Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 फेब्रुअरी › फेब्रुअरी 2

क्याथोलिक पात्रो

दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 फेब्रुअरी 2

मङ्गलबार · सामान्य कालको चौथो हप्ता

पर्व र सन्तहरू

मन्दिरमा प्रभुको अर्पण

पर्व · धर्मविधिको रङ: सेतो

दिनका पाठहरू

पहिलो पाठ

मलाकी 3:1–4

वा: हिब्रू 2:14–18

1“हेर, म आफ्नो समाचारवाहक पठाउँदै छु, र तिनले मेरो अगि बाटो तयार पार्नेछन्। अनि तिमीहरूले खोजेका प्रभु एक्‍कासी आफ्नो मन्दिरमा आउनेछन्। करारका समाचारवाहक जसमा तिमीहरू रमाहट गर्दछौ, हेर, तिनी आउनेछन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ। 2तर उहाँको आगमनको दिन कसले सहन सक्छ र? उहाँ आउनुहुँदा को खडा हुन सक्छ र? किनभने उहाँ सुनारको आगो र धोबीको साबूनझैँ हुनुहुनेछ। 3उहाँ चाँदी खार्ने र सफा गर्नेझैँ गरी बस्‍नुहुनेछ, र उहाँले लेवीका छोराहरूलाई शुद्ध पार्नुहुनेछ। उहाँले तिनीहरूलाई सुन र चाँदीलाई झैँ खार्नुहुनेछ, र तिनीहरूले धार्मिकताका भेटीहरू परमप्रभुकहाँ ल्याउनेछन्। 4त्यसपछि यहूदा र यरूशलेमको भेटी, पुराना दिनमा झैँ, र प्राचीन वर्षहरूमा झैँ परमप्रभुको निम्ति प्रसन्‍न तुल्याउने किसिमको हुनेछ।

प्रत्युत्तर भजन

भजनसंग्रह 24:7–10

7ए मूल ढोकाहरू हो, आफ्‍ना शिर उठाओ। ए अनन्त ढोकाहरू हो, उच्‍च होओ, ताकि महिमाका राजा भित्र आऊन्। 8महिमाको यो राजा को हुनुहुन्छ? परमप्रभु, बलियो र शक्तिशाली। परमप्रभु, युद्धमा शक्तिशाली। 9ए मूल ढोकाहरू हो, आफ्‍ना शिर उठाओ। हे अनन्त ढोकाहरू हो, उच्‍च होओ, ताकि महिमाका राजा भित्र आऊन्। 10महिमाको यो राजा को हुनुहुन्छ? सर्वशक्तिमान् परमप्रभु, उहाँ नै महिमाको राजा हुनुहुन्छ। सेला

सुसमाचार

लुका 2:22–40

22मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरूशलेममा ल्याए। 23परमप्रभुको व्यवस्थामा लेखिएझैँ “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुमा अर्पण गर्नुपर्थ्यो।” 24तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोडी ढुकुर र दुईवटा परेवा बलिदान चढाउन लिएर आए।” 25हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्‍ति थिए। उनी धर्मी र ईश्‍वरभक्‍त मानिस थिए। उनले इस्राएलका सान्त्वना दाताको प्रतीक्षा गरिराखेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्‍यो। 26पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म उनको मृत्यु हुनेछैन। 27एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए। व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो। 28त्यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने, 29“तपाईंको वचनअनुसार, अब हे परमप्रभु, आफ्ना दासलाई शान्‍तिसँग बिदा दिनुहोस्। 30किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्, 31जुन तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार गर्नुभएको छ। 32तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ।” 33बालकका बुबाआमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए। 34त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “होसियारीसँग सुन, यो बालक इस्राएलमा धेरैको उत्थान र पतनका निम्ति र धेरैको विरुद्धमा बोलिने चिह्नको निम्ति नियुक्‍त गरिएको छ। 35साथै तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ, ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन्।” 36एक जना हन्‍ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन्। उनी आशेर कुलकी फनुएलकी छोरी थिइन्। उनी धेरै वृद्ध भइसकेकी थिइन्। विवाहपछि उनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन्। 37त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन्। उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्‍वरको आराधना गर्दै रहिन्। 38त्यही समयमा उनी त्यहाँ आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन्। यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई उनले बालकको बारेमा बताइन्। 39परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, उनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के। 40बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो, र परमप्रभुको अनुग्रह उहाँमाथि थियो।

सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार