ULB · अध्याय 28 / 36
गन्ती 28
1परमप्रभुले मोशालाई भन्नुभयो,
2“इस्राएलका मानिसहरूलाई आज्ञा गर् र तिनीहरूलाई भन्, 'तिमीहरूले मेरो निम्ति सुगन्धित बास्ना दिने आगोद्वारा चढाइने बलिहरू तोकिएको समयमा मलाई चढाउनुपर्छ।'
3तैँले तिनीहरूलाई भन्नुपर्छ, 'तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाउने बलिदान यही होः नियमित होमबलिको रूपमा एक वर्षे निष्खोट थुमाहरू हरेक दिन दुई-दुईवटा।
4तिमीहरूले एउटा थुमालाई बिहान चढाउनुपर्छ र अर्को थुमालाई साँझमा चढाउनुपर्छ।
5तिमीहरूले एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठोलाई होमबलिको रूपमा चढाउनुपर्छ।
6यो परमप्रभुलाई सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइने नियमित होमबलि थियो, जुन सीनै पर्वतमा आज्ञा गरिएको थियो। यसैसँगको अर्घबलि एउटा थुमाको निम्ति एक लिटर मद्य होस्।
7तिमीहरूले परमप्रभुलाई कडा मद्यको अर्घबलि पवित्र स्थानमा खन्याउनुपर्छ।
8तिमीहरूले अर्को थुमालाई बिहान चढाइएको एउटा थुमालाई झैँ साँझमा अन्नबलिसँगै चढाउनुपर्छ।
9शबाथको दिन तिमीहरूले निष्खोट एक वर्षे दुईवटा थुमा, तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्नबलिको रूपमा चढाउनुपर्छ र यससँग अर्घबलि चढाउनुपर्छ।
10यो नियमित होमबलि र यससँगको अन्नबलिको अतिरिक्त हरेक शबाथको निम्ति होमबलि हुनुपर्छ।
11हरेक महिनाको सुरुमा तिमीहरूले परमप्रभुलाई अन्नबलि चढाउनुपर्छ। तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र एक वर्षे निष्खोट सातवटा थुमा चढाउनुपर्छ।
12तिमीहरूले हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो अन्नबलिको रूपमा र एउटा भेडाको निम्ति तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्नबलिको रूपमा चढाउनुपर्छ।
13तिमीहरूले हरेक भेडाको निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पिठो चढाउनुपर्छ। यो परमप्रभुलाई सुगन्धित बास्न दिने आगोद्वारा चढाइने बलि अर्थात् होमबलि हुनुपर्छ।
14मानिसहरूका अर्घबलि साँढेको निम्ति दुई लिटर दाखमद्य, भेडाको निम्ति डेढ लिटर दाखमद्य, थुमाको निम्ति एक लिटर दाखमद्य हुनुपर्छ। यो वर्षभरि हरेक महिनाको निम्ति होमबलि हुनुपर्छ।
15एउटा बोका परमप्रभुको निम्ति पापबलिको रूपमा अर्पण गर्नुपर्छ। यो नियमित होमबलि र अर्घबलिको अतिरिक्त हुने छ।
16पहिलो महिनाको चौधौँ दिनमा परमप्रभुको निस्तार-चाड आउँछ।
17यो महिनाको पन्ध्रौँ दिनमा एउटा उत्सव मनाउनुपर्छ। सात दिनसम्म अखमिरी रोटी खानुपर्छ।
18पहिलो दिन परमप्रभुको सम्मानमा एउटा पवित्र सभा हुनुपर्छ। तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन।
19तथापि, तिमीहरूले आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ। तिमीहरूले निष्खोट दुईवटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ।
20साँढेसँगै तिमीहरूले अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मुछेको मसिनो पिठो र भेडासँग एक पाथी चढाउनुपर्छ।
21सातवटा हरेक थुमासँग तेलमा मुछेको आधा पाथी मसिनो पिठो चढाउनुपर्छ,
22र आफ्नो प्रायश्चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ।
23तिमीहरूले यिनीहरूलाई हरेक बिहान आवश्यक पर्ने होमबलिको अतिरिक्त चढाउनुपर्छ।
24यहाँ उल्लेख गरिएझैँ तिमीहरूले यी दैनिक बलिदानहरू निस्तार-चाडको सात दिनसम्म परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइने बलिको भोजन चढाउनुपर्छ। यो नियमित होमबलि र योसँग चढाइने अर्घबलि अतिरिक्त चढाउनुपर्छ।
25तिमीहरूले सातौँ दिनमा परमप्रभुको सम्मानमा पवित्र सभा राख्नुपर्छ र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन।
26अगौटे फलको दिनमा तिमीहरूले साताहरूका चाडमा नयाँ अन्नबलि चढाउनुपर्छ, तिमीहरूले परमप्रभुको सम्मानमा पवित्र सभा राख्नुपर्छ, र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन।
27परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति होमबलि चढाउनुहुँदैन। तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र सातवटा एक वर्षे थुमा चढाउनुपर्छ।
28तिनीहरूसँगै अन्नबलि पनि चढाउनूः हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र एउटा भेडाको निम्ति एक पाथी मसिनो पिठो चढाउनू।
29हरेक सातवटा थुमाका निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पिठो,
30र आफ्नो निम्ति प्रायश्चित्तको निम्ति एउटा बोका चढाउनू।
31जब तिमीहरूले तिनीहरूका अर्घबलिसँगै ती निष्खोट पशुहरू बलि चढाउँछौ, यो नियमित होमबलि र अन्नबलिको अतिरिक्त हुनुपर्छ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org