बाइबल › १ कोरिन्थी › 12
ULB · अध्याय 12 / 16
१ कोरिन्थी 12
1भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्नँ।
2तिमीहरूलाई थाहै छ कि कुनै बेला तिमीहरू मूर्तिपूजक थियौ। तिमीहरू कुनै न कुनै प्रकारले बोल्न नसक्ने मूर्तितिर बहकाइएका थियौ।
3त्यसकारण, तिमीहरूले यो जान भन्ने म चाहन्छु कि परमेश्वरका आत्माद्वारा बोल्ने कसैले पनि “येशू श्रापित होस् भन्दैन।” पवित्र आत्माद्वारा बाहेक कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ” भन्न सक्दैन।
4वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ।
5सेवाका कार्यहरू फरक फरक छन्, तर प्रभु एउटै हुनुहुन्छ।
6कामहरू विभिन्न किसिमका छन्, तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्वर एउटै हुनुहुन्छ।
7सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ।
8किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ।
9त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ।
10एउटालाई शक्तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको। एउटालाई आत्माहरू छुट्ट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ।
11तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ। उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्तिगत रूपमा वरदानहरू दिनुहुन्छ।
12जसरी शरीर एउटै हुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्टमा पनि त्यस्तै हुन्छ।
13किनभने एउटै आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्तिस्मा भएको थियो, यहूदी वा ग्रिक, कमारा वा स्वतन्त्र; सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ।
14किनकि शरीर एउटै अङ्गले मात्र होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ।
15यदि खुट्टाले “म हात होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिँदैन।
16र त्यसरी नै कानले “म शरीरको आँखा होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा काम ठहरिँदैन।
17यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो त सुन्ने कहाँबाट? यदि सम्पूर्ण शरीर आँखा भइदिएको भए सुँघ्ने कहाँबाट?
18तर परमेश्वरले शरीरको स्वरूप निर्माण गर्दा नै यसका अङ्गहरू मिलाएर राख्नुभयो।
19यदि सबै अङ्गहरू एउटै भइदिएको भए शरीर कहाँ हुन्थ्यो र?
20यसकारण अङ्गहरू धेरै भए तापनि शरीर एउटै छ।
21आँखाले हातलाई, “मलाई तिम्रो खाँचो छैन” भन्न सक्दैन। न टाउकोले खुट्टालाई “मलाई तिम्रो खाँचो छैन” भन्छ।
22बरु कमजोर ठानिएका शरीरका अङ्गहरू अत्यावश्यक हुन्छन्।
23अनि हामीले कम आदरका ठान्ने शरीरका अङ्गहरूलाई हामी झन् बढी नै आदर गर्दछौँ र देखाउन नमिल्ने अङ्गहरूलाई झनै बढी भद्रतासाथ राख्छौँ।
24देखाउन मिल्ने अङ्गहरूलाई इज्जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अगिबाट नै इज्जत पाएका छन्। तर परमेश्वरले सम्पूर्ण अङ्गहरूलाई सँगै जोड्नुभएको छ र कम आदर पाएकाहरूलाई झन् बढ्ता आदर दिनुभएको छ।
25शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभएको हो।
26कुनै एउटा अङ्गले दुःख पाउँदा सबै अङ्गहरूले सँगै दुःख भोग्छन्। अथवा कुनै एउटा अङ्गको आदर हुँदा सबै अङ्गहरू सँगै आनन्दित हुन्छन्।
27अब तिमीहरू ख्रीष्टका शरीर हौ अनि व्यक्तिगत रूपले यसका अङ्ग हौ।
28अनि परमेश्वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्तिशाली कार्य गर्नेहरू, निको पार्ने वरदान पाएका व्यक्तिहरू, मदत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्न भाषाका वरदान पाएकाहरूलाई नियुक्त गर्नुभएको छ।
29के तिनीहरू सबै प्रेरितहरू हुन्? के सबै अगमवक्ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के हामी सबैले शक्तिशाली कार्यहरू गर्छौं?
30के तिनीहरू सबैसँग निको पार्ने वरदान छन्? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन्? के तिनीहरू सबैले अन्य भाषाहरूको अर्थ खोल्छन्?
31जोसिलो भई अझ ठुला वरदानहरूको खोजी गर। अनि म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org