गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 जुन › जुन 26
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 जुन 26
शनिबार · सामान्य कालको 12औँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको 12औँ हप्ताको शनिबार
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: हरियो
शनिबार: धन्य कुमारी मरियमको स्मृति-दिवस · ऐच्छिक स्मृति-दिवस
दिनका पाठहरू
पहिलो पाठ
1दिउँसोको गर्मीमा मम्रेका फलाँटका रुखहरूछेउमा भएको आफ्नो पालको ढोकामा अब्राहाम बसेको बेला परमप्रभु तिनीकहाँ देखा पर्नुभयो। 2तिनले आफ्ना आँखा उठाएर हेरे, र तिनले आफ्नो सामु तिन जना मानिस उभिरहेका देखे। उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्म निहुरेर दण्डवत् गरे। 3तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्नो दासलाई छोडेर नजानुहोस्। 4केही पानी ल्याउन दिनुहोस्, र तपाईंहरू आफ्ना गोडा धुनुहोस्, र यही रुखमुनि आराम गर्नुहोस्। 5मलाई केही रोटी ल्याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस्। त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्नुहुन्छ, किनभने तपाईंहरू आफ्नो दासकहाँ आउनुभएको छ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर।” 6तब अब्राहाम तुरुन्तै पालमा साराकहाँ गएर भने, “चाँडो पाँच पाथी मसिनो पिठो ल्याई मुछेर रोटी बनाऊ।” 7अब्राहाम बथानतिर दौडेर गए, र एउटा कलिलो र असल बाछो लिएर नोकरलाई दिए, र त्यसलाई हतारमा तयार गर्न लागे। 8तिनले दही, दूध र त्यो तयार गरिएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए। उनीहरूले खाँदा तिनी उनीहरूकै नजिक रूखमुनि उभिए। 9उनीहरूले तिनलाई सोधे, “तेरी पत्नी सारा कहाँ छे?” तिनले जवाफ दिए, “त्यहीँ पालमा छिन्।” 10परमप्रभुले भन्नुभयो, “आउँदो साल यही समयमा म निश्चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्नी साराले एक जना छोरो जन्माउनेछे।” साराले चाहिँ उहाँको पछिल्तिर भएको ढोकाबाट यो कुरो सुनिरहेकी थिइन्। 11अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर ढल्किसकेको थियो। साराको बच्चा जन्माउने उमेर बितिसकेको थियो। 12यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा स्वामी पनि वृद्ध भइसक्नुभएको छ, के मैले सुख पाउँछु र?” 13तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “‘बुढेसकालमा मैले छोराछोरी पाउँछु र भनेर सारा किन हाँसी’? 14परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? अर्को साल मैले तोकेको समयमा म तँकहाँ फर्किआउनेछु। अर्को वर्ष यही समयमा साराको एक जना छोरा हुनेछ।” 15त्यसपछि साराले इन्कार गर्दै यसो भनिन्, “म हाँसिनँ।” किनभने तिनी डराइन्। तर उहाँले जवाफ दिनुभयो, “होइन, तँ हाँसेकै होस्।”
प्रत्युत्तर भजन
47र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ। 48किनकि उहाँले आफ्नी दासी स्त्रीको नीच अवस्थामा ध्यान दिनुभएको छ। अब हेर, अहिलेबाट सबै पुस्ताहरूले मलाई धन्यकी भन्नेछन्। 49किनकि सर्वशक्तिमान्ले मेरो लागि महान् कार्य गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ। 50जसले उहाँलाई आदर गर्छ, एउटा पुस्तादेखि एर्को पुस्तसम्म उहाँको दया रहिरहन्छ। 53उहाँले भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ, तर धनीहरूलाई रित्तै हात पठाउनुहुन्छ। 54त्यसकारण, आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता दिनुभएको छ। 55जसरी उहाँले हाम्रा पुर्खाहरूलाई भनेजस्तै, अब्राहाम र उनका वंशसँग सदासर्वदा गर्नुहुनेछ।”
सुसमाचार
5जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्तान उहाँकहाँ आएर उहाँलाई सोधे, 6“हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र ऊ भयानक पीडामा छ।” 7येशूले तिनलाई भन्नुभयो, “म आएर उसलाई निको पार्नेछु।” 8कप्तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्यको छैनँ। तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ। 9किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन्। म एक जनालाई ‘जाऊ’ भन्छु र ऊ जान्छ, र अर्कोलाई ‘आऊ’ भन्छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्यो गर’ भन्छु र उसले त्यो गर्छ।” 10जब येशूले यो सुन्नुभयो, उहाँ छक्क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, इस्राएलमा पनि मैले यस्तो विश्वास भएको कोही पाएको थिइनँ। 11म तिमीहरूलाई भन्छु, धेरै जना पूर्व र पश्चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्वर्गीय राज्यको भोजमा बस्नेछन्। 12तर राज्यका छोराहरू बाहिर अन्धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ।” 13येशूले त्यस कप्तानलाई भन्नुभयो, “जाऊ। तिमीले विश्वास गरेजस्तै तिम्रो निम्ति गरियोस्।” अनि त्यही घडी तिनको नोकर निको भयो। 14जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्वरोले बिरामी भई थला परिरहेकी देख्नुभयो। 15येशूले तिनको हातमा छुनुभयो, अनि ज्वरोले तिनलाई छोड्यो। त्यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन्। 16जब साँझ पर्यो, मानिसहरूले भूतात्मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्याए। उहाँले एउटै वचनबाट भूतात्माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो। 17यसरी यशैया अगमवक्ताद्वारा भनिएको यस्तो वचन पुरा भयो, “उहाँ आफैँले नै हाम्रा बिमारीहरू लिनुभयो र हाम्रा रोगहरू वहन गर्नुभयो।”
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार