Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 सेप्टेम्बर › सेप्टेम्बर 9

क्याथोलिक पात्रो

दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 सेप्टेम्बर 9

बिहीबार · सामान्य कालको 23औँ हप्ता

पर्व र सन्तहरू

सामान्य कालको 23औँ हप्ताको बिहीबार

ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: हरियो

सन्त पिटर क्लेभर, पुरोहित · ऐच्छिक स्मृति-दिवस

दिनका पाठहरू

पहिलो पाठ

कलस्सी 3:12–17

12त्यसकारण, परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रियहरू, करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर। 13एक अर्कालाई सहने गर। एक अर्कासँग कृपालु होओ। यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, परमप्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर। 14यी सबै कुराहरूभन्दा माथि प्रेम धारण गर, जुनचाहिँ पूर्णताको बन्धन हो। 15तिमीहरूका हृदयमा ख्रीष्‍टको शान्तिले राज्य गरोस्। यही शान्तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ, र धन्यवादी होओ। 16ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस्। सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ। तिमीहरूका हृदयमा परमेश्‍वरका निम्ति धन्यवादका गीतहरू गाओ। 17अनि जे तिमीहरूले वचन वा काममा गर्छौ, ती सबै प्रभु येशूको नाउँमा गर। परमेश्‍वर पितालाई उहाँद्वारा धन्यवाद देओ।

प्रत्युत्तर भजन

भजनसंग्रह 150:1–6

1परमप्रभुको प्रशंसा गर। परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर। शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर। 2उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर। उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर। 3सिङ बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर। 4खैंजडी बजाउँदै र नाँच्दै उहाँको प्रशंसा गर। तार-वाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर। 5ठुलो सोरका झ्यालीहरूले उहाँको प्रशंसा गर। चर्को सोरका झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर। 6सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस्। परमप्रभुको प्रशंसा गर।

सुसमाचार

लुका 6:27–38

27तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर। 28तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष्‌ देऊ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। 29तिम्रो एउटा गालामा हिर्काउनेलाई अर्को पनि थापिदेऊ। यदि कसैले तिम्रो कोट खोस्‍छ भने उसलाई दौरा पनि दिइहाल। 30तिमीसँग माग्‍ने सबैलाई देऊ। यदि कसैले तिम्रो केही कुरा लगेमा त्यससँग फिर्ता नमाग। 31मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ। 32तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने के लाभ भयो र? किनकि पापीहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन्। 33यदि तिमीहरूलाई असल गर्नेलाई मात्र असल गर्छौ भने के लाभ भयो र? पापीहरूले पनि त त्यसै गर्छन्। 34यदि तिमीले तिनीहरूले फिर्ता गर्न सक्छन् भन्‍ने आशामा मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र? पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् र उत्तिकै मात्रामा फिर्ता पाउने आशा राख्दछन्। 35तर तिम्रा शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर। पैँचो माग्‍नेहरूलाई केही पनि फिर्ता पाउने आशा नगरीकन देऊ ताकि तिम्रो इनाम ठुलो हुनेछ। तिमी सर्वोच्‍चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैँ अधन्यवादी र खराब मानिसहरूप्रति कृपालु हुनुहुन्छ। 36तिम्रा पिता कृपालु हुनुभएझैँ तिमी पनि कृपालु होऊ। 37कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन। दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ। 38अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ। प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन्। जुन नापले तिमीहरू नाप्‍तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ।”

आजका सन्तहरू

सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार