गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अप्रिल › अप्रिल 2
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 अप्रिल 2
शुक्रबार · पास्काको अष्टक
पर्व र सन्तहरू
पास्काको अष्टकको शुक्रबार
महापर्व · धर्मविधिको रङ: सेतो
दिनका पाठहरू
पहिलो पाठ
1जब पत्रुस र यूहन्ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका मुख्य व्यक्ति र सदूकीहरू तिनीहरूकहाँ आए। 2पत्रुस र यूहन्नाले मानिसहरूलाई येशूको बारेमा सिकाइरहेका र उहाँको मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरूलाई साह्रै गाह्रो भयो। 3उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो। 4तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्वास गरे र विश्वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो। 5अर्को दिन तिनीहरूका शासकहरू, एल्डरहरू र शास्त्रीहरू यरूशलेममा जम्मा भए। 6प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका अरू सबै आफन्तहरू त्यहाँ थिए। 7जब उनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ?” 8अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो, 9यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्न गरिदैँछ भने, 10तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रुसमा टाँग्नुभएका र परमेश्वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ। 11येशू ख्रीष्ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर उहाँ नै मुख्य कुनेढुङ्गा हुनुभयो। 12अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन।”
प्रत्युत्तर भजन
1परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्छ। किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ। 2इस्राएलले भनोस्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ।” 4बफादार भएर परमप्रभुको अनुसरण गर्नेहरूले भनून्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ।” 22निर्माण गर्नेहरूले इन्कार गरेको ढुङ्गो कुनेढुङ्गा बनेको छ। 23यो परमप्रभुको काम हो। यो हाम्रा दृष्टिमा अचम्मको कुरा हो। 24यो दिनमा परमप्रभुले काम गर्नुभएको छ। यसमा हामी आनन्दित हुनेछौं र खुसी हुनेछौं। 25हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्! 26परमप्रभुको नाउँमा आउने धन्यको हो। तिमीलाई परमप्रभुको मन्दिरबाट हामी आशीर्वाद दिनेछौं। 27परमप्रभु परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई ज्योति दिनुभएको छ। वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध।
सुसमाचार
1यी कुराहरूपछि येशू आफैँ फेरि तिबेरियास समुद्रमा चेलाहरूकहाँ देखा पर्नुभयो, उहाँ यसरी देखा पर्नुभयो। 2सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए। 3सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदै छु।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौँ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले कुनै पनि माछा पक्रेनन्। 4अब बिहान सबेरै थियो। येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन्। 5त्यसैले, येशूले तिनीहरूलाई भन्नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन।” 6उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्न सकेनन्। 7तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्ने सुने, तिनले तिनको बाहिरी वस्त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले। 8अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए। 9जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे। 10येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ।” 11तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए। त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन। 12येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, र खाजा खाओ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ?” भनी उहाँलाई सोध्ने साहस गरेन। 13येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो। 14मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो।
आजका सन्तहरू
- पाओलाका सन्त फ्रान्सिस, एकान्तवासी
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार