Bible Explorer एप लिनुहोस्

बाइबल › प्रेरित › 17

ULB · अध्याय 17 / 28

प्रेरित 17

1अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिके सहरमा आइपुगे।

2पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तिनवटा विश्राम दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्‍त्रबाट तर्क गरे।

3उनले धर्मशास्‍त्र खोल्दै ख्रीष्‍टले दुःख भोग्‍नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गरे। उनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बिचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ।”

4केही यहूदीहरू साथै ईश्‍वरभक्त ग्रीकहरू, धेरै अगुवा स्‍त्रीहरू र ठुलो भिडले पावल र सिलासको कुरामा विश्‍वास गरे।

5तर अविश्‍वासी यहूदीहरू ईर्ष्याले भरिए र बजारका चोकबाट केही दुष्‍ट मानिसहरूलाई जम्मा गरे र ठुलो भिड बनाएर सहरमा होहल्ला मच्‍चाए। तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बिचमा बाहिर ल्याउन चाहन्थे।

6तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई घिसार्दै सहरका अधिकारीहरूकहाँ ल्याए। तिनीहरूले कराएर भने, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन्।”

7यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन् र भन्छन्, “येशू भन्‍ने अर्को एकजना राजा पनि छन्।”

8यी कुराहरू सुनेर मानिसहरूका भिड र सहरका हाकिमहरू आत्तिए।

9तिनीहरूले यासोन र अरू भाइहरूबाट जरिवानाको रकम लिइसकेपछि उनीहरूलाई जान दिए।

10त्यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए। त्यहाँ आइपुगेपछि उनीहरू यहूदीहरूको सभाघरमा पसे।

11थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्‍त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्‍वरको वचनलाई ग्रहण गर्थे।

12यसकारण तिनीहरूमध्ये केही प्रभावशाली ग्रीक स्‍त्रीहरू लगायत धेरै पुरुषहरूले प्रभुमा विश्‍वास गरे।

13तर जब पावलले परमेश्‍वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भिडहरूलाई उक्साए र खलबल मच्‍चाउन लगाए।

14त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीँ बसे।

15पावललाई डोर्‍याइरहेका मानिसहरूले उनलाई एथेन्स सहरसम्म लगे। पावललाई त्यहाँ छोडेर फर्कंदा पावलले तिनीहरूसँग सिलास र तिमोथीलाई जति सक्दो छिट्टो उनीकहाँ आउनू भन्‍ने निर्देशन दिएर पठाए।

16पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्यो सहर मूर्ती नै मूर्तीले भरिएको देखेर उनको आत्मा उनीभित्र वेचैन भयो।

17यसैकारण उनले यहूदीहरू र परमेश्‍वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा र बजारमा दिनहुँ भेटिने मानिसहरूसँग पनि यसको बारेमा बहस गरे।

18तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो। र केहीले यसो भने, “यो बकबकेले के भन्‍न खोज्दैछ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए।

19तिनीहरूले पावललाई अरिओपागसमा ल्याए, र उनलाई सोधे, “के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्‍न सक्छौँ?

20किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्छ। त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्‍न चाहन्छौँ।”

21(अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्‍ने परदेशीहरूले अरूलाई नयाँ कुराहरू बताउने र नयाँ कुराहरूको बारेमा सुन्‍ने बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे।)

22त्यसैले पावल अरिओपागसको बिचमा उभिए र यसो भने, “एथेन्सबासी हो, तपाईंहरू हरेक क्षेत्रमा धार्मिक हुनुहुन्छ भन्‍ने कुरा मैले देखेँ।

23किनिक यहाँ हिँड्दै गर्दा मैले तपाईंहरूले पुज्‍ने वस्तुहरू देखेँ। मैले यस्तो एउटा वेदी पनि देखेँ, जसमा ʻअज्ञात ईश्‍वरका निम्तिʼ भन्‍ने कुँदिएको थियो। यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्‍नुहुन्छ, तिनै ईश्‍वरको बारेमा म तपाईंहरूलाई बताउँछु।

24परमेश्‍वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्‍नुहुन्‍न।

25न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ।

26उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो।

27यसैकारण उनीहरूले तिनै परमेश्‍वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन्। वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न।

28किनकि हामी उहाँमा नै जिउँछौँ र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौँ।ʼ

29यसकारण हामी परमेश्‍वरका सन्तान भएका हुनाले परमेश्‍वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्‍नु हुँदैन।

30यसकारण परमेश्‍वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले परमेश्‍वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्‍चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ।

31किनभने उहाँले एक दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले चुन्‍नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ। परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ।”

32जब एथेन्सका मानिसहरूले मृत्त व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै-कसैले पावललाई गिज्याए तर अरूहरूले यसो भने, “हामी यो विषयमा तपाईंबाट फेरि सुन्‍नेछौँ।”

33त्यसपछि पावलले तिनीहरूलाई छोडेर गए।

34तर अरियोपागसका डायनोसियस, दामारिस नाउँ गरेकी एक स्‍त्री र अरू कतिपय मानिसहरू पावललाई भेट्न आए र उनको कुरामा विश्‍वास गरे।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org