गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 मार्च › मार्च 20
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 मार्च 20
शनिबार · उपवास कालको पाँचौँ हप्ता
पर्व र सन्तहरू
उपवास कालको पाँचौँ हप्ताको शनिबार
साधारण दिन · धर्मविधिको रङ: बैजनी
दिनका पाठहरू
पहिलो पाठ
21तिनीहरूलाई घोषणा गर्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, इस्राएलका मानिसहरू गएका जातिहरूका बिचबाट म तिनीहरूलाई निकाल्दैछु। तिनीहरूलाई वरिपरिका देशहरूबाट म भेला गराउनेछु र तिनीहरूकै देशमा म तिनीहरूलाई ल्याउनेछु। 22देशमा, इस्राएलका पर्वतहरूमा म तिनीहरूलाई एउटा जाति बनाउनेछु, र एक मात्र राजा तिनीहरू सबैका राजा हुनेछ, र तिनीहरू फेरि दुई जाति हुनेछैनन्। तिनीहरू फेरि दुई राज्यमा विभाजित हुनेछैनन्। 23त्यसपछि आफ्ना मूर्तिहरू, घिनलाग्दा कुराहरू, वा तिनीहरूका अरू कुनै पापहरूले तिनीहरूले आफूलाई अशुद्ध पार्नेछैनन्। किनकि तिनीहरूले पाप गरेका सबै विश्वासहीन कामहरूबाट म तिनीहरूलाई बचाउनेछु, र तिनीहरूलाई म शुद्ध पार्नेछु, ताकि तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु। 24मेरो दास दाऊद तिमीहरूका राजा हुनेछ। यसैले तिनीहरू सबैमाथि एक जना मात्र गोठालो हुनेछ, र तिनीहरू मेरा विधिअनुसार हिंड्नेछन्, र तिनीहरूले मेरा नियमहरू मान्नेछन्, र ती पालना गर्नेछन्। 25मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए। त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरी, र नाता-नातिन सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ। 26तिनीहरूसँग शान्तिको करार म स्थापित गर्नेछु। यो तिनीहरूसितको सदासर्वदाको करार हुनेछ। म तिनीहरूलाई स्थापित गर्नेछु र तिनीहरूको वृद्धि गर्नेछु र सदाको निम्ति तिनीहरूका बिचमा मेरो पवित्र स्थान राख्नेछु। 27मेरो बासस्थान तिनीहरूसँगै हुनेछ। म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन्। 28तब इस्राएललाई अलग गर्ने परमप्रभु म नै हुँ भनी जातिहरूले जान्नेछन्। त्यति बेला मेरो पवित्र स्थान सदासर्वदाको निम्ति तिनीहरूका बिचमा स्थापित हुन्छ।’”
प्रत्युत्तर भजन
10“हे जातिहरू हो, परमप्रभुको वचन सुन। टाढाका समुद्रतटका देशहरूलाई घोषणा गर, जतिहरूले यसो भन्नुपर्छ, 'इस्राएललाई तितर-बितर पार्नुहुनेले तिनीहरूलाई जम्मा गर्दै हुनुहुन्छ र गोठालोलो आफ्ना भेडाहरूलाई रक्षा गरेझैं रक्षा गर्दै हुनुहुन्छ।' 11किनकि परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुभएको छ, र उसको भन्दा धेरै शक्तिशाली हातबाट उसलाई छुटकारा दिनुभएको छ। 12तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन्। मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन्। किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन्। 13तब कन्याहरू नाच्दै रमाउनेछन्, र युवा अनि पाकाहरू एकै ठाउँमा आउनेछन्। किनकि तिनीहरूको शोकलाई म उत्सवमा परिणत गर्नेछु। म तिनीहरूमाथि दया देखाउनेछु, र शोक गर्नुको साटो आनन्द मनाउन लगाउनेछु।
सुसमाचार
45त्यसपछि मरियमकहाँ आएका र येशूले जे गर्नुभयो सो दखेका धेरै यहूदीहरूले उहाँमा विश्वास गरे। 46तर तिनीहरूमध्ये केही फरिसीहरूकहाँ गए र येशूले गर्नुभएका ती कुराहरू तिनीहरूलाई बताइदिए। 47त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले परिषद्का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने? यस मानिसले धेरै चिह्नहरू गर्छन्। 48यदि हामीले यसलाई यसरी नै छोडिदियौँ भने सबैले यसलाई विश्वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन्।” 49तैपनि तिनीहरूमध्ये कैयाफा नामका मानिस जो त्यस वर्ष प्रधान पुजारी थिए तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ। 50सम्पूर्ण राष्ट्र नै नष्ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्ने तिमीहरू ठान्दैनौ।” 51अब यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन्। बरु उनी त्यस वर्षका प्रधान पुजारी भएको कारणले येशू राष्ट्रको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरेका थिए। 52राष्ट्रको निम्ति मात्र होइन, तर छरपष्ट भएका परमेश्वरका सन्तानहरूसँगै एक होऊन् भनेर पनि हो। 53त्यसैले, त्यस दिनदेखि उनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाउन थाले। 54येशू यहूदीहरू माझ खुलमखुला हिँड्डुल गर्नुभएन, तर उहाँ त्यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो। त्यहाँ उहाँ चेलाहरूसँग बस्नुभयो। 55अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो र धेरै जना आफैँलाई शुद्ध पार्न गाउँहरूबाट निस्तार-चाड अगि नै यरूशलेम गए। 56तिनीहरूले येशूलाई खोजिरहेका थिए। तिनीहरू मन्दिरमा खडा भइरहँदा एक-अर्कामा भन्दै थिए, “तिमीहरूलाई कस्तो लाग्छ? उनी चाडमा आउने छैनन् र?” 57अहिले मुख्य पुजारीहरू र फरिसीहरूले यो उर्दी जारी गरेका थिए, कि यदि कसैले येशू कहाँ हुनुहुन्थ्यो भनी जान्दथ्यो भने, त्यसले त्यो भन्नुपर्छ ताकि तिनीहरूले उहाँलाई पक्रन सकून्।
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार