Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अगस्ट › अगस्ट 27

अर्थोडक्स पात्रो · अगस्ट 14 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2027 अगस्ट 27

शुक्रबार · पेन्तिकोसपछिको 10औँ हप्ता · स्वर 8

पर्व र सन्तहरू

Forefeast of the Dormition of the Mother of God

मरियमको शयन-पर्वको उपवास

कडा उपवास (सुक्खा खाना: रोटी, तरकारी, फलफूल)

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

पत्र

२ कोरिन्थी 1:12–20

12हाम्रो अन्तस्करणको गवाहीमा हामी गर्व गर्छौं। किनकि यो परमेश्‍वरबाट आउने शुद्ध प्रेरणा र इमानदारीमा छ जसअनुसार हामी यो संसारमा चलेका छौँ। विशेष गरी, हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौँ, सांसारिक ज्ञानमा होइन, तर परमेश्‍वरको अनुग्रहमा। 13हामी तिमीहरूले पढ्न र बुझ्न नसक्‍ने गरी केही पनि लेख्दैनौँ। म आशा गर्छु, कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ। 14जसरी अहिले तिमीहरूले हामीलाई केही मात्रमा बुझ्यौ। येशू ख्रीष्‍टको दिनमा हामी तिमीहरूका निम्ति गर्व गर्ने कारण बन्‍नेछौँ, जसरी तिमीहरू हाम्रा कारण बन्‍नेछौ। 15यो कुरामा म निर्धक्‍क भएको कारण, तिमीहरूले दुईवटा भेटको लाभ उठाउन सक भनेर म तिमीहरूकहाँ अगाडि नै आउन चाहन्थेँ। 16माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ। माकेडोनियाको यात्रापछि म फेरि तिमीहरूलाई भेट्न चाहन्थेँ, र तिमीहरूले मलाई यहूदियाको बाटो हुँदै पठाएको चाहन्थेँ। 17जब मैले यस तरिकाले सोच्दै थिएँ, तब के म हिच्किचाएँ र? के मैले मानवीय मापनअनुसार योजनाहरू बनाएँ कि मैले एकै समयमा “हो” र “होइन” भनेँ र? 18तर जसरी परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, हामी एकैसाथ “हो” र “होइन” भन्दैनौँ। 19किनकि परमेश्‍वरका पुत्र येशू ख्रीष्‍ट जसलाई सिलास, तिमोथी र मैले तिमीहरूमाझ घोषणा गर्‍यौँ, जो चाहिँ “हो” र “होइन” हुनुहुन्‍न। बरु, उहाँ सदा “हो” हुनुहुन्छ। 20किनकि परमेश्‍वरका सबै प्रतिज्ञा उहाँमा “हो” नै हुन्छन्। यसैले, उहाँद्वारा नै हामीले परमेश्‍वरको महिमालाई “आमेन” भनेका छौँ।

पत्र (शनिबारको निम्ति)

रोमी 15:30–33

30भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा बिन्ती गर्छु, कि मेरो निम्ति परमेश्‍वरसित तिमीहरूको प्रार्थनामा तिमीहरूले मसँग सङ्घर्ष गर। 31यो प्रार्थना गर, कि म यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा विश्‍वासीहरूलाई ग्रहणयोग्य हुन सकोस्। 32प्रार्थना गर, कि म परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ। 33शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून्। आमेन!

सुसमाचार

मत्ती 22:23–33

23त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे। तिनीहरूले उहाँलाई सोधे, 24“गुरुज्यू, मोशाले भनेका थिए, ‘यदि कुनै पुरुष बालक नजन्माईकन मर्‍यो भने, उसको भाइले त्यसकी पत्‍नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ। 25तिनीहरू सात जना दाजुभाइ थिए। पहिलोले विवाह गर्‍यो। कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्‍नी आफ्नो भाइलाई छोड्यो। 26त्यसपछि दोस्रो भाइले त्यस्तै गर्‍यो, त्यसपछि तेस्रोले, र सातौँ भाइसम्म यस्तै हुँदै गयो। 27तिनीहरू सबै मरेपछि त्यो स्‍त्री पनि मरी। 28अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्‍त्री कुन चाहिँको पत्‍नी हुन्छे? किनकि तिनीहरू सबैले ऊसँग विवाह गरिसकेका छन्।” 29तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तिमीहरू भुलमा परेका छौ, किनभने तिमीहरू धर्मशास्‍त्र वा परमेश्‍वरको शक्‍तिलाई जान्दैनौ। 30किनकि पुनरुत्थानमा तिनीहरू न त विवाह गर्दछन्, न त तिनीहरूलाई विवाहको निम्ति दिइन्छ। बरु, तिनीहरू स्वर्गमा हुने दूतहरूजस्तै हुन्छन्। 31तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्‍वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ, 32‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ?’ परमेश्‍वर मृतकहरूको परमेश्‍वर हुनुहुन्‍न, तर उहाँ जीवितहरूका परमेश्‍वर हुनुहुन्छ।” 33जब भिडले यो सुन्यो, तिनीहरू उहाँको शिक्षामा छक्‍क परे।

सुसमाचार (शनिबारको निम्ति)

मत्ती 17:24–18:4

24जब उहाँहरू कफर्नहुममा आउनुभएको थियो, आधा सेकेल कर उठाउने मानिसहरू पत्रुसकहाँ आए र भने, “के तिमीहरूका शिक्षकले आधा सेकेल कर तिर्दैनन्?” 25उनले भने, “तिर्छन्।” तर जब पत्रुस घरभित्र गए, येशू पहिले उनीसँग बोल्नुभयो र भन्‍नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले कोबाट कर वा महसुल पाउँछन्? तिनीहरूका प्रजाबाट कि परदेशीहरूबाट?” 26जब पत्रुसले “परदेशीहरूबाट” भनेर भने, येशूले उनलाई भन्‍नुभयो, “त्यसो भए, प्रजाहरूचाहिँ कर तिर्नबाट मुक्त हुन्छन्। 27हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔँ भनेर समुद्रमा जाऊ, बल्छी हान, र जुन माछा पहिले पर्छ त्यसलाई तान। तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ। त्यो लेऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ।” 18:1त्यही समयमा येशूका चेलाहरू उहाँकहाँ आएर भने, “स्वर्गको राज्यमा सबैभन्दा ठुलो को हो?” 2येशूले आफ्नो नजिक एउटा सानो बालकलाई बोलाउनुभयो, र उसलाई उनीहरूका बिचमा राख्‍नुभयो, 3र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्‍चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। 4त्यसैले, जसले यी सानो बालकले झैँ आफूलाई नम्र तुल्याउँछ, त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ।

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको अगस्ट 14 नागरिक पात्रोमा अगस्ट 27 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार