गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 मे › मे 15
अर्थोडक्स पात्रो · मे 2 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 मे 15
शनिबार · पास्काको दोस्रो हप्ता · स्वर 1
पर्व र सन्तहरू
St. Athanasius the Great, Patriarch of Alexandria († 373)
उपवास
उपवास छैन
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
पत्र
21जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए। तर प्रधान पूजाहारी र तिनीहरूसँग भएकाहरू आए र परिषद्लाई इस्राएलका मानिसहरूका एल्डरहरूसँगै बोलाए र प्रेरितहरूलाई ल्याउन लगाउनलाई झ्यालखानामा पठाए। 22तर ती गएका अधिकारीहरूले तिनीहरूलाई झ्यालखानामा भेट्टाएनन् र तिनीहरू फर्केर आए र प्रतिवेदन दिए। 23“हामीले झ्यालखानालाई राम्ररी बन्द गरिएको पायौँ र पहरेदारहरू ढोकामा उभिरहेका थिए, तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौँ।” 24जब मन्दिरका कप्तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू अन्योलमा परे। 25तब कोही तिनीहरूकहाँ आए र तिनीहरूलाई भने, “तपाईंहरूले झ्यालखानामा राख्नुभएका ती मानिसहरू, मन्दिरमा खडा भएर मानिसहरूलाई सिकाइरहेका छन्।” 26त्यसैले, कप्तान हाकिमहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए। किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए। 27तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे। प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे, 28“हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ।” 29तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। 30हाम्रा पितापुर्खाका परमेश्वरले येशूलाई मृत्युबाट उठाउनु भयो, जसलाई तपाईंहरूले रुखमा झुण्ड्याएर मार्नुभयो। 31परमेश्वरले इस्राएललाई पश्चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नु भयो। 32हामीहरू यी कुराहरूका साक्षी छौँ र पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ जसलाई परमेश्वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ।” 33जब परिषद्का सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए र प्रेरितहरूलाई मार्ने चाहना गरे।
सुसमाचार
14जब मानिसहरूले उहाँले गर्नुभएका यी चिह्नहरू देखे, तिनीहरूले भने, “उहाँ साँच्चै यो संसारमा आउनुपर्ने अगमवक्ता हुनुहुन्छ।” 15जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्ने उहाँले महसुस गर्नुभयो, उहाँ फेरि पनि एकलै डाँडातर्फ लाग्नुभयो। 16जब साँझ पर्यो, उहाँका चेलाहरू समुद्रतिर झरे। 17तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए। यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन। 18र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए। 19जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको र उहाँ डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए। 20तर पनि उहाँले तिनीहरूलाई भन्नुभयो, “म नै हुँ, नडराओ।” 21तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए। 22अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भिडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा थिएन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको र उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्ने देखे। 23तापनि प्रभुले धन्यवाद चढाएर तिनीहरूले रोटी खाएका नजिकैको ठाउँ तिबेरियासबाट आएका केही डुङ्गाहरू त्यहाँ थिए। 24जब त्यस भिडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्ने कुरा पत्ता लगाए, तिनीहरू आफैँ डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए। 25तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?” 26येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, तिमीहरूले चिह्नहरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो। 27नष्ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ।”
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको मे 2 नागरिक पात्रोमा मे 15 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार