गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 जुलाई › जुलाई 26
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 जुलाई 26
सोमबार · सामान्य कालको 17औँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको 17औँ हप्ताको सोमबार
स्मृति-दिवस · धर्मविधिको रङ: सेतो
सन्त योआकिम र अन्ना, धन्य कुमारी मरियमका आमाबुबा · स्मृति-दिवस
दिनका पाठहरू
पहिलो पाठ
15तब मोशा फर्केर आफ्ना हातमा करारका दुईवटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्ले। शिला-पाटीहरूका अगाडि र पछाडि दुवैपट्टि लेखिएका थिए। 16ती शिला-पाटीहरू परमेश्वरका आफ्नै काम थिए, र त्यो उहाँले नै खोपेर लेख्नुभएको थियो। 17यहोशूले मानिसहरू चिच्च्याइरहेको आवाज सुनेपछि तिनले मोशालाई भने, “छाउनीमा त लडाइँको आवाज पो सुनिँदै छ त।” 18तर मोशाले भने, “यो विजेताको आवाज होइन, न त पराजितहरूको आवाज हो, तर म त गीत गाइरहेको आवाज सुन्दै छु।” 19जब मोशा छाउनी नजिक आइपुगे तिनले बाछो र मानिसहरू नाचिरहेका देखे। तिनी बेसरी रिसाए। तिनले आफ्ना हातबाट ती शिला-पाटीहरू फालिदिए, पर्वतको फेदीमा नै फुटाइदिए। 20तिनले मानिसहरूले बनाएका त्यस बाछोलाई लिएर जलाइदिए अनि धुलोपिठो बनाएर पानीमा छरिदिए, अनि तिनले इस्राएलका मानिसहरूलाई त्यो पिउन लगाए। 21तब मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे जसले गर्दा तपाईंले तिनीहरूमाथि यति ठुलो पाप ल्याउनुभयो?” 22हारूनले भने, “मेरा मालिक, ममाथि हजुरको क्रोध नदन्कियोस्। तपाईं त यी मानिसहरूलाई जान्नुहुन्छ कि तिनीहरू खराबी गर्न उद्यत छन्। 23तिनीहरूले मलाई भने, 'हाम्रो अगिअगि जाने एउटा देव बनाऊ। हामीलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउने मोशालाई के भयो हामी जान्दैनौँ।' 24तब मैले तिनीहरूलाई भनेँ, 'जो-जोसँग सुन छ, तिनीहरूले फुकालून्।' तिनीहरूले मलाई सुन दिए र मैले त्यसलाई आगोमा फाल्दा यही बाछो बनेर आयो।” 30भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले भयङ्कर ठुलो पाप गरेका छौ। अब म परमप्रभुकहाँ उक्लेर जानेछु। सायद मैले तिमीहरूको पापको लागि प्रायश्चित्त गर्न सक्छु कि।” 31मोशा परमप्रभुकहाँ फर्केर आए र भने, “हाय! यी मानिसहरूले ठुलो पाप गरेका छन् र तिनीहरूले सुनको मूर्ति बनाएका छन्। 32तर अब तिनीहरूका पाप क्षमा गरिदिनुहोस्। क्षमा गर्नुहुन्न भनेता तपाईंले लेख्नुभएको पुस्तकबाट मेरो नाउँ मेटिदिनुहोस्।” 33परमप्रभुले मोशालाई भन्नुभयो, “जसले मेरो विरुद्धमा पाप गरेको छ, म मेरो पुस्तकबाट त्यसकै नाउँ मेटिदिनेछु। 34अब, गएर मैले तँलाई भनेको स्थानमा यी मानिसहरूलाई अगुवाइ गरेर लैजा। हेर्, मेरा दूत तेरो अगिअगि जानेछन्। तर त्यस दिन तिनीहरूका पापका लागि म तिनीहरूलाई दण्ड दिनेछु।”
प्रत्युत्तर भजन
19तिनीहरूले होरेबा एउटा बाछो बनाए र धातुको मूर्तीको आकृति पुजे। 20तिनीहरूले परमेश्वरको महिमालाई घाँस खाने साँढेको प्रतिमासँग साटे। 21तिनीहरूले आफ्ना उद्धारकर्तालाई बिर्से जसले मिश्रदेशमा महान् कामहरू गर्नुभएको थियो। 22उहाँले हामको देशमा अचम्मका कामहरू र लाल समुद्रमा शक्तिशाली कामहरू गर्नुभएको थियो। 23त्यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्नुहुँदा—तिनीहरूलाई नष्ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए।
सुसमाचार
31त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्यो। 32यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ। तर जब यो हुर्कन्छ, यो बगैँचामा भएका सबै बोटभन्दा ठुलो हुन्छ। यो एउटा रुख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन्।” 33त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्यचाहिँ खमिरजस्तो हो जुन एउटी स्त्रीले लिइन् र तिन कचौरा पिठोमा त्यो नफुलेसम्म मिसाइन्।” 34येशूले यी सबै कुरा भिडलाई दृष्टान्तहरूमा भन्नुभयो। अनि दृष्टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन। 35योचाहिँ अगमवक्ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्नुभयो, “म मेरो मुख दृष्टान्तहरूमा खोल्नेछु। म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु।”
आजका सन्तहरू
- सन्त योआकिम र अन्ना, धन्य कुमारी मरियमका आमाबुबा
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार