गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अगस्ट › अगस्ट 14
अर्थोडक्स पात्रो · अगस्ट 1 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 अगस्ट 14
शनिबार · पेन्तिकोसपछिको आठौँ हप्ता · स्वर 6
पर्व र सन्तहरू
Procession of the Honorable Wood of the Life-giving Cross of the Lord
मरियमको शयन-पर्वको उपवास
उपवास: तेलसहित
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
पत्र (क्रुसको निम्ति)
18किनकि क्रुसको सन्देश मरिरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्ति हो। 19किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्हरूको बुद्धि नष्ट गर्नेछु। म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु।” 20बुद्धिमान् कहाँ छ? शिक्षित कहाँ छ? यो संसारको तर्क गर्ने कहाँ छ? के परमेश्वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र? 21संसारले आफ्नो बुद्धिले परमेश्वरलाई चिनेन। यसको ज्ञानले उहाँलाई चिन्न नसकेको हुनाले विश्वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्वरलाई उचित लाग्यो। 22किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन्। 23तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो। 24तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्टलाई परमेश्वरको शक्ति र बुद्धिको रूपमा प्रचार गर्छौं।
पत्र (शहीदहरूका निम्ति)
33विश्वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्त गरे। तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए। 34तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए। 35स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्त गरे। अरूले अझ उत्तम पुनरुत्थान प्राप्त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन्। त्यसैले, तिनीहरूले दण्ड भोगे। 36अरूहरूले निन्दा, कोर्रा, साङ्ला र कैदजस्ता आदि कुराहरू सहे। 37तिनीहरूलाई ढुङ्गाले हानियो। तिनीहरूलाई दुई भाग हुने गरी चिरियो। तिनीहरूलाई तरवारले मारियो। तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्यो र विभिन्न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्यो। 38यो संसार तिनीहरूका लागि योग्य थिएन। तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्यो। 39यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्वासको कारण परमेश्वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्त गर्न सकेनन्। 40हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो। 12:1यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाऔँ। हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ। 2विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्द्रित गरौँ, जसले आफ्नो सामुन्ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्नुभयो, अनि उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ।
सुसमाचार (क्रुसको निम्ति)
यूहन्ना 19:6–11, 13–20, 25–28, 30–35
6जब मुख्य पुजारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्च सोरले कराए, र भने, “त्यसलाई क्रुसमा टाँग, त्यसलाई क्रुसमा टाँग!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ।” 7यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्वरका पुत्र हुँ भनी दाबी गर्छ।” 8जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए, 9अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन। 10तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्ने शक्ति छ भन्ने के तिमीलाई थाहा छैन?” 11येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्ति छैन। यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ।” 13जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्याय आसनमा बसे। 14निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ!” 15तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्नुपर्ने हो?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन।” 16तब पिलातसले क्रुसमा टाँग्नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे। 17तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ। 18त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे। 19पिलातसले एउटा चिन्ह पनि लेखे र क्रुसमाथि राखे। त्यहाँ यस्तो लेखिएको थियोः नासरतका येशू, यहूदीहरूका राजा। 20यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो। यो चिन्ह हिब्रू, ल्याटिन र ग्रिकमा लेखिएको थियो। 25सिपाहीहरूले यी कुराहरू गरे। येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी येशूको क्रुसको छेउमा उभिरहेका थिए। 26जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्नुभयो, उहाँले आफ्नी आमालाई भन्नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा!” 27तब उहाँले ती चेलालाई भन्नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे। 28यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्ने जान्नुभएको हुनाले धर्मशास्त्र पुरा हुनको लागि उहाँले भन्नुभयो, “मलाई तिर्खा लाग्यो।” 30जब येशूले अमिलो लिनुभयो, उहाँले भन्नुभयो, “सिद्धियो।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो। 31यो तयारीको दिन भएको, र शबाथको अवधिमा शरीर क्रुसमा नरहोस् भन्ने हेतुले (किनकि शबाथ महत्त्वपूर्ण दिन थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे। 32तब सिपाहीहरू आए, र येशूसँगै क्रुसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचीदिए। 33जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे। त्यसैले, तिनीहरूले उहाँका खुट्टा भाँचेनन्। 34तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो। 35जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ। तिनले भनेको सत्य हो भनी तिनी जान्दछन् छन्, र तिमीहरूले विश्वास गर।
सुसमाचार (शहीदहरूका निम्ति)
32यसकारण, जसले मलाई मानिसहरूका सामुन्ने ग्रहण गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु। 33तर जसले मानिसहरूका सामुन्ने मलाई इन्कार गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु। 34म पृथ्वीमा शान्ति ल्याउन आएँ भनी विचार नगर। म शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएँ। 35किनकि म मानिसलाई उसको पिताको विरुद्ध र छोरीलाई उसकी आमाको विरुद्ध र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ। 36मानिसका शत्रुहरू उसको आफ्नै घरानाभित्रका हुनेछन्। 11:1येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो।
पत्र (जलको आशीर्वादको समयमा)
11किनकि समर्पण गर्ने र समर्पण गरिएकाहरू दुवै एउटै स्रोतबाट आउँछन्। त्यसैकारण, उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्न। 12उहाँ भन्नुहुन्छ, “म तपाईंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु; म सभाको बिचबाट तपाईंको गीत गाउनेछु।” 13र फेरि, “म उहाँमा भरोसा गर्नेछु।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्वरले मलाई दिनुभएको छ।” 14त्यसकारण, पहिले नै परमेश्वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो। त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्ट पार्नुभयो। 15मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो। 16किनकि वास्तवमा उहाँले स्वर्गदूतहरूको वास्ता गर्नुहुन्न; बरु, उहाँले वास्ता गर्ने त अब्राहामका सन्तानको हो। 17त्यसैले, उहाँका भाइहरूजस्तै बन्न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो। त्यसकारण, उहाँ परमेश्वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्वासयोग्य हुनुभई परमेश्वरका महान् पुजारी हुनुभयो। त्यसैले, उहाँले सबै मानिसका पापको क्षमा ल्याउन सक्नुभयो। 18किनभने येशू आफैँले दुःख भोग्नुभयो, र परीक्षित हुनुभयो; उहाँले परीक्षामा पर्नेहरूलाई सहायता गर्न सक्नुहुन्छ।
सुसमाचार (जलको आशीर्वादको समयमा)
1यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो। 2यरूशलेमको भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई हिब्रूमा बेथस्दा भनिन्छ जसको छानासहितका पाँचवटा दलान छन्। 3त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा र पक्षाघातीहरू त्यो तलाउको नजिक पडिरहेका थिए। तिनीहरूले पानी छचल्किएको पर्खिरहेका थिए। 4“परमेश्वरका स्वर्गदूत तल ओर्लिएर पानीलाई कुनै समयमा हल्लाइदिन्थे र त्यो पानी छचल्किरहँदा जो पहिले पानीमा पस्थ्यो त्यसको जस्तोसुकै रोग भए तापनि निको भइहाल्थ्यो।
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको अगस्ट 1 नागरिक पात्रोमा अगस्ट 14 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार