्छ र तिनीहरूले यसलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ।

11तिनहरूले सुनको वेदीलाई निलो कपडाले ढाक्‍नुपर्छ।

12तिनीहरूले यसलाई सीलको छालाले ढाक्‍नुपर्छ र बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ। तिनीहरूले पवित्र स्थानका सबै कामका सामानहरूलाई लिएर निलो कपडाले बेर्नुपर्छ। तिनीहरूले यसलाई सीलको छालाले ढाक्‍नुपर्छ र सामानहरूलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ।

13तिनीहरूले वेदीबाट खरानी हटाउनुपर्छ र वेदीलाई बैजनी रङको कपडाले ढाक्‍नुपर्छ।

14तिनीहरूले वेदीको सेवामा प्रयोग गर्ने सबै सामानलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ। यिनीहरू आगो राख्‍ने पात्रहरू, काँटाहरू, बेल्चाहरू, बाटाहरू र वेदीका अन्य सबै सामान हुन्। तिनीहरूले वेदीलाई सीलको छालाले ढाक्‍नुपर्छ अनि बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ।

15जब हारून र तिनका छोराहरूले पवित्र स्थान र यसका सबै सामानलाई ढाकी सक्छन् अनि छाउनी अगाडि बढ्छ त्यसपछि कहातका सन्तानहरू पवित्र स्थान बोक्‍न आउनुपर्छ। यदि तिनीहरूले पवित्र सामानहरू छोए भने तिनीहरू मारिऊन्। भेट हुने पालका सामानहरू बोक्‍ने काम कहातका सन्तानहरूको हो।

16पुजारी हारूनका छोरा एलाजारले बत्तीको लागि तेल, सुगन्धित धूप, नियमित अन्‍नबलि, अभिषेक गर्ने तेलको देखरेख गरून्। तिनले सारा पवित्र वासस्थान र यसमा भएका सबै थोक अर्थात् पवित्र स्थान र यसका सामानाहरूको देखरेख गरून्।”

17परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

18“कहाती वंशलाई लेवीहरूबाट बहिस्कृत हुन नदेओ।

19तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून्। तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा

20तिनीहरू पवित्र स्थान हेर्न एक क्षणको निम्ति पनि जानुहुँदैन नत्रता तिनीहरू मारिनेछन्। हारून र तिनका छोराहरूले हरेक कहातीलाई त्यसको काम अर्थात् त्यसको विशेष कामहरू तोक्‍नुपर्छ।”

21परमप्रभु फेरि मोशासँग बोल्नुभयो,

22“गेर्शोनका सन्तानहरूको आ-आफ्ना कुल र पुर्खाका परिवार-परिवारअनुसार गन्ती गर्।

23तिसदेखि पचास वर्ष भएकाहरूको गन्ती गर्। भेट हुने पालको सेवा गर्न सहभागी हुन सक्‍ने दलको गन्ती गर्।

24गेर्शोनीहरूले सेवा गर्दा र तिनीहरूले बोक्दा यो काम गेर्शोनी कुलको काम हो। तिनीहरूले पवित्र वासस्थानका पर्दाहरू, भेट हुने पाल, त्यसको छत, यसमाथिको सीलको छालाको छत र भेट हुने पालको प्रवेश-द्वारका पर्दाहरू बोक्‍नुपर्छ।

25तिनीहरूले चोकका पर्दाहरू, पवित्र वासस्थान र वेदी नजिक भएका चोकको प्रवेश-द्वारका पर्दाहरू,

26तिनीहरूका डोरीहरू र तिनीहरूका सेवाको निम्ति सबै सामान बोक्‍नुपर्छ। यिनीहरूसँग सम्बन्धित सबै थोक तिनीहरूले गर्नुपर्छ। हारून

27र तिनका छोराहरूले गेर्शोनका सन्तानहरूले ओसारपसार गर्दा र तिनीहरूका सबै सेवामा निर्देशन दिनुपर्छ। तैँले तिनीहरूका सबै दायित्व निर्धारण गर्।

28यो भेट हुने पालको निम्ति गेर्शोनका सन्तानहरूका कुलहरूको काम हो। पुजारी हारूनका छोरा ईतामारले तिनीहरूको कामको नेतृत्व गर्नुपर्छ।

29तैँले आ-आफ्ना कुलअनुसार मरारीका सन्तानहरूको गन्ती गर्, र तिनीहरूलाई आ-आफ्ना परिवार-परिवारअनुसार,

30तिस वर्षदेखि पचास वर्षसम्मकालाई मिला। भेट हुने पालको सेवा गर्ने र त्यस दलमा सहभागी हुने सबैको गन्ती गर्।

31यो भेट हुने पालको निम्ति तिनीहरूका सबै दायित्व र तिनीहरूका सेवाका काम हो। तिनीहरूले पवित्र वासस्थानका फल्याकहरू,

32यसका बारहरू, खामाहरू र आधारहरू, साथै पवित्र वासस्थान वरिपरिका चोकका खामाहरू, तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू तिनका सबै सरसामानको देखरेख गर्नुपर्छ।

33तिनीहरूले बोक्‍नुपर्ने सामानहरूको नाउँसहित सूची बना। मरारीका सन्तानहरूले पुजारी हारूनका छोरा ईतामारको निर्देशनमा भेट हुने पालको निम्ति तिनीहरूले गर्नुपर्ने काम यही हो।”

34मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूका सन्तानहरूको पुर्खाका आ-आफ्ना परिवारअनुसार गन्ती गरे।

35तिनीहरूले तिस वर्षदेखि पचास वर्षसम्म पुगेकाहरूको गन्ती गरे। तिनीहरूले भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुने सबैको गन्ती गरे।

36तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे।

37मोशा र हारूनले भेट हुने पालमा सेवा गर्ने कहातीहरूका कुल-कुल र परिवार-परिवारअनुसार सबै पुरुषको गन्ती गरे। यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे।

38गेर्शोनका सन्तानहरूलाई आ-आफ्ना कुल र पुर्खाका परिवारअनुसार, भेट हुने पालको सेवा गर्न दलमा सहभागी हुन सक्‍ने

39तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरे।

40आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो।

41मोशा र हारूनले गेर्शोनका सन्तानहरूको गन्ती गरे, जसले भेट हुने पालमा सेवा गर्थे। यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे।

42मरारीका सन्तानहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार,

43तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरियो जो भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुन्थे।

44आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो।

45मोशा र हारूनले मरारीका सन्तानहरूका सबै पुरुषको गन्ती गरे। यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे।

46यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका

47परिवारअनुसार तिस वर्षदेखि पचास वर्ष पुगेकाहरूको गन्ती गरे। तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्ने र भेट हुने पालका सामानहरूको देखरेख गर्ने र बोक्‍न सक्‍ने सबैको गन्ती गरे।

48तिनीहरूले ८,५८० पुरुषको गन्ती गरे।

49परमप्रभुको आज्ञामा मोशाले सबै पुरुषलाई त्यसलाई खटाइएको कामको किसिमअनुसार गन्ती गरे। तिनले हरेक पुरुषलाई तिनले वहन गर्ने दायित्वको किसिमअनुसार गन्ती गरे। यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org