ULB · अध्याय 6 / 14
होशे 6
1“आओ, हामी परमप्रभुतर्फ फर्कौं। किनकि उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ। उहाँले हामीलाई घाइते बनाउनुभएको छ, तर उहाँले हाम्रो घाउमा पट्टी लगाउनुहुनेछ।
2दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ। तेस्रो दिनमा उहाँले हामीलाई उठाउनुहुनेछ, र हामीहरू उहाँको सामु जिउनेछौं।
3हामी परमप्रभुलाई चिनौं। परमप्रभुलाई चिन्नुपर्ने दवावमा हामी परौं। झिसमिसे बिहानीझैं उहाँको आगमन निश्चित छ। उहाँ हामीकहाँ झरीझैं, जमिनलाई भिजाउने बसन्त ऋतुको झरीझैं आउनुहुनेछ।”
4ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो विश्वस्तता बिहानीको बादलझैं, चाँडै हराएर जाने शीतझैं छ।
5यसैले तिनीहरूलाई मैले अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु, तिनीहरूलाई मैले आफ्नो मुखको वचनले मारेको छु। तिमीहरूका आदेशहरू चम्किने बिजुलीझैं छन्।
6किनकि म बलिदान होइन, विश्वस्तता चाहन्छु, र होमबलिहरूभन्दा धैरे परमेश्वरको ज्ञान भएको चाहन्छु।
7आदमले झैं तिनीहरूले करार तोडेका छन्, तिनीहरू मप्रति विश्वासहीन भएका छन्।
8गिलादचाहिं दुष्ट काम गर्नेहरूको सहर हो, जसका पाइलाहरूमा रगत छ।
9डाँकुहरूका समुहले कसैलाई पर्खिरहेझैं, शकेम जाने बाटोमा पुजारीहरू मार्नलाई समुहमा बस्छन्। तिनीहरूले लज्जास्पद अपराधहरू गरेका छन्।
10इस्राएलको घरानामा मैले घिनलाग्दो कुरा देखेको छु। त्यहाँ एफ्राइमको वेश्यागमन छ, र इस्राएल अशुद्ध भएको छ।
11ए यहूदा तेरो निम्ति पनि कटनी तोकिएको छ, जति बेला म आफ्ना मानिसहरूको सुदिन पुनर्स्थापना गर्नेछु।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org