Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › राजाहरू र इतिहास सँगसँगै › यहूदाका राजाहरू

राजाहरू र इतिहास सँगसँगै · यहूदाका राजाहरू

मीकायाले आहाबलाई चेतावनी दिन्छन्

१ राजाहरू 22:1–35 · २ इतिहास 18:1–34

१ राजाहरू

१ राजाहरू 22:1–35

1अराम र इस्राएलको बिचमा युद्ध नभई तिन वर्ष बित्यो।

2तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजाकहाँ गए।

3इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भनेका थिए, “के रामोत-गिलाद हाम्रै हो भनी तिमीहरूलाई थाहा छ? तर अरामका राजाका हातबाट यसलाई लिन हामीले केही पनि गरिरहेका छैनौँ।”

4त्यसैले तिनले यहोशापातलाई भने, “के तपाईं युद्ध गर्नलाई मसितै रामोत-गिलादमा जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिस तपाईंका मानिसजस्तै हुन् र मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन्।”

5यहोशापातले इस्राएलका राजालाई भने, “पहिले तपाईंले के गर्नुपर्छ भन्नाका लागि परमप्रभुको वचनबाट निर्देशन खोज्नुहोस्।”

6तब इस्राएलका राजाले चार सय अगमवक्तालाई जम्मा गरी तिनीहरूलाई भने, “म रामोत-गिलादमा युद्ध गर्न जाऊँ कि नजाऊँ? तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्, किनकि परमप्रभुले यो राजाका हातमा सुम्पिदिनुहुने छ।”

7तर यहोशापातले भने, “के यहाँ परमप्रभुका अर्का कुनै अगमवक्ता छैनन् जसबाट हामीले सल्लाह लिन सक्छौँ?”

8इस्राएलका राजाले यहोशापातलाई भने, “एक जना मानिस छन् जसबाट हामीले मदतको लागि परमप्रभुबाट सल्लाह लिन सक्छौँ। तिनी यिम्लाका छोरा मीकाया हुन्, तर म तिनलाई घृणा गर्छु किनकि तिनले मेरो बारेमा कुनै असल कुरोको भविष्यवाणी गर्दैनन्, केवल खरावी मात्र बोल्छन्।” तर यहोशापातले भने, “राजाले यस्तो भन्नुहुँदैन।”

9तब इस्राएलका राजाले एक जना अधिकारीलाई बोलाई तिनलाई हुकुम गरे, “ठिक अहिले नै इम्लाका छोरा मीकायालाई ल्याउनू।”

10इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात राजकीय पोशाक पहिरेर सामरियाको मूल ढोकाको खुला ठाउँमा आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोल्दै थिए।

11केनानका छोरा सिदकियाहले चाहिँ फलामका सिङहरू बनाएका थिए। तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'अरामीहरू नष्ट नभएसम्म तिमीहरूले तिनीहरूलाई यसैले दण्ड दिनू'।”

12तब सबै अगमवक्ताले यसो भनी अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गरी विजयी हुनुहोस् किनकि परमप्रभुले यो राजाको हातमा सुम्पिदिनुभएको छ।”

13मीकायालाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने, “अब हेर्नुहोस्, अगमवक्ताहरूका वचनहरूले एउटै मुखले राजालाई असल कुरा भन्छन्। तपाईंको वचन तिनीहरूको जस्तै होस् र असल कुराहरू भन्नुहोस्।”

14मीकायले जवाफ दिए, “परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, कि परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही भन्ने छु।”

15जब तिनी राजाकहाँ आए राजाले तिनलाई भने, “मीकाया, हामी युद्धको लागि रामोत-गिलादमा जाऊँ कि नजाऊँ?” मीकायाले तिनलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्। परमप्रभुले यो तपाईंको हातमा सुम्पिदिनुहुने छ।”

16तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा अरू कुरा नभनी साँचो कुरा मात्र भन्नू भनी म तिमीलाई कति पटक शपथ खान लगाऊँ?”

17तब मीकायाले भने, “मैले गोठाला नभएका भेडाझैँ सारा इस्राएल पहाडहरूतिर तितर-बितर भएको देखेँ, र परमप्रभुले भन्नुभयो, 'तिनीहरूसित कुनै गोठालो छैन। हरेक मानिस शान्तिसित आफ्नै घरमा फर्कोस्'।”

18त्यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल कुरा नभई केवल विपत्तिको बारेमा अगमवाणी बोल्छन् भनी के मैले तपाईंलाई भनेको होइन र?”

19तब मीकायाले भने, “त्यसकारण परमप्रभुको वचन सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान हुनुभएको अनि उहाँको दाहिने र देब्रे हातपट्टि उहाँनेर सबै स्वर्गीय सेना उभिरहेका देखेँ।

20परमप्रभुले भन्नुभयो, 'आहाब रामोत-गिलादमा उक्लेर गई त्यहाँ त्यसको पतन होस् भन्नाका लागि त्यसलाई कसले बहकाउने छ?’ एउटाले एउटा कुरा भन्यो र अर्कोचाहिँले अर्कै कुरा भन्यो।

21तब एउटा आत्मा अगाडि बढी त्यो परमप्रभुको सामु उभियो। त्यसले भन्यो, 'म तिनलाई उक्साउने छु।' परमप्रभुले त्यसलाई भन्नुभयो, 'कसरी?’

22आत्माले जवाफ दियो, 'म बाहिर जाने छु, र तिनका सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा बन्ने छु।' परमप्रभुले भन्नुभयो, 'तैँल त्यसलाई बहकाउने छस्, र तँ सफल पनि हुने छस्। अब जा र त्यसै गर्।'

23त्यसैले अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमप्रभुले तपाईंको लागि विपत्तिको घोषणा गर्नुभएको छ।”

24तब केनानका छोरा सिदकियाह माथि उक्लेर आई मीकायाको गालामा थप्पड हानेर भने, “तिमीसित बोल्न परमप्रभुका आत्मा मबाट कुनचाहिँ बाटो भएर जानुभयो त?”

25मीकायाले भने, “हेर, तिमी भित्र कोठामा लुक्न जाँदा त्यस दिन तिमी आफैले देख्ने छौ।”

26इस्राएलका राजाले आफ्ना अधिकारीलाई हुकुम दिए, “मीकायालाई समात्, अनि त्यसलाई सहरका शासक र मेरो छोरा योआशकहाँ लैजा।”

27त्यसलाई भन्, ‘राजा भन्नुहुन्छः यो मानिसलाई झ्यालखानामा हाल्, र म सुरक्षितसाथ नफर्केसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र खुवाउनू'।”

28तब मीकायाले भने, “तपाईं सुरक्षितसाथ आउनुभयो भने परमप्रभुले मद्वारा बोल्नुभएको होइन।” तब तिनले थपे, “हे सारा मानिस हो, यो कुरा सुन।”

29त्यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए।

30इस्राएलका राजाले यहोशापातलाई भने, “म भेष बद्लेर युद्धमा जाने छु, तर तपाईंले आफ्नो राजकीय पोशाक पहिरिनुहोस्।” त्यसैले इस्राएलका राजाले भेष बद्ले, र तिनी युद्धमा गए।

31अरामका राजाले आफ्ना रथहरूका बत्तिस जना सेनापतिलाई यसो भनी आज्ञा दिएका थिए, “साना-ठुला जोसुकैलाई आक्रमण नगर्नू। बरु, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू।”

32जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने, “निश्चय नै यिनी इस्राएलका राजा हुन्।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए।

33तिनी इस्राएलका राजा होइनन् रहेछ भनी जब रथहरूका सेनापतिहरूले देखे तिनीहरू तिनको पिछा गर्नबाट फर्के।

34तर एक जना सेनापतिले जथाभावी काँड हाने, र त्यस काँडले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो। तब आहाबले आफ्नो सारथीलाई भने, “फर्की, र मलाई युद्धबाट बाहिर लैजा, किनकि मलाई बेसरी चोट लागेको छ।”

35त्यस दिन युद्ध झन् चर्कंदै गयो, र आफ्ना रथमा अडिएर राजाले अरामीहरूको सामना गरिरहे। साँझमा तिनी मरे। तिनको घाउबाट निस्केको रगतचाहिँ रथभित्रै बगिरहेको थियो।

२ इतिहास

२ इतिहास 18:1–34

1यहोशापातसँग धेरै धन-सम्‍पत्ति र सम्मान थियो। तिनले आफ्नो परिवारको एक जना सदस्यसित आहाबकी छोरीको बिवाह गराएर उनीसित वैवाहिक सम्‍बन्‍ध जोडे।

2केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए। आहाबले तिनी र तिनका साथमा भएका मानिसहरूका निम्ति निम्‍ति धेरैवटा भेडा र गोरुहरू काटे। आहाबले आफूसँग मिलेर रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई फकाए।

3इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “के तपाईं मसँगै रामोत-गिलादमा जानुहुनेछ?” यहोशापातले तिनलाई जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्‍तै हुन्‌। युद्धमा हामी तपाईंसँगै हुनेछौं।”

4यहोशापातले इस्राएलका राजालाई भने, “कृपया, तपाईंको जवाफको निम्ति पहिले परमप्रभुको वचनको खोजी गर्नुहोस्।”

5तब इस्राएलका राजाले चार सय जना अगमवक्तालाई एकसाथ भेला गराए र तिनीहरूलाई सोधे, “के हामी रामोत-गिलादमा युद्ध गर्न जाऔं वा मैले जानुहन्‍न? तिनीहरूले भने, “आक्रमण गर्नुहोस्, किनभने परमेश्‍वरले त्‍यो तपाईंको हातमा दिनुहुनेछ।”

6तर यहोशापातले भने, “के यहाँ सल्‍लाह लिन परमप्रभुको अर्को अगमवक्ता छैन जोसँग हामी सल्लाह लिन सक्छौं?”

7इस्राएलका राजाले यहोशापातलाई भने, “परमप्रभुबाट सल्‍लाह लिनलाई अझै एक जना यिम्लाका छोरा मीकाया छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्‍ति असल अगमवाणी बोल्‍दैनन्‌, तर सधैं खराबी मात्र भन्‍दछन्‌।” यहोशापातले जवाफ दिए, “राजाले यस्‍तो भन्‍नुहुन्‍न।”

8तब इस्राएलका राजाले तुरुन्‍तै आफ्‍ना एक जना अधिकारीलाई बोलाए र भने, “यिम्‍लाका छोरा मीकायालाई तुरुन्‍तै झिकाऊ।”

9यति बेला इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आआफ्‍नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोलिरहेका थिए।

10केनानका छोरा सिदकियाहले आफ्ना निम्ति फलामका सीङहरू बनाए र भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: यसको सहायताले तपाईंहरूले अरामीहरू नष्‍ट नभएसम्म नै तिनीहरूलाई धकेल्‍नुहुनेछ।”

11सबै अगमवक्ताले त्‍यसरी नै यसो भन्‍दै अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्‌, किनकि परमप्रभुले त्‍यो राजाको हातमा दिनुभएको छ।”

12मीकायालाई बोलाउन गएको दूतले तिनलाई भन्‍यो, “हेर्नुहोस्‌ अगमवक्ताका वचनहरूले एकै मत भएर राजाको पक्षमा बोलिरहेका छन्। तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, र मिल्‍दो किसिमले बोल्‍नुहोस्।”

13मीकायाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमेश्‍वरले जे भन्‍नुहुन्छ, म त्यही भन्‍नेछु।”

14जब तिनी राजाकहाँ आए, तब राजाले तिनलाई भने, “ए मीकाया, हामीले रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्‍छ, कि हुँदैन?” मीकायाले तिलाई जवाफ दिए, “आक्रमण गर्नुहोस्‌ र विजयी हुनुहोस्! किनकि त्‍यो महान् विजय हुनेछ।”

15तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्‍नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्‍ट भनूँ?”

16यसैले मीकायाले भने, “मैले त सबै इस्राएललाई गोठाला नभएका भेडाहरूझैं डाँडाहरूतिर तितरबितर भएका देखें, र परमप्रभुले भन्‍नुभयो, ‘यिनीहरूका गोठाला छैनन्‌। हरेक मानिस शान्‍तिसित आफ्नो घर फर्केर जाओस्‌।’”

17यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल अगमवाणी बोल्‍दैनन्‌ तर विनाशको मात्र भन्छन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?”

18तब मीकायाले भने, “यसकारण तपाईंहरू सबैले परमप्रभुको वचन सुन्‍नुपर्छः परमप्रभु आफ्नो सिंहासनमा बस्‍नुभएको र स्‍वर्गका सबै फौज उहाँका दाहिने र देब्रेपट्टि खडा भएका मैले देखें।

19परमप्रभुले भन्‍नुभयो, ‘इस्राएलका राजा आहाबलाई कसले बहकाउनेछ, ताकि त्यो माथि जाओस् र रामोत-गिलादमा मरोस्?’ एउटाले यसो र अर्कोले उसो भन्छ।

20तब एउटा आत्‍मा अगि आए र परमप्रभुको सामु खडा भए र भने, ‘म त्‍यसलाई बहकाउनेछु’। “परमप्रभुले त्यसलाई सोध्‍नुभयो, ‘कसरी?’

21त्यो आत्माले जवाफ दिए, ‘म जानेछ र त्‍यसका सबै अगमवक्ताका मुखमा म झूट बोल्‍ने आत्‍मा हुनेछु।’ परमप्रभुले भन्‍नुभयो, ‘तैंले त्‍यसलाई बहकाउनेछस्, र तँ सफल पनि हुनेछस्‌। अब जा र त्‍यसै गर्‌।’

22अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झूट बोल्‍ने आत्‍मा हालिदिनुभएको छ, र परमेश्‍वरले तपाईंका सर्वनाशको आदेश दिनुभएको छ।”

23तब केनानका छोरा सिदकियाह माथि आए, मीकायाको गालामा थप्‍पड हाने र भने, “अब कुन बाटो भएर परमप्रभुका आत्‍मा मबाट तिमीसँग बोल्‍नलाई जानुभयो त?”

24मीकायाले भने, “हेर, त्‍यो त तिमी लुक्‍नलाई कुनै भित्री कोठामा गएको दिन तिमी आफैले थाहा पाउनेछौ।”

25इस्राएलका राजाले केही सेवकलाई भने, “तिमीहरूले मीकायालाई गिरफ्‍तार गर्नुपर्छ, र सहरका गभर्नर अमोन र मेरो छोरा योआशकहाँ लानुपर्छ।

26तिनलाई तिमीहरूले यसो भन्‍नेछौ, ‘राजा यसो भन्‍नुहुन्‍छ: यस मानिसलाई झ्‍यालखानमा राख र म कुशलसाथ नआएसम्‍म त्‍यसलाई थोरै रोटी र थोरै पानी मात्र देओ।’”

27तब मीकायाले भने, “तपाईं कुशलसाथ फर्केर आउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको होइन।” तब तिनले थपे, “ए सबै मानिसहरू हो, यो कुरा सुन्‍नुहोस्।”

28यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादको विरुद्धमा उक्‍लेर गए।

29इस्राएलका राजाले यहोशापातलाई भने, “म आफूलाई गुप्‍त भेष धारण गर्नेछु र लडाइँमा जानेछु, तर तपाईं आफ्‍नो राजसी पोशाक नै लाउनुहोस्‌।” यसैले इस्राएलका राजाले आफूलाई गुप्‍त भेष धारण गरे र तिनीहरू लडाइँमा गए।

30अरामका राजाले आफ्‍ना रथहरूका फौज पतिलाई यस्तो आज्ञा दिएका थिए, “साना वा ठुला फौजलाई आक्रमण नगर्नू। बरू, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू।”

31यस्‍तो भयो, जब रथहरूका फौज पतिले यहोशापातलाई देखे, उनीहरूले भने, “इस्राएलका राजा यिनै हुन्।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्के, तर यहोशापात चर्को सोरले कराए, र परमप्रभुले तिनको सहायता गर्नुभयो। परमेश्‍वरले तिनीहरूलाई तिनीबाट अर्कोतिर फर्काउनुभयो।

32यस्‍तो भयो, जब रथहरूका फौज पतिले तिनी त इस्राएलका राजा होइन रहेछन्‌ भन्‍ने देखे, तिनलाई खेद्‍न छोडेर तिनीहरू फर्किए।

33तर कुनै मानिसले आफ्‍नो धनु जथाभाबी तान्‍यो र इस्राएलका राजालाई कवचको जोर्नीमा काँड हान्‍यो। तब आहाबले आफ्‍नो सारथिलाई भने, “रथलाई घुमाऊ र मलाई युद्ध मैदानबाट बाहिर लैजाऊ, किनकि म नराम्ररी घाइते भएको छु।”

34त्यो दिनको लडाइँले भयङ्कर रूप लियो, र राजा साँझसम्म आफ्‍नो रथमा अडिएर अरामीहरूतर्फ फर्केर रहे। सूर्यास्‍त हुँने बेलामा तिनी मरे।

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार