गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 जनवरी › जनवरी 1
अर्थोडक्स पात्रो · डिसेम्बर 19 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 जनवरी 1
शुक्रबार · पेन्तिकोसपछिको 31औँ हप्ता · स्वर 5
पर्व र सन्तहरू
Martyr Boniface at Tarsus in Cilicia and the Righteous Aglae (Aglaida) of Rome († 290)
जन्मोत्सवको उपवास
उपवास: तेलबिना पकाएको खाना
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
पत्र
1मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूले विश्वास नगर। 2विचार गर कि कोही मानिस तिमीहरूको सभामा सुनका औँठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा आयो। 3यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीँ उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने, 4के तिमीहरूले आफैँबिच न्याय गरिरहेका छैनौ र? के तिमीहरू दुष्ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र? 5मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्वरले संसारका गरिबहरूलाई विश्वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्नुभएन र? 6तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ। के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र? र तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र? 7तिमीहरू जसका हौ, उहाँको सुनामलाई तिनीहरूले नै अपमान गर्दैनन् र? 8तथापि, यदि तिमीहरूले “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने धर्मशास्त्रको राजकीय व्यवस्थालाई पुरा गर्दछौ भने, तिमीहरूले असलै गर्दछौ। 9तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने, तिमीहरूले पाप गरेका हुन्छौ, र तिमीहरू व्यवस्थाद्वारा व्यवस्थाको उल्लङ्घन गर्नेहरू भनी दोषी ठहरिन्छौ। 10किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर एउटै कुरामा मात्र ठक्कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ। 11किनभने जसले “व्यभिचार नगर” भनेर भन्नुभयो उहाँले “हत्या नगर” पनि भन्नुभयो। यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्घन गर्छौ। 12यसकारण, स्वतन्त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैँ गरी बोल र व्यवहार गर। 13किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँदछ। कृपा न्यायमाथि विजयी हुन्छ।
सुसमाचार
33अनि उहाँहरू कफर्नहुममा आइपुग्नुभयो। जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ?” 34तर सबै चुपचाप भए। किनभने तिनीहरूले “कोचाहिँ सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए। 35उहाँ बस्नुभयो र बाह्र जनालाई बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको दास हुनुपर्छ।” 36उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्नुभयो। उहाँले त्यसलाई हातमा लिनुभयो र तिनीहरूलाई भन्नुभयो, 37“जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ।” 38यूहन्नाले उहाँलाई भने, “गुरुज्यू, हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ, किनकि त्यसले हामीलाई पछ्याउँदैन।” 39तर येशूले भन्नुभयो, “त्यसलाई नरोक, किनकि कसैले पनि मेरो नाउँमा शक्तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्न सक्दैन। 40जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो हो। 41तिमीहरू ख्रीष्टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन।
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको डिसेम्बर 19 नागरिक पात्रोमा जनवरी 1 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार