ULB · अध्याय 33 / 40
प्रस्थान 33
1तब परमप्रभुले मोशालाई भन्नुभयो, “मिश्र देशबाट तैँले ल्याएका मानिसहरूसँगै यहाँबाट जा। त्यो देशमा जा जसको विषयमा 'म तेरा सन्तानहरूलाई यो दिनेछु' भनी अब्राहाम, इसहाक, र याकूबसित मैले शपथ खाएको थिएँ।
2म तेरो अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई म त्यहाँबाट धपाउनेछु।
3दूध र मह बग्ने त्यस देशमा जा तर मचाहिँ तिमीहरूसँग जानेछैनँ किनकि तिमीहरू हठी मानिसहरू हौ। मैले तिमीहरूलाई बाटैमा नाश गर्न पनि सक्छु।”
4जब मानिसहरूले यी भयभीत तुल्याउने वचनहरू सुने तिनीहरूले विलाप गरे र कसैले पनि गरगहना लगाएन।
5परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भन्, 'तिमीहरू हठी मानिसहरू हौ। म तिमीहरूका बिचमा एकै क्षण मात्र गएँ भने पनि मैले तिमीहरूलाई नष्ट गर्न सक्छु। त्यसैले, तिमीहरूले आ-आफ्ना गरगहना फुकाल ताकि तिमीहरूलाई के गर्ने भनी मैले निधो गर्न सकूँ'।”
6त्यसैले होरेब पर्वतदेखि इस्राएलीहरूले गरगहना लगाएनन्।
7मोशाले पाल लिएर छाउनीभन्दा अलि पर त्यसलाई टाँगे। तिनले यसलाई भेट हुने पाल भने। परमप्रभुलाई कुनै पनि थोकको लागि बिन्ती चढाउन चाहने हरेक व्यक्ति छाउनीबाहिर यही भेट हुने पालमा जान्थ्यो।
8मोशा पालमा जाँदा सबै मानिस तिनीहरूको पालको प्रवेशद्वारमा खडा हुन्थे र मोशा भित्र प्रवेश नगरुञ्जेलसम्म तिनलाई हेर्ने गर्थे।
9मोशा पालभित्र प्रवेश गर्दा बादलको खाँबो तल झरी पालको प्रवेशद्वारमा अडिन्थ्यो, अनि परमप्रभु मोशासित बोल्नुहुन्थ्यो।
10कुनै पनि बेला पालको प्रवेशद्वारमा सबै मानिसले बादलको खाँबो देख्दा हरेक व्यक्ति आ-आफ्नो पालको प्रवेशद्वारमा खडा भई त्यसले उहाँको आराधना गर्थ्यो।
11एउटा मानिस आफ्नो साथीसित बोलेजस्तै परमप्रभु आमनेसामने मोशासित बोल्नुहुन्थ्यो। तब मोशा छाउनीमा फर्कन्थे तर तिनका जवान दास अर्थात् नूनका छोरा यहोशूचाहिँ पालमै बस्थे।
12मोशाले परमप्रभुलाई भने, “हेर्नुहोस्, तपाईं मलाई भन्दै हुनुहुन्छ, 'यी मानिसहरूलाई यात्रामा लिएर जा,' तर तपाईंले मसँगै कसलाई पठाउनुहुनेछ भनी बताउनुभएको छैन। तपाईंले भन्नुभएको छ, 'म तँलाई नामद्वारै चिन्छु, र तैँले मेरो दृष्टिमा निगाह पाएको छस्।'
13अब मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मलाई तपाईंका मार्गहरू देखाउनुहोस् ताकि तपाईंलाई जान्न सकूँ र तपाईंको दृष्टिमा निगाह पाइरहन सकूँ। यो जाति तपाईंका मानिसहरू हुन् भनी याद गर्नुहोस्।”
14परमप्रभुले जवाफ दिनुभयो, “मेरो आफ्नै उपस्थिति तँसँगै जानेछ, र म तँलाई विश्राम दिनेछु।”
15मोशाले उहाँलाई भने, “तपाईंको उपस्थिति मसँगै जाँदैन भने हामीलाई यहाँबाट नलैजानुहोस्।
16किनकि नत्रता म र मेरा मानिसहरूले तपाईंको दृष्टिमा निगाह पाएका छौँ भनी हामीले कसरी थाहा पाउने? पृथ्वीको सतहमा भएका सबै जातिभन्दा तपाईंको जाति र म अलग छु भनेर थाहा पाउने कुरो भनेको तपाईं हामीसँग गएर मात्र हुने होइन र?”
17परमप्रभुले मोशालाई भन्नुभयो, “तैँले अनुरोध गरेको यस कुरालाई पनि म मान्नेछु किनकि तैँले मेरो दृष्टिमा निगाह पाएको छस्, र म तँलाई नामले नै चिन्छु।”
18मोशाले भने, “कृपया, मलाई तपाईंको महिमा देखाइदिनुहोस्।”
19परमप्रभुले भन्नुभयो, “म तेरै सामु मेरा सबै भलाइ देखाउनेछु, र तेरै सामु मेरो नाउँ 'परमप्रभु' हो भनी घोषणा गर्नेछु। जससित म अनुग्रही हुन चाहन्छु, त्यससित म अनुग्रही हुनेछु, र जसलाई म कृपा देखाउन चाहन्छु, म त्यसलाई कृपा देखाउनेछु।”
20तर परप्रभुले भन्नुभयो, “तैँले मेरो अनुहार देख्न सक्दैनस् किनकि मेरो अनुहार देखेर कोही पनि जीवित रहन सक्दैन।”
21परमप्रभुले भन्नुभयो, “हेर्, मेरो छेउमा एउटा ठाउँ छ। तँ यो चट्टानमा खडा हो।
22मेरो महिमा त्यहाँबाट भएर जाँदा म तँलाई चट्टानको धाँदोमा राख्नेछु र म त्यहाँबाट नगएसम्म तँलाई मेरा हातले ढाकिराख्नेछ।
23त्यसपछि म मेरो हात निकाल्नेछु, र तैँले मेरो पिठिउँ देख्नेछस्, तर मेरो अनुहारचाहिँ देख्नेछैनस्।”
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org