Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › राजाहरू र इतिहास सँगसँगै › यहूदाका राजाहरू

राजाहरू र इतिहास सँगसँगै · यहूदाका राजाहरू

यहूदाका राजा अमस्‍याह

२ राजाहरू 14:1–20 · २ इतिहास 25:1–28

२ राजाहरू

२ राजाहरू 14:1–20

1इस्राएलका राजा यहोआहाजको छोरा यहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले राज्‍य गर्न थाले।

2तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए। तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यहोअदीन थियो जो यरूशलेमकी थिइन्।

3परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे, तापनि तिनका पुर्खा दाऊदले गरेझैँ भने होइन। आफ्ना पिता योआशले गरेका हरेक काम तिनले गरे।

4तर डाँडाका थानहरू हटाइएनन्। मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले।

5तिनको शासन सुदृढ हुनेबित्तिकै आफ्‍ना पिताको अर्थात् राजाको हत्या गर्ने सेवकहरूलाई तिनले मारे।

6तापनि तिनले हत्याराहरूका छोराहरूलाई भने मारेनन्। बरु, तिनले मोशाको व्यवस्थामा लेखिएअनुसार काम गरे, जस्‍तो परमप्रभुले यसो भनेर आज्ञा दिनुभएको थियो, “बुबाहरूलाई छोराछोरीका कारणले अनि छोराछोरीलाई बुबाहरूका कारणले मार्नुहुँदैन। बरु, हरेक व्यक्तिलाईउसको आफ्नै पापको कारणले मार्नुपर्छ।”

7नुनको उपत्यकामा एदोमका दस हजार सिपाहीलाई तिनले मारे। तिनले युद्धमा सेलालाई जिते त्यसको नाउँ योक्तेल राखे जसको नाउँ आजको दिनसम्म पनि त्यही छ।

8तब अमस्याहले इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा यहोआशकहाँ यसो भनी सन्देशवाहकहरू पठाए, “आउनुहोस्, हामी युद्धमा एक-अर्कालाई आमनेसामने भेटौँ।”

9तर इस्राएलका राजा यहोआशले यहूदाका राजा अमस्याहलाई यसो भनी सन्देशवाहकहरू पठाए, “लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर सन्‍देश पठायो, 'तिम्री छोरी मेरा छोरासित विवाह गरिदेऊ।' तर लेबनानमा भएको जङ्गली जनावर त्‍यताबाट हिंड्‍यो र सिउँडीलाई कुल्‍च्‍यो।

10तिमीले साँच्‍चै एदोमलाई आक्रमण गर्‍यौ, र तिम्रो शेखी बढेको छ। आफ्‍नो विजयमा गर्व गर, तर घरमै बस किनकि तिमीले किन आफैलाई सङ्कष्‍टमा पार्ने अनि तिमी र यहूदा पनि दुवै किन पतन हुने?”

11तर अमस्याहले यो कुरा सुनेनन्। त्यसैले इस्राएलका राजा यहोआशले आक्रमण गरे, अनि तिनी र यहूदाका राजा अमस्याह यहूदाको बेथ-शेमेशमा एक-अर्कासित आमनेसामने भेटे।

12इस्राएलद्वारा यहूदा पराजित भयो, र हरेक मानिस घर भाग्‍यो।

13बेथ-शेमेशमा इस्राएलका राजा यहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई समाते। तिनी यरूशलेममा आए र तिनले एफ्राइमको ढोकादेखि कुने ढोकासम्म लगभग दुई सय मिटर लामो यरूशलेमको पर्खाल भत्काइदिए।

14तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका सबै सुन र राजदरबारका मुल्यवान् थोकहरूका साथमा केही बन्दीहरूलाई समेत लगे र सामरिया फर्के।

15यहोआश, तिनले गरेका सबै काम, तिनको शक्ति र कसरी तिनले यहूदाका राजा अमस्याहसित लडे भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

16तब यहोआश आफ्ना पुर्खाहरूसित सुते, र इस्राएलका राजाहरूसँगै सामरियाम गाडिए, अनि तिनको ठाउँमा तिनका छोरा यारोबाम राजा भए।

17इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष बाँचे।

18अमस्याहका विषयमाभएका अन्‍य कुराहरूका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

19तिनीहरूले यरूशलेममा अमस्याहको विरुद्धमा षड्यन्त्र रचे र तिनी लाकीशमा भागे। तिनी लाकीशमा भागे तर तिनीहरूले तिनको पिछा गर्न लाकीशमा मानिसहरू पठाए, र तिनलाई त्यहीँ मारे।

20तिनीहरूको तिनको लाशलाई घोडाहरूमा राखेर ल्‍याए र दाऊदको सहरमा तिनी आफ्ना पुर्खाहरूसितै गाडिए।

२ इतिहास

२ इतिहास 25:1–28

1अमस्‍याहले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए। तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ यरूशलेमकी यहोअदीन थियो।

2तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे, तर पूरा हृदयले होइन।

3अनि यस्‍तो भयो, जब तिनको शासन राम्ररी स्थापित भयो, तब तिनले आफ्‍ना बुबा राजाको हत्‍या गरेका अधिकारीहरूलाई मारे।

4तर तिनले मोशाका व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएको यसो भन्‍ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनीहरूका छोराछोरीलाई चाहिं मारेनन्‌, “बुबाहरूलाई छोराछोरीका निम्‍ति र छोराछोरीलाई बुबाहरूका निम्‍ति नमार्नू। बरू, हरेक मानिसले आफ्‍नै पापका निम्‍ति मर्नुपर्छ।”

5यसको साथै अमस्‍याहले यहूदाका मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूका पुर्ख्‍यौली घरानाअनुसार सारा यहूदा र बेन्‍यामीनका हजार र सयका कमाण्‍डरहरूका अधीनमा राखिदिए। तिनले बीस वर्ष पुगेका र त्‍यसभन्‍दा बढी उमेरका मानिको गन्‍ती गरे, र तिनीहरूको सङ्‍ख्‍या तीन लाख रोजाइमा परेका मानिस, सबै लडाइँ गर्न र भाला र ढाल चलाउन सक्‍नेहरू भएका तिनले थाहा पाए।

6तिनले एक सय चाँदीका तोडा तिरेर इस्राएलबाट एक लाख लडाकु योद्धाहरू भाडामा लिए।

7तर परमेश्‍वरका एक जना मानिस तिनीकहाँ आए र भने, “ए राजा, इस्राएलका फौजलाई तपाईंसँग नलानुहोस्‌, किनकि परमप्रभु इस्राएलसँग हुनुहुन्‍न— एफ्राइमको कोही पनि मानिससँग हुनुहुन्‍न।

8तर तपाईं त्‍यसरी गए पनि, र साहसी र बलियो भए पनि शत्रुहरूका सामु परमेश्‍वरले तपाईंलाई परास्‍त गर्नुहुनेछ, किनकि सहायता गर्ने, र परास्‍त गर्ने शक्ति परमेश्‍वरसँग छ।”

9अमस्‍याहले परमेश्‍वरका मानिसलाई भने, “तर इस्राएली फौजलाई मैले दिएको त्‍यो एक सय तोडाको बारेमा हामी के गरौं?” परमेश्‍वरका मानिसले जवाफ दिए, “परमप्रभुले तपाईंलाई त्‍योभन्‍दा धेरै बढी दिन सक्षम हुनुहुन्‍छ।”

10यसैले एफ्राइमबाट आफूकहाँ आएका फौजलाई अमस्‍याहले अलग गरे। तिनीहरूलाई तिनले फेरि घर पठाइदिए। यसैले यहूदाप्रतिको तिनीहरूको क्रोध धेरै भयो, र रीसले चूर भएर तिनीहरू घर फर्के।

11अमस्‍याहले साहस गरे र नूनको उपत्‍यकामा जानलाई आफ्‍ना मानिसहरूको नेतृत्‍व गरे। त्‍यहाँ तिनले सेइरका दश हजार मानिसहरूलाई पराजित गरे।

12यहूदाका फौजले अरू दश हजार मानिसलाई जीवितै लिएर गए। तिनीहरूले उनीहरूलाई एउटा चट्टानको टाकुरामा लगे र त्‍यहाँबाट तिनीहरूलाई तल खसालिदिए ताकि तिनीहरू सबै टुक्राटुक्रा भए।

13तर अमस्‍याहले आफूसित युद्धमा नजाउन् भनी फिर्ता पठाइदिएका फौजले यहूदाका सामरियादेखि बेथ-होरोनसम्‍मका सहरहरू आक्रमण गरे। तिनीहरूले तीन हजार जना मानिसलाई मारे, र धेरै लूटका माल लिएर गए।

14अब यस्‍तो भयो, एदोमीहरूलाई परास्‍त गरेर फर्केपछि अमस्‍याहले सेइरका मानिसहरूका देवताहरू ल्‍याए र ती आफ्‍नै देवताका रूपमा स्थापना गरे। तिनीहरूका सामु तिनी घोप्‍टो परे, र तिनीहरूलाई धूप बाले।

15यसैले अमस्‍याहको विरुद्धमा परमप्रभुको क्रोध दन्‍कियो। उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले भने, “आफ्‍नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्‍ने देवताहरूको खोजी तपाईं किन गर्नुभयो?”

16यस्‍तो भयो, जब अगमवक्ता तिनीसित बोलिरहेका थिए, तब राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाका सल्‍लाहकार बनएका छौं र? चूप लाग। तँ किन मारिने?” तब अगमवक्ता चूप लागे र भने, “मलाई थाहा छ कि तपाईंले यो काम गरेर मेरो सल्‍लाह नसुन्‍नुभएको हुनाले परमेश्‍वरले तपाईंलाई नाश गर्ने निर्णय गर्नुभएको छ।”

17त्‍यसपछि यहूदाका राजा अमस्‍याहले आफ्‍ना सल्‍लाहकारहरूसँग सल्‍लाह लिए र इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशकहाँ यसो भनेर दूतहरू पठाए, “आऊ, युद्धमा हामी एक-अर्काको सामना गरौं।”

18तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्‍याहका दूतहरूलाई यसो भनेर फिर्ता पठाए, “लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर एउटा सन्‍देश पठायो, ‘तिम्री छोरी मेरा छोरालाई पत्‍नीको रूपमा देऊ,' तर लेबनानको एउटा जङ्‍गली पशु त्‍यताबाट भएर गयो र त्‍यो सिउँडीलाई कुल्‍चिदियो।

19तिमीले भनेका छौ ‘हेर, मैले एदोमलाई हराएको छु,’ र तिम्रो हृदयले तिमीलाई माथि उचालेको छ। आफ्नो विजयमा गर्व गर, तर आफ्‍नै घरमा बस, आफ्‍नै र यहूदाको पनि आफूसँगै पतन ल्‍याउन तिमी किन खतरामा पर्छौ?”

20तर अमस्‍याहले सुनेनन्, किनभने यो घटना परमेश्‍वरबाट भएको थियो ताकि उहाँले यहूदाका मानिसहरूलाई तिनीहरूका शत्रुहरूका हातमा दिन सक्‍नुभएको होस्, किनभने, तिनीहरूले एदोमका देवताहरूबाट सल्लाह लिएका थिए।

21यसैले इस्राएलका राजा येहोआशले आक्रमण गरे। तिनी र यहूदाका राजा अमस्‍याह यहूदाको बेथ-शेमेशमा आमने सामने भएर युद्ध लडे।

22इस्राएलद्वारा यहूदा पराजित भयो, र हरेक मानिस आआफ्‍नो घरमा भाग्यो।

23इस्राएलका राजा येहोआशले अहज्‍याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्‍याहलाई बेथ-शेमेशमा गिरफ्‍तार गरे। तिनले उनलाई यरूशलेममा ल्‍याए र तिनले एफ्राइमको ढोकादेखि कुने-ढोकासम्‍म चार सय हात लामो यरूशलेमको पर्खाल भत्‍काइदिए।

24तिनले ओबेद-एदोमको जिम्‍मामा राखिदिएका, परमप्रभुको मन्‍दिरमा भेट्टाइएका सबै सुन र चाँदी र सबै भाँडाहरू, र राजमहलमा भएका बहुमूल्‍य थोकहरू र कैदीहरूलाई पनि लगे, र सामरियामा फर्के।

25इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्‍याह पन्‍ध्र वर्षसम्‍म बाँचे।

26अमस्‍याहका बारेमा भएका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

27अमस्‍याहले परमप्रभुको अनुसरण गर्नबाट तर्केर गएको दिनदेखि नै तिनीहरूले यरूशलेममा तिनको विरुद्ध षड्‌यन्‍त्र गर्न सुरु गरे। तिनी लाकीशमा भागे, तर तिनीहरूले लाकीशमा तिनको पछिपछि मानिसहरू पठाए र तिनलाई त्‍यहीं मारे।

28तिनीहरूले तिनको लाश घोडामा बोकाएर यरूशलेममा ल्‍याए र तिनलाई आफ्‍ना पुर्खाहरूसित यहूदाको सहरमा गाडे।

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार