ULB · अध्याय 9 / 36
गन्ती 9
1तिनीहरू मिश्र देशबाट आएका दोस्रो वर्षको पहिलो महिनामा सीनै मरुभूमिमा परमप्रभुले मोशालाई भन्नुभयो,
2“इस्राएलका मानिसहरूले निस्तार-चाड यसको निर्धारित समयमा नै मानून्।
3यो महिनाको चौधौँ दिनको साँझ, तिमीहरूले निस्तार-चाडलाई यसको निर्धारित समयमा नै मान्नू। तिमीहरूले यसलाई पालन गर्नुपर्छ, यससँग सम्बन्धित सबै आदेशहरू पालन गर्नुपर्छ र सबै नियमहरू अनुसरण गर्नुपर्छ।”
4यसैले मोशाले इस्राएलका मानिसहरूले निस्तार-चाडलाई मान्नुपर्छ भनी तिनीहरूलाई बताए।
5तिनीहरूले सीनैको मरुभूमिमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार-चाड मनाए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुरा इस्राएलका मानिसहरूले पालन गरे।
6मुर्दा छोएको कारण केही मानिसहरू अशुद्ध भएका थिए। तिनीहरूले त्यस दिन निस्तार-चाड मान्न सकेनन्। तिनीहरू त्यसै दिन मोशा र हारूनकहाँ गए।
7ती मानिसहरूले मोशालाई भने, “हामी मुर्दा छोएको कारण अशुद्ध भएका छौँ। इस्राएलका मानिसहरूमाझ निर्धारित समयमा नै परमप्रभुलाई बलिदान चढाउनबाट हामीलाई किन वञ्चित गर्नुहुन्छ?”
8मोशाले तिनीहरूलाई भने, “पर्ख, परमप्रभुले तिमीहरूबारे के भन्नुहुन्छ, म सुन्छु।”
9परमप्रभुले मोशालाई भन्नुभयो,
10“इस्राएलका मानिसहरूलाई भन्। 'यदि तिमीहरूमध्ये कोही मुर्दा छोएको कारण अशुद्ध छ वा लामो यात्रामा छ भने, त्यसले परमप्रभुको निस्तार-चाड अझै मान्न सक्छ।'
11तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनको साँझ निस्तार-चाड मान्नेछन्। तिनीहरूले निस्तार-चाडको थुमालाई अखमिरी रोटी र तितो सागसँग खानुपर्छ।
12तिनीहरूले यसलाई बिहानसम्म राख्नुहुँदैन वा यसका हाडहरू भाँच्नुहुँदैन। तिनीहरूले निस्तार-चाडका सबै नियम पालन गर्नुपर्छ।
13तर कुनै व्यक्ति शुद्ध छ र यात्रामा छैन, अनि निस्तार-चाड मान्दैन भने परमप्रभुले आज्ञा गर्नुभएको निर्धारित समयमा त्यसले बलिदान नचढाएकोले त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नुपर्छ। त्यस मानिसले आफ्नो पाप भोग्नुपर्छ।
14यदि कुनै विदेशी तिमीहरूसँग बसोबास गर्छ र परमप्रभुको आदरमा निस्तार-चाड मान्छ भने, त्यसले यसलाई पालन गर्नुपर्छ र निस्तार-चाडका सबै नियम पालन गरेर उहाँले आज्ञा गर्नुभएका सबै थोक गर्नुपर्छ र यसको निम्ति सबै नियम पालन गर्नुपर्छ। विदेशी र स्वदेशी सबैको निम्ति उही नियम हुनुपर्छ।”
15पवित्र वासस्थान खडा गरेको दिन पवित्र वासस्थान अर्थात् करारको आदेशको पाललाई बादलले ढाक्यो। साँझमा बादल पवित्र वासस्थानमाथि थियो। यो बिहानसम्म आगोजस्तो देखियो।
16यो यसरी नै रहिरह्यो। बादलले पवित्र वासस्थान ढाक्यो र राती आगोजस्तो देखा पर्थ्यो।
17जब-जब बादल पालबाट हट्थ्यो, इस्राएलका मानिसहरू आफ्नो यात्राको निम्ति अघि बढ्थे। जहाँ-जहाँ बादल रोकिन्थ्यो, त्यहाँ मानिसहरूले छाउनी लगाउँथे।
18इस्राएलका मानिसहरू परमप्रभुको आज्ञामा नै यात्रा गर्थे र उहाँकै आज्ञामा छाउनी लगाउँथे।
19बादल पवित्र वासस्थानमाथि रहँदा तिनीहरू रोकिन्थे, तिनीहरू छाउनीमा बस्थे। बादल पवित्र वासस्थानमाथि धेरै दिनसम्म रहँदा इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञा पालन गर्थे र यात्रा गर्दैनथे।
20कहिले काहीँ बादल पवित्र वासस्थानमाथि केही दिन मात्र रहन्थ्यो। त्यस अवस्थामा तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्थे। तिनीहरूले छाउनी लगाउँथे र उहाँको आज्ञामा फेरि यात्रा गर्थे।
21कहिले काहीँ बादल छाउनीमा साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो। बिहान बादल हट्दा तिनीहरूले यात्रा गर्थे। यदि बादल एक दिन वा एक रातको निम्ति मात्र रहेमा, बादल हट्दा मात्र तिनीहरूले यात्रा गर्थे।
22बादल पवित्र वासस्थानमाथि दुई दिनको, एक महिना वा एक वर्षको निम्ति वा जति समयसम्म रहे पनि इस्राएलका मानिसहरू छाउनीमा रहन्थे र यात्रा गर्दैनथे। तर जब-जब बदल हट्थ्यो, तिनीहरूले यात्रा गर्थे।
23तिनीहरूले परमप्रभुको आज्ञामा नै छाउनी लगाउँथे र तिनीहरूले उहाँको आज्ञामा नै यात्रा गर्थे। मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा तिनीहरूले पालन गरे।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org