1जब शेबाकी रानीले परमप्रभुको नाउँको सम्बन्धमा सोलोमनको कीर्ति सुनिन्, उनी कठिन प्रश्नहरू लिएर तिनलाई जाँच गर्न आइन्।
2उनी मसलाहरू लादिएका ऊँटहरू, थुप्रै सुन र धेरै बहुमूल्य रत्नहरू लिएर ज्यादै ठुलो लावालश्करसाथ यरूशलेम आइन्। उनी आइपुगेपछि उनले आफ्नो ह्रदयमा भएका सबै कुरा सोलोमनलाई बताइन्।
3सोलोमनले उनका सबै प्रश्नका जवाफ दिए। उनले सोधेका सबै प्रश्नको राजाले जवाफ दिए।
4जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि, तिनले बनाएका राजदरबार,
5तिनको टेबुलको भोजन, तिनका वरिपरि बस्ने अधिकारीहरू, तिनका अधिकारीहरूका काम र तिनीहरूका पोशाक, सेवा टहल गर्ने नोकर-चाकरहरू, तिनले परमप्रभुको घरमा बलिदान गर्ने होमबलिको तरिका देखिन्, तब उनी अवाक् भइन्।
6उनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरो साँचो रहेछ।
7म यहाँ नआएसम्म मैले सुनेको कुरामा मैले विश्वास गरिनँ। अब मेरा आफ्नै आँखाले मैले देखेको छु। तपाईंको बुद्धि र धन-सम्पत्तिको बारेमा मलाई आधा मात्र बताइएको रहेछ! तपाईंको कीर्ति मैले सुनेको भन्दा ज्यादा रहेछ।
8तपाईंका पत्नीहरू कति प्रसन्न होलान्! तपाईंको बुद्धि सुन्न पाएकाले तपाईंको सामु निरन्तर खडा हुने तपाईंका सेवकहरू कति प्रसन्न होलान्!
9परमप्रभु तपाईंका परमेश्वरको स्तुति होस् जो तपाईंमा प्रसन्न हुनुहुन्छ र जसले तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभएको छ। परमप्रभुले इस्राएललाई सदाको निम्ति प्रेम गर्नुभएकाले न्याय र धार्मिकता कायम गर्न उहाँले तपाईंलाई राजा बनाउनुभएको छ।”
10उनले राजालाई चार टन सुन र प्रशस्त मात्रामा मसलासाथै बहुमूल्य रत्नहरू दिइन्। शेबाकी रानीले सोलोमन राजालाई दिएकी जत्तिकै यति प्रशस्त मसला तिनलाई फेरि कहिल्यै दिइएन। ओपीरबाट सुन ल्याउने
11हीरामका जहाजहरूले पनि ठुलो परिमाणमा चन्दनको काठ र बहुमूल्य पत्थरहरू ल्याउँथे।
12राजाले ती चन्दनका काठहरूबाट परमप्रभुको मन्दिर र राजदरबारका खम्बाहरू बनाउनुका अतिरिक्त गायकहरूका लागि वीणा र सारङ्गीहरू बनाए। चन्दनको काठको यति धेरै परिमाण आजको दिनसम्म फेरि कहिल्यै देखिएको छैन।
13राजा सोलोमनले शेबाकी रानीले इच्छा गरेकी हरेक थोक दिए। राजाले आफ्नो राजकीय उदारताका अतिरिक्ता उनले मागेकी हरेक कुरा दिए। यसरी उनी आफ्ना सेवकहरूसँगै आफ्नो देशमा फर्किन्।