Bible Explorer एप लिनुहोस्

बाइबल › २ इतिहास › 30

ULB · अध्याय 30 / 36

२ इतिहास 30

1हिजकियाले सबै इस्राएल र यहूदाकहाँ दूतहरू पठाए र एफ्राइम र मनश्‍शेलाई चिट्ठीहरू पनि लेखे ताकि तिनीहरू यरूशलेममा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार-चाड मान्‍न यरूशलेमको परमप्रभुको मन्‍दिरमा आउन्‌।

2किनकि राजा, तिनका अगुवाहरू र यरूशलेममा भेला भएका सबै समुदायले मिलेर सल्लाह गरी दोस्रो महिनामा निस्‍तार-चाड मनाउने सहमती गरे।

3तिनीहरूले नियमित समयमा मनाउन सकेनन्, किनभने उत्सवको निम्ति पर्याप्‍त पुजारीहरूले आफूलाई शुद्ध पारेका र मानिसहरू यरूशलेममा एकसाथ भेला हुन सकेका थिएनन्‌।

4यो प्रस्‍ताव राजा र सारा समुदायको दृष्‍टिमा असल लाग्‍यो।

5यसैले तिनीहरूले बेर्शेबादेखि दानसम्‍मै परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार-चाड मान्‍न मानिसहरू यरूशलेममा आउनैपर्छ भनी सारा इस्राएलभरि घोषणा गर्ने कुरामा सहमत भए। किनकि यसअघि लेखिएबमोजिम मानिसहरूका यति धेरै सङ्‍ख्‍याले यो चाड मानेका थिएनन्‌।

6यसैले राजाको हुकुमअनुसार राजा र तिनका अगुवाहरूका पत्रहरू लिएर पत्रवाहकहरू सारा इस्राएल र यहूदाभरि गए। तिनीहरूले भने, “इस्राएलका मानिसहरू हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्‍वरतिर तिमीहरू फर्क, ताकि अश्‍शूरका राजाहरूका हातबाट उम्‍कनेहरूतिर उहाँ पनि फर्कनुभएको होस्।

7तिमीहरू आफ्‍ना पुर्खाहरू वा आफ्ना दाजुभाइजस्‍तै नहोओ, जसले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा विश्‍वासघात गरे, जसले गर्दा उहाँले तिनीहरूलाई त्रासका पात्र तुल्‍याउनुभयो, जुन तिमीहरूले देख्छौ।

8तिमीहरूका पुर्खाहरूझैं तिमीहरू पनि हठी नहोओ। बरू तिमीहरू आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्‍ति पवित्र पार्नुभएको उहाँको पवित्रस्‍थानमा प्रवेश गर, र परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर, ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्‌।

9किनकि तिमीहरू परमप्रभुतिर फर्क्‍यौ भने, तिमीहरूका दाजुभाइ र तिमीहरूका छोराछोरीलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउने छन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउने छन्‌। किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दयालु र करुणामय हुनुहुन्‍छ, र तिमीहरू उहाँतर्फ फर्क्‍यौ भने, उहाँ तिमीहरूबाट फर्कनुहुने छैन।”

10यसैले ती पत्रवाहकहरू एफ्राइम र मनश्‍शेका प्रदेशहरूभरि नै सहर-सहरमा भएर जबूलूनसम्‍मै गए, तर मानिसहरूलाई हेरेर हाँसे र तिनीहरूको गिल्‍ला गरे।

11तापनि आशेर, मनश्‍शे र जबूलूनका कोही मानिसले आफैलाई नम्र तुल्‍याए र यरूशलेममा आए।

12परमप्रभुको वचनअनुसार राजा र तिनका अधिकारीहरूले दिएको हुकुम एकमत भई पालन गर्न परमेश्‍वरको हात यहूदाका मानिसहरूमा पनि आयो।

13धेरै मानिसहरू, अर्थात्‌ एउटा साह्रै ठूलो समुदाय दोस्रो महिनामा अखमिरी रोटीको चाड मान्‍न यरूशलेममा भेला भए।

14तिनीहरू उठे र यरूशलेममा भएका वेदीहरू, र धूप बाल्‍ने सबै वेदीसमेत हटाइदिए, र तिनीहरूले तिनलाई किद्रोनको खोल्‍सामा फ्‍याँकिदिए।

15तब तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनमा निस्‍तार-चाडको थुमा मारे। पुजारीहरू र लेवीहरू साह्रै लज्‍जित भए। यसैले तिनीहरूले आफूलाई शुद्ध गरे, र परमप्रभुको मन्‍दिरमा होमबलि ल्‍याए।

16तब परमेश्‍वरका मानिस मोशाको व्‍यवस्‍थाले दिएको निर्देशनअनुसार तिनीहरू आआफ्‍नो स्‍थानमा दल-दल भएर खडा भए। पुजारीहरूले लेवीहरूबाट लिएको रगत वेदीमा छर्के।

17किनकि आफूलाई शुद्ध नपारेकाहरू समुदायमा धेरै जना थिए। यसैकारण आफैलाई शुद्ध नपारेका र परमप्रभुको सामुन्‍ने आआफ्‍नो थुमा अर्पण नगरेकाहरू सबैका निम्‍ति लेवीहरूले निस्‍तार-चाडका थुमाहरू मारे।

18एफ्राइम, मनश्‍शे, इस्‍साखार र जबूलूनबाट आएकामध्‍ये धेरै जनाले आफैलाई शुद्ध पारेका थिएनन्, तापनि तिनीहरूले लेखिएको निर्देशनहरूको विरुद्ध निस्‍तार-चाडको भोज खाए। किनकि हिजकियाले यसो भनेर तिनीहरूका निम्‍ति प्रार्थना गरेका थिए, “भला हुनुहुने परमप्रभुले हरेक व्‍यक्तिलाई क्षमा गर्नुभएको होस्

19जो पवित्र स्‍थानका शुद्धीकरणको मनकबमोजिम शुद्ध नभए तापनि परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने सङ्कल्‍प गरेको छ।”

20यसैले परमप्रभुले हिजकियाको प्रार्थना सुन्‍नुभयो, र मानिसहरूलाई निको पार्नुभयो।

21यरूशलेममा उपस्‍थित भएका इस्राएलका मनिसहरूले सात दिनसम्‍म ठुलो रमाहटको साथ अखमिरी रोटीको चाड मनाए। लेवीहरू र पुजारीहरूले ठुलो स्वरमा परमप्रभुका बाजाहरू बजाएर दिनहुँ परमप्रभुको प्रशंसा गरे।

22परमप्रभुको सेवा बुझेका सबै लेवीलाई हिजकियाले उत्‍साहको वचनले बोले। यसरी मेलबलिका बलिदानहरू चढाउँदै, र परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरसँग आफ्ना पापहरू स्वीकार गर्दै र तिनीहरूले चाडका सात दिनभरि खाँदै बिताए।

23सारा समुदाय अरू सात दिनसम्‍म चाड मान्‍न सहमत भए, र तिनीहरूले रमाहटसित सो गरे।

24किनकि यहूदाका राजा हिजकियाले समुदायको निम्‍ति एक हजार साँढे र सात हजार भेडा बलिदानको रूपमा दिए। अनि अगुवाहरूले समुदायको निम्‍ति एक हजार साँढे र दश हजार भेडा दिए। ठुलो संख्यामा पुजारीहरूले आफूलाई शुद्ध पारे।

25यहूदाका सारा समुदाय, पुजारीहरू र लेवीहरूसमेत, अनि इस्राएलबाट आएका सबै समुदायसाथ इस्राएल र यहूदामा बसोबास गर्ने विदेशीहरूले पनि रमाहट गरे।

26यसरी यरूशलेममा ठुलो रमाहट भयो, किनभने त्‍यस्‍तो त इस्राएलका राजा दाऊदका छोरा सोलोमनको पालोदेखि यता त्‍यहाँ भएको थिएन।

27तब पुजारीहरू र लेवीहरू खडा भए र मानिसहरूलाई आशीर्वाद दिए। तिनीहरूको आवाज सुनियो, र तिनीहरूका प्रार्थना स्वर्गमा परमेश्‍वरको बस्‍नुहुने पवित्र वासस्‍थानसम्‍मै पुग्‍यो।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org