Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 फेब्रुअरी › फेब्रुअरी 18

अर्थोडक्स पात्रो · फेब्रुअरी 5 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2027 फेब्रुअरी 18

बिहीबार · पेन्तिकोसपछिको 38औँ हप्ता · स्वर 4

पर्व र सन्तहरू

Afterfeast of the Meeting of the Lord

उपवास

उपवास छैन

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

साँझको प्रार्थना: पाठ

हितोपदेश 10; हितोपदेश 3; हितोपदेश 8 (छानिएका पदहरू)

साँझको प्रार्थना: पाठ

हितोपदेश 10 (छानिएका पदहरू)

साँझको प्रार्थना: पाठ

यो अनुवादमा छैन

बिहानको प्रार्थना: सुसमाचार

यूहन्ना 10:9–16

9म ढोका हुँ। यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्यो बचाइनेछ; त्यो भित्र र बाहिर जानेछ र त्यसले चर्ने मैदान भेट्टाउनेछ। 10यदि चोरले नचोर्ने, नमार्ने र नष्‍ट नगर्ने भए, त्यो आउँदैन नै। म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन्। 11म असल गोठालो हुँ। असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ। 12भाडामा लिएको नोकर गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन्। त्यसले ब्वाँसाहरू आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ। अनि ब्‍वाँसाहरूले तिनीहरूलाई पक्रन्छन् र तिनीलाई तितर बितर पार्छन्। 13त्यो भाडामा लिएको हुनाले भाग्छ र त्यसले भेडाहरूको हेरचाह गर्दैन। 14म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छ्न्। 15पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु। 16मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्‍नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुन सकोस्।

पत्र

१ पत्रुस 4:12–5:5

12प्रिय हो, तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्‍निमय परीक्षा आइपरेमा त्यसलाई अनौठो नसम्झ। 13तर जति तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्‍नेछौँ। 14तिमीहरू ख्रीष्‍टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्यका हौ, किनकि महिमाका आत्मा र परमेश्‍वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ। 15तर तिमीहरू कसैले पनि हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्‍तिको रूपमा दुःख भोग्‍नु नपरोस्। 16तरै पनि ख्रीष्‍टियान भएको कारणले कसैले पीडा भोग्छ भने उसले लाज नमानोस्, तर त्यही नाममा परमेश्‍वरको महिमा गरोस्। 17किनकि यो परमेश्‍वरको परिवारबाट न्याय सुरु हुने समय हो। अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्‍वरको वचन नमान्‍नेको अवस्था कस्तो होला? 18अनि “धर्मी जनको उद्धारचाहिँ उसको कठिनाइले हुन्छ भने, अधर्मी र पापीको अवस्था के होला?” 19त्यसैले परमेश्‍वरको इच्छामा दुःख भोग्‍नेहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्‍टिकर्तालाई सुम्पून्। 5:1सङ्गी-एल्डर र ख्रीष्‍टका कष्‍ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्‍तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दछु। 2त्यसकारण, म एल्डरहरूलाई आग्रह गर्दछु, तिमीहरूका माझमा भएका परमेश्‍वरको बगालको हेरचाह गर, करले होइन तर तिमीहरूका आफ्नै र परमेश्‍वरको इच्छाअनुसार। बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले। 3तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिकजस्तो व्यवहार नगर, तर बगालको लागि उदाहरण बन। 4मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ। 5त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस। तिमीहरू सबैले विनम्रताको वस्‍त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।

पत्र (सन्त थियोडोसियसका निम्ति)

हिब्रू 13:17–21

17तिमीहरूका अगुवाहरूको अधीनमा बस र आज्ञा मान, किनभने जसले हिसाब दिनुपर्नेले जस्तै गरी तिनीहरूले तिमीहरूका आत्माको रेखदेख गर्दछन्। आज्ञा मान ताकि तिम्रा अगुवाहरूले आनन्‍दसाथ तिमीहरूको वास्ता गरून्, दुःखसँग होइन, जुन तिमीहरूका लागि प्रयोगयोग्य छैन। 18हाम्रा लागि प्रार्थना गर, किनकि हामीमा सफा विवेक छ भनी निश्‍चित हुन सकौँ र सबै कुरामा ठिक प्रकारले जिउन सकौँ। 19अझ धेरै काम गर भनेर म तिमीहरूलाई उत्साह दिन्छु। त्यसकारण, म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु। 20अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्‍युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्‍वरले, 21उहाँको इच्‍छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्जित पारून्। परमेश्‍वरको दृष्‍टिमा जे कुरा ग्रहणयोग्य छ ख्रीष्‍ट येशूद्वारा त्यही गर। उहाँलाई नै सधैँभरि महिमा भइरहोस्। आमेन।

सुसमाचार

मर्कूस 12:38–44

38येशूले उहाँको शिक्षामा भन्‍नुभयो, “शास्‍त्रीहरूदेखि होसियार बस, जसले लामो वस्‍त्र लगाएर हिँड्न र बजारमा अभिवादन गरेको, 39अनि सभाघरमा भोजमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन्। 40तिनीहरूले विधवाहरूको घर खान्छन् र मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन्। यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन्।” 41त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्‍ने बस्‍नुभयो। मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो। धेरै धनी मानिसले ठुलो रकम हाले। 42त्यसपछि त्यहाँ एक जना गरिब विधवा आइन् र दुई सिक्‍का हालिन्। 43उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन्। 44किनभने सबैले आ-आफ्ना प्रशस्‍तताबाट दिए। तर यी विधवाले आफ्नो गरिबीबाट तिनी जिउनुपर्ने सबै पैसा हालिन्।”

सुसमाचार (सन्त थियोडोसियसका निम्ति)

लुका 6:17–23

17त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो। त्यहाँ उहाँका चेलाहरूको ठुलो भिड थियो र त्यसै गरी ठुलो सङ्ख्यामा यहूदिया, र यरूशलेम, र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए। 18तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए। 19भभिडमा भएका सबैले उहाँलाई छुन खोजे, किनभने निको पार्ने शक्‍ति उहाँबाट गइहेको थियो र उहाँले सबैलाई निको पार्नुभयो। 20उहाँले चेलाहरूतर्फ हेर्नुभयो र भन्‍नुभयो, “धन्य तिमीहरू जो दीन छौ, परमेश्‍वरको राज्य तिमीहरूकै हो। 21धन्य तिमीहरू जो अहिले भोकाउँदछौ, तिमीहरू तृप्‍त हुनेछौ। धन्य तिमीहरू जो अहिले रुन्छौ, तिमीहरू हाँस्‍नेछौ। 22जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन्। धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन्। 23त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्‍चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरेका थिए।

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको फेब्रुअरी 5 नागरिक पात्रोमा फेब्रुअरी 18 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार