Bible Explorer एप लिनुहोस्

बाइबल › होशे › 11

ULB · अध्याय 11 / 14

होशे 11

1“जब इस्राएल जवान मानिस थियो, तब मैले त्यसलाई प्रेम गरें, र मैले मेरो पुत्रलाई मिश्रबाट बाहिर ल्याएँ।

2जति धेरै तिनीहरूलाई बोलाइयो, तिनीहरू मबाट त्यति नै टाढा गए। तिनीहरूले बाल देवतालाई बलिदान चढाए, र मूर्तिहरूलाई धूप बाले।

3तापनि एफ्राइमलाई हिंड्न सिकाउने म नै थिएँ। तिनीहरूका हात समतेर तिनीहरूलाई उठाउने म नै थिएँ, तर मैले तिनीहरूको वास्ता गरें भन्‍ने कुरा तिनीहरूलाई थाहै भएन।

4तिनीहरूलाई मानवताका डोरीहरू र प्रेमको बन्धनहरूले मैले डोर्‍याएँ। तिनीहरूका काँधका जुवालाई सजिलो पारिदिने कोही व्‍यक्‍ति जस्तै म तिनीहरूका निम्‍ति थिएँ, र तिनीहरूका अगि म झुकें र तिनीहरूलाई खुवाएँ।

5के तिनीहरू मिश्रदेशमा फर्कने छैनन् र? तिनीहरू मकहाँ फर्कन नमानेका हुनाले, के अश्‍शूरले तिनीहरूमाथि राज्‍य गर्ने छैन र?

6तिनीहरूका सहरहरूमा तरवार चल्‍नेछ र तिनीहरूका मुख्य ढोकाका बारहरूलाई नष्‍ट गर्नेछ। तिनीहरूका आफ्‍नै योजनाहरूका कारणले, त्यसले तिनीहरूलाई नष्‍ट गर्नेछ।

7मबाट तर्केर जानलाई मेरा मानिसहरूले निश्‍चित गरेका छन्। तिनीहरूले सर्वोच्‍चलाई पुकारे पनि, कसैले पनि तिनीहरूलाई सहायता गर्नेछैन।

8ए एफ्राइम, म कसरी तँलाई त्याग्‍न सक्‍छु? ए इस्राएल, म कसरी तँलाई अरूकहाँ सुम्‍पिन सक्‍छु र? म तँलाई कसरी अदमाझैं बनाउन सक्छु? म तँलाई कसरी सबोयीमझैं बनाउन सक्छु? मेरो हृदय मभित्र परिवर्तन भएको छ, र मेरो सम्पूर्ण दया जागेको छ।

9म आफ्‍नो प्रचण्ड क्रोधलाई प्रयोग गर्नेछैनँ। म फेरि एफ्राइमलाई नष्‍ट गर्नेछैनँ। किनकि म परमेश्‍वर हुँ र म मानिस होइनँ। तिमीहरूका बिचमा म परमपवित्र हुँ, र म क्रोधमा आउनेछैनँ।

10तिनीहरूले परमप्रभुको अनुसरण गर्नेछन्, र उहाँ सिंहझैं गर्जनुहुनेछ। जब उहाँ गर्जनुहुन्छ, उहाँका छोराछोरी पश्‍चिमबाट थरथर काम्दै आउनेछन्।

11तिनीहरू मिश्रदेशबाट चराझैं र अश्‍शूरबाट ढुकुरझैं काम्दै आउनेछन्। तिनीहरूका आफ्‍नै घरमा बस्‍ने म तिनीहरूलाई बनाउनेछु— यो परमप्रभुको घोषणा हो।

12एफ्राइमले झुटले, अनि इस्राएलको घरानाले छलले मलाई घेर्छ। तर यहूदाचाहिं अझै पनि म, परमेश्‍वरसँग हिंड्‍दैछ, र म, परमपवित्रमा विश्‍वासयोग्‍य छ।”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org