गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 डिसेम्बर › डिसेम्बर 13
अर्थोडक्स पात्रो · नोभेम्बर 30 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2026 डिसेम्बर 13
आइतबार · स्वर 3
पर्व र सन्तहरू
पेन्तिकोसपछिको 28औँ आइतबार
जन्मोत्सवको उपवास
माछा चल्छ
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
साँझको प्रार्थना: पाठ
1पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई येशू ख्रीष्टका प्रेरित पत्रुसबाट। 2येशू ख्रीष्टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू। तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस्। 3परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यको हुनुभएको होस्। उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा ईश्वरीय उत्तराधिकारको निश्चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो। 4किनकि कहिल्यै नष्ट नहुने ईश्वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन र यो कहिल्यै बिलाएर पनि जाँदैन। यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ। 5अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिले सुरक्षित राखिएका छौ। 6अहिले तिमीहरूले विभिन्न किसिमका धेरै कष्टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ। 7तिमीहरूको विश्वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्वास आगोमा नष्ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ। येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूको विश्वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्न गरोस् भनेर यसो भएको हो। 8तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ। तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तर तिमीहरू उहाँमा विश्वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ। 9अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिँ तिमीहरूका प्राणको मुक्ति हो। 10अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्यानसित खोजतलास गरेका थिए। 11तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे। तिनीहरूमा हुनुभएका ख्रीष्टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्ने कुराको पनि तिनीहरूले खोजी गरे। यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो। 12यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि। यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ। यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन्। 13त्यसकारण, तिमीहरूका मनलाई बाँध। आफ्नो सोचाइमा संयमी होओ। येशू ख्रीष्ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख। 14आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल। 15तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ। 16किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु।” 17जसले प्रत्येक व्यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ। 18तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ। 19तर तिमीहरूले येशू ख्रीष्टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ। 20येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ। 21तिमीहरू उहाँद्वारा परमेश्वरमा विश्वास गर्छौ, जसलाई तिमीहरूका विश्वास र आशा परमेश्वरमा रहून् भनेर परमेश्वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो। 22सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ। त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर। 23तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्वरको वचनको अविनाशी वीर्यबाट। 24किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन्। घाँस सुक्छ र फुल ओइलाउँछ।” 25तर परमेश्वरको वचन सदासर्वदा रहिरहन्छ। सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो। 2:1त्यसकारण सबै दुष्ट्याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख। 2नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक, 3यदि प्रभु भला हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने, 4उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर नै परमेश्वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ। 5तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ। 6धर्मशास्त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ। जसले उहाँमाथि विश्वास गर्छ, त्यो शर्ममा पर्नेछैन।”
साँझको प्रार्थना: पाठ
21यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्टले पनि दुःख भोग्नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो। 22उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो। 23उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन। उहाँले दुःख भोग्नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो। 24हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो। उहाँका चोटले तिमीहरू निको भएका छौ। 25तिमीहरू सबै हराएका भेडाझैँ भौतारिँदै थियौ, तर अब तिमीहरू आत्माका गोठालो र संरक्षककहाँ फर्किएका छौ। 3:1यसरी नै पत्नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्न सकिन्छ। 2किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई आफ्नो सम्मानको रूपमा देख्नेछन्। 3यसको लागि केशको शृङ्गार, सुनका गरगहनाहरू, शृङ्गारका वस्त्रहरूजस्ता बाहिरी सजावट नगर। 4तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्त आत्माद्वारा परमेश्वरको दृष्टिमा अनमोल हुने किसिमले यसो गर। 5किनकि पहिलेका पवित्र स्त्रीहरूले यसरी नै आफ्नो शृङ्गार गर्थे। तिनीहरूले परमेश्वरमा आशा राख्थे र आफ्ना पतिहरूका अधीनमा बस्दथे। 6यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्थिन् र तिनलाई “स्वामी” भनेर बोलाउँथिन्। अब यदि तिमीहरूले जे असल छ त्यही गर्यौ र समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्छौ। 7त्यसरी नै पतिहरू हो, आफ्ना पत्नीहरूलाई अबला र जीवनका वरदानहरू प्राप्त गर्ने साझेदार सम्झी तिनीहरूसँग बस। तिमीहरूका प्रार्थनामा अवरोध नहोस् भनेर यसो गर। 8अन्त्यमा तिमीहरू सबै एकै मनका, दयावान्, भातृत्वलाई प्रेम गर्ने, कोमल हृदयका र नम्र होओ। 9खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर। तर त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनकि आशिष्मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ।
साँझको प्रार्थना: पाठ
1यसैकारण, जसरी ख्रीष्टले शरीरमा कष्ट भोग्नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर। जसले शरीरमा कष्ट भोगेको छ उसले पाप गर्न छोडेको हुन्छ। 2यो व्यक्तिले अब उसो मानवीय अभिलाषामा होइन, तर आफ्नो बाँकी जीवन परमेश्वरको इच्छाको निम्ति जिउँछ। 3किनकि अन्यजातिले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मोजमज्जा, पियक्कडपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा धेरै समय खर्च भइसकेको छ। 4तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन्। त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन्। 5तिनीहरूले जीवित र मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन्। 6त्यसैले, मरिसकेकाहरूलाई यो वचन प्रचारिएको थियो। शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्वरअनुसार जिऊन्। 7सबै कुराको अन्त्य आउँदै छ। त्यसैले, आफ्नो मन ठिक ठाउँमा लगाओ र तिमीहरूका प्रार्थनाको खातिर आफ्नो विचारमा सचेत रहो। 8सबै कुराभन्दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले एक-अर्काको दोष पत्ता लगाउँदैन। 9गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर, 10जसरी तिमीहरू हरेकले वरदान पाएका छौ। परमेश्वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर। 11यदि कोही बोल्छ भने उसले परमेश्वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्वरले दिनुहुने शक्तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्टद्वारा परमेश्वर महिमित हुनुभएको होस्। महिमा र शक्ति सदासर्वदा उहाँकै हुन्। आमेन।
बिहानको प्रार्थनाको छैटौँ सुसमाचार
36जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।” 37तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे। 38येशूले तिनीहरूलाई भन्नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्न उठाउँछौ? 39मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ। मलाई छोएर हेर। किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ।” 40जब उहाँले यो भनी सक्नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो। 41तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?” 42तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए। 43येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो। 44उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ।” 45तब तिनीहरूले धर्मशास्त्र बुझ्न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो। 46उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, ख्रीष्टले कष्ट भोग्नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ। 47र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ। 48तिमीहरू यी कुराहरूका साक्षी छौ। 49हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस।” 50त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म उहाँले तिनीहरूलाई अगुवाइ गर्नुभयो। उहाँले आफ्ना हातहरू उचालेर तिनीहरूलाई आशिष् दिनुभयो। 51त्यसपछि, जब उहाँले तिनीहरूलाई आशिष् दिँदै हुनुहुन्थ्यो, उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो। 52त्यसैले, तिनीहरूले उहाँको आराधना गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के। 53तिनीहरू निरन्तर परमेश्वरलाई धन्यको भन्दै मन्दिरमा रहे।
पत्र
12हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा विश्वासीहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ। 13उहाँले हामीलाई अन्धकारको शक्तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ। 14उहाँका पुत्रमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौँ। 15पुत्र अदृश्य परमेश्वरका प्रतिरूप हुनुहुन्छ। उहाँ सबै सृष्टिमा जेष्ठ हुनुहुन्छ। 16किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्टि गरिएका थिए। चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्टि गरिएका थिए। 17उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन्। 18र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ। उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा पहिलो हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ।
पत्र (सन्त अन्द्रियासका निम्ति)
9किनकि मलाई यस्तो लाग्छ कि परमेश्वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्नुभएको छ। हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बिचमा तमाशा भएका छौँ। 10हामी ख्रीष्टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्टमा बुद्धिमानी छौ। हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ। तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ। 11यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौँ; हाम्रा कपडाहरू फाटिएका छन्; हामी नराम्ररी कुटिएका छौँ; हामी घरवारविहीन भएका छौँ। 12हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ। मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष् दिन्छौँ। सतावटमा पर्दा हामी सहन्छौँ। 13मानिसले हामीलाई निन्दा गर्दा हामी दयापूर्वक बोल्छौँ। हामी संसारले इन्कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरूजस्ता भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ। 14तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु। 15किनकि ख्रीष्टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन्। किनकि सुसमाचारद्वारा म ख्रीष्टमा तिमीहरूका पिता बनेँ। 16त्यसैले, मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु।
सुसमाचार
10यस बेला येशू विश्रामको समयमा एउटा सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो। 11हेर, त्यहाँ अठार वर्षदेखि दुर्बलताको अशुद्ध आत्माले सताएइकी एउटी स्त्री थिइन् र तिनी कुप्रो भएर पूर्ण रूपमा उभिन सक्दिन थिइन्। 12जब येशूले तिनलाई देख्नुभयो, उहाँले तिनलाई बोलाउनुभयो र भन्नुभयो, “तिम्रो दुर्बलताबाट छुटकारा पाऊ।” 13उहाँले तिनीमाथि हात राख्नुभयो र तिनी तत्कालै सोझो भएर उभिन् र परमेश्वरको महिमा गरिन्। 14तर सभाघरका शासकहरू क्रूद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो। त्यसैले, शासकले जवाफ दिएर भिडलाई भने, “काम गर्नको निम्ति छ दिन छन्। यसैले, विश्रामको दिन होइन, अरू दिनमा आओ र निको होओ।” 15प्रभुले जवाफ दिएर भन्नुभयो, “पाखण्डीहरू हो! के तिमीहरू हरेकले विश्रामको दिनमा तिमीहरूका गधा वा गाईलाई फुकाएर पानी खुवाउन लाँदैनौ र? 16त्यसैले, यी अब्राहामकी छोरी जसलाई अठार वर्षदेखि शैतानले बन्धनमा पारेको छ, के तिनको बन्धन विश्रामको दिनमा नै फुकाल्नु पर्दैन र?” 17जब उहाँले यी कुराहरू भन्नुभयो, उहाँका विरोध गर्नेहरू सबै लज्जित भए, तर सम्पूर्ण भिड उहाँले गर्नुभएका यी सबै महिमामय कार्यहरूमा आनन्दित भए।
सुसमाचार (सन्त अन्द्रियासका निम्ति)
35फेरि अर्को दिन यूहन्ना आफ्ना दुई जना चेलासँग उभिरहँदा, 36तिनीहरूले येशू त्यही बाटो भएर हिँडिरहनुभएको देखे, र यूहन्नाले भने, “हेर, परमेश्वरका थुमा!” 37यी दुई चेलाले यूहन्नाले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए। 38तब येशूले तिनीहरूले उहाँलाई पछ्याइरहेका देख्नुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू के चाहन्छौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “रब्बी (जसको अर्थ हो, गुरु), तपाईं कहाँ बस्दै हुनुहुन्छ?” 39उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ अनि देख्छौ।” तब उनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे। त्यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दसौँ पहर हुन लागेको थियो। 40यूहन्नाले भनेको सुन्ने र येशूलाई पछ्याउनेहरू यी दुई जनामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। 41अन्द्रियासले आफ्ना भाइ सिमोनलाई भेट्टाएर भने, “हामीले मसीह (जसलाई ख्रीष्ट भनिन्छ) लाई भेट्टाएका छौँ।” 42उनले आफ्ना भाइलाई येशूकहाँ ल्याए। अनि येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी यूहन्नाका छोरा सिमोन हौ। तिमीलाई केफास (जसको अर्थ पत्रुस हो) भनिनेछ। 43अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्नुभयो र उनलाई भन्नुभयो, “मलाई पछ्याऊ।” 44फिलिप बेथसेदाका थिए जुन अन्द्रियास र पत्रुसको सहर थियो। 45फिलिपले नथानेललाई भेटे र उनलाई भने, “मोशाको व्यवस्थामा र अगमवक्ताहरूले लेखेका अर्थात् नासरतका योसेफका छोरो येशूलाई हामीले भेट्टाएका छौँ।” 46नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्छ र?” फिलिपले उनलाई भने, “आएर हेर!” 47येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्नुभयो र उनलाई उनको बारेमा भन्नुभयो, “हेर, कुनै छल नभएका एक इस्राएली!” 48नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्नुहुन्छ?” येशूले उनलाई जवाफ दिनुभयो र भन्नुभयो, “फिलिपले बोलाउनुभन्दा पहिले तिमी नेभाराको रुखमुनि हुँदा नै मैले तिमीलाई देखेँ।” 49नथानेलले जवाफ दिए, “रब्बी, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ! तपाईं इस्राएलका राजा हुनुहुन्छ!” 50येशूले तिनलाई जवाफ दिनुभयो र भन्नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्वास गर्छौ? तिमीले योभन्दा ठुला-ठुला कुराहरू देख्नेछौ।” 51येशूले भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, “तिमीहरूले स्वर्ग उघ्रिएको, अनि परमेश्वरका स्वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्लिरहेका देख्नेछौ।”
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको नोभेम्बर 30 नागरिक पात्रोमा डिसेम्बर 13 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार