ULB · अध्याय 12 / 14
होशे 12
1एफ्राइमले हावा खान्छ र त्यसले पूर्वीय बतासको पछि लाग्छ। त्यसले झुट र हिंसालाई निरन्तर बढाउँछ। तिनीहरूले अश्शूरसँग करार बाँध्दछन् र मिश्रदेशमा जैतूनको तेल लान्छन्।
2यहूदाको विरुद्ध परमप्रभुसँग एउटा मुद्धा छ र याकूबले जे गरेको छ, त्यसको लागि दण्ड दिनुहुनेछ। त्यसका कामहरूका निम्ति उहाँले त्यसलाई बदला दिनुहुनेछ।
3गर्भमा नै याकूबले आफ्नो दाजुको कुर्कुच्चा समाते, र आफ्नो जवान अवस्थामा तिनले परमेश्वरसँग लडन्त गरे।
4तिनले स्वर्गदूतसँग लडन्त गरे र जिते। तिनी रोए र उहाँको निगाहको निम्ति बिन्ती गरे। तिनले बेथेलमा परमेश्वरलाई भेटे। त्यहाँ तिनीसँग परमेश्वर बोल्नुभयो।
5उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्वर हुनुहुन्छ। पुकारा गर्नुपर्ने उहाँको नाउँ “परमप्रभु” हो।
6यसैले आफ्नो परमेश्वरकहाँ फर्क। करारको विश्वस्तता र न्याय कायम राख र आफ्नो परमेश्वरमा निरन्तर पर्ख।
7व्यापारीहरूका हातमा छलको तराजु रहेको छ, तिनीहरूलाई छल गर्न मन पराउँछन्।
8एफ्राइमले भन्यो, “निश्चय नै म धेरै धनी भएको छु। आफ्नो निम्ति मैले धनसम्पत्ति पाएको छु। मेरो सबै काममा कुनै अपराध हुने कुरा, पाप हुने कुनै कुरा तिनीहरूले भेट्टाउनेछैनन्।”
9“मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तोकिएको चाडका दिनहरूमा झैं, तिमीहरूलाई फेरि म पालहरूमा बस्ने बनाउनेछु।
10म अगमवक्ताहरूसँग बोलें, र तिमीहरूका निम्ति मैले तिनीहरूलाई धेरै दर्शनहरू दिएँ। अगमवक्ताहरूका हातद्वारा मैले दृष्टान्तहरू दिएँ।”
11गिलादमा दुष्टता छ भने, निश्चय नै त्यहाँका मानिसहरू बेकामका छन्। गिलगालमा तिनीहरू साँढेहरू बलि चढाउँछन्। तिनीहरूका वेदीहरू जोतेको खेतमा ढुङ्गाका थुप्रोझैं हुनेछन्।
12याकूब अरामको देशमा भागे। एक जना पत्नी पाउनलाई इस्राएलले काम गरे, र एक जना पत्नी पाउनलाई तिनले भेडाका बगालको रेखदेख गरे।
13परमप्रभुले एक जना अगमवक्ताद्वारा इस्राएललाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र एक जना अगमवक्ताद्वारा नै उहाँले तिनीहरूको रेखदेख गर्नुभयो।
14एफ्राइमले परमप्रभुलाई अत्यन्तै क्रोधित पारेको छ। यसैले त्यसका परमप्रभुले त्यसको रगतको दोष त्यसमाथि नै छोड्नुहुनेछ र त्यसको अपमान त्यसैलाई फर्काउनुहुनेछ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org