गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 मार्च › मार्च 28
अर्थोडक्स पात्रो · मार्च 15 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 मार्च 28
आइतबार · स्वर 2
पर्व र सन्तहरू
महान् उपवासको दोस्रो आइतबार
महान् उपवास
उपवास: तेलसहित
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
बिहानको प्रार्थनाको 10औँ सुसमाचार
1यी कुराहरूपछि येशू आफैँ फेरि तिबेरियास समुद्रमा चेलाहरूकहाँ देखा पर्नुभयो, उहाँ यसरी देखा पर्नुभयो। 2सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए। 3सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदै छु।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौँ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले कुनै पनि माछा पक्रेनन्। 4अब बिहान सबेरै थियो। येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन्। 5त्यसैले, येशूले तिनीहरूलाई भन्नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन।” 6उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्न सकेनन्। 7तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्ने सुने, तिनले तिनको बाहिरी वस्त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले। 8अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए। 9जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे। 10येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ।” 11तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए। त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन। 12येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, र खाजा खाओ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ?” भनी उहाँलाई सोध्ने साहस गरेन। 13येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो। 14मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो।
पत्र
10“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो। स्वर्गहरू तपाईंका हातका काम हुन्। 11तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ। तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन्। 12तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ परिवर्तन हुनेछन्। तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुँदैन।” 13तर कुनचाहिँ स्वर्गदूतलाई परमेश्वरले कहिल्यै यस्तो भन्नुभएको छ, “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ?” 14के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूको वास्ता र सेवा गर्न पठाइएका आत्माहरू होइनन् र? 2:1त्यसकारण, हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ। त्यसैले, यसबाट बहकिएर हामी टाढा जानुहुँदैन। 2यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देशको मान्यता भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र 3हामीले यति ठुलो मुक्तिको बेवास्ता गर्यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र? यो मुक्ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्का गरियो।
पत्र (सन्त ग्रेगोरीका निम्ति)
26किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो छ। उहाँ पापरहित हुनुहुन्छ; उहाँ दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र आकाशभन्दा उच्च हुनुभएको छ। 27प्रधान पुजारीले जस्तै पहिले आफ्नै पापका निम्ति र त्यसपछि मानिसहरूका पापका निम्ति उहाँले दिनहुँ बलिदान चढाई रहनुपर्दैन। जब उहाँले आफैँलाई अर्पण गर्नुभयो, तब उहाँले यो एकै पटक सधैँका निम्ति गर्नुभयो। 28किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पुजारीको रूपमा नियुक्त गर्यो, जससँग कमजोरी हुन्थे। तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्छ जो सदाकालका निम्ति सिद्ध बनाइनुभएको छ। 8:1अब हामीले भनिरहेको कुरा यही होः हामीसँग एक जना प्रधान पुजारी हुनुहुन्छ जो स्वर्गको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। 2मानिसले बनाएको होइन, तर परमेश्वरले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ।
सुसमाचार
1केही दिनपछि जब येशू कफर्नहुममा फर्केर आउनुभयो, उहाँ घरमा हुनुहुन्छ भन्ने सुनियो। 2यति धेरै मानिसहरू भेला भए, कि त्यहाँ ढोकामा समेत पनि कुनै खाली ठाउँ थिएन अनि येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो। 3केही मानिसहरू उहाँकहाँ आए, जसले एक जना पक्षाघातीलाई ल्याइरहेका थिए; चार जना मानिसले त्यसलाई बोकिरहेका थिए। 4भिडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन्। तिनीहरूले उहाँ हुनुभएको ठिक माथि छानो हटाए, र तिनीहरूले यसमा प्वाल पारे, अनि तिनीहरूले त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तल झारे। 5तिनीहरूको विश्वास देखेर येशूले पक्षाघाती मानिसलाई भन्नुभयो, “छोरो, तिम्रा पापहरू क्षमा भएका छन्।” 6तर त्यहाँ बसिरहेका शास्त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे। 7“यो मानिसले कसरी यसरी बोल्न सक्छ? यसले त ईश्वर-निन्दा गर्यो! परमेश्वरले बाहेक कसले पाप क्षमा गर्न सक्छ?” 8तिनीहरूले के सोचिरहेका छन् भन्ने येशूले आफ्नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्छौ?” 9पक्षाघाती मानिसलाई के भन्न सजिलो हुन्छ, ‘तिम्रा पापहरू क्षमा भयो’ भन्नु कि ‘उठ र आफ्नो ओछ्यान बोक र हिँड’ भन्नु?” 10तर तिमीहरूले यो जान्न सक, कि पृथ्वीमा मानिसका पुत्रसँग पाप क्षमा गर्ने अधिकार छ।” उहाँले पक्षाघातीलाई भन्नुभयो, 11“म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ।” 12त्यो मानिस उठ्यो र तुरुन्तै आफ्नो ओछ्यान बोक्यो र सबै मानिसको अगाडिबाट नै घर गयो। त्यसैले, तिनीहरू छक्क परे, र परमेश्वरलाई महिमा दिए, अनि तिनीहरूले भने, “हामीले यस्तो कहिल्यै देखेका थिएनौँ।”
सुसमाचार (सन्त ग्रेगोरीका निम्ति)
9म ढोका हुँ। यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्यो बचाइनेछ; त्यो भित्र र बाहिर जानेछ र त्यसले चर्ने मैदान भेट्टाउनेछ। 10यदि चोरले नचोर्ने, नमार्ने र नष्ट नगर्ने भए, त्यो आउँदैन नै। म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन्। 11म असल गोठालो हुँ। असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ। 12भाडामा लिएको नोकर गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन्। त्यसले ब्वाँसाहरू आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ। अनि ब्वाँसाहरूले तिनीहरूलाई पक्रन्छन् र तिनीलाई तितर बितर पार्छन्। 13त्यो भाडामा लिएको हुनाले भाग्छ र त्यसले भेडाहरूको हेरचाह गर्दैन। 14म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छ्न्। 15पिताले मलाई चिन्नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु। 16मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुन सकोस्।
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको मार्च 15 नागरिक पात्रोमा मार्च 28 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार