गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अगस्ट › अगस्ट 15
अर्थोडक्स पात्रो · अगस्ट 2 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 अगस्ट 15
आइतबार · स्वर 7
पर्व र सन्तहरू
पेन्तिकोसपछिको आठौँ आइतबार
मरियमको शयन-पर्वको उपवास
उपवास: तेलसहित
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
बिहानको प्रार्थनाको आठौँ सुसमाचार
11तर मरियमचाहिँ रुँदै चिहानबाहिर उभिएरहेकी थिइन्; तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन्। 12तिनले सेतो पहिरनमा येशूको शरीर राखिएको शिरपट्टि एक र पाउपट्टि अर्को गरी दुई जना स्वर्गदूत बसिरहेका देखिन्। 13तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन्।” 14जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन्। 15येशूले तिनलाई भन्नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ, र म उहाँलाई लिएर जानेछु।” 16येशूले तिनलाई भन्नुभयो, “मरियम!” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन् “रब्बोनी” (जसको अर्थ हुन्छ, “गुरु”)। 17येशूले तिनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जानेछु।” 18मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र तिनलाई उहाँले भन्नुभएका यी कुराहरू बताइन् र भनिन्, “मैले प्रभुलाई देखेँ।”
पत्र
10अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस्। म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ। 11किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन्। 12मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्टको हुँ” भन्छौ। 13के ख्रीष्ट बाँडिनुभएको छ र? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए र? के तिमीहरूले पावलको नाउँमा बप्तिस्मा लियौ र? 14म परमेश्वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस र गायसबाहेक अरू कसैलाई पनि बप्तिस्मा दिइनँ। 15तिमीहरूले मेरो नाउँमा बप्तिस्मा लियौ भनी कसैले भन्न सक्दैन। 16(मैले स्तिफनसको परिवारलाई पनि बप्तिस्मा दिएँ। त्योभन्दा बढी अरू व्यक्तिलाई मैले बप्तिस्मा दिएको मलाई सम्झना छैन।) 17किनकि येशूले मलाई बप्तिस्मा दिनलाई होइन, तर प्रचार गर्नलाई पठाउनुभयो। ख्रीष्टको क्रुस शक्तिहीन नबनाइयोस् भनेर उहाँले मलाई मानवीय बुद्धिका वचनहरूद्वारा प्रचार गर्न पठाउनुभएन। 18किनकि क्रुसको सन्देश मरिरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्ति हो।
सुसमाचार
14त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्नुभयो। उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो। 15जब साँझ पर्यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा उजाड-स्थान हो र दिन बितिसक्यो। भिडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्न सकून्।” 16तर येशूले उनीहरूलाई भन्नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन। यिनीहरूलाई तिमीहरूले केही खान देओ।” 17उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन्।” 18येशूले भन्नुभयो, “ती मकहाँ ल्याओ।” 19अनि येशूले भिडलाई चौरमा बस्नको लागि आदेश दिनुभयो। उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो। माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्नुभयो अनि चेलाहरूलाई ती दिनुभयो। चेलाहरूले ती भिडहरूलाई दिए। 20तिनीहरू सबैले खाए र टन्न भए। त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले। 21त्यहाँ खाएकाहरूमध्ये महिला र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए। 22उहाँले आफ्ना चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्को पट्टि जान लगाउनुभयो, जब कि भिडलाई चाहिँ उहाँ आफैँले बिदा गर्न चाहनुभयो।
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको अगस्ट 2 नागरिक पात्रोमा अगस्ट 15 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार