Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 अक्टोबर › अक्टोबर 7

अर्थोडक्स पात्रो · सेप्टेम्बर 24 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2026 अक्टोबर 7

बुधबार · पेन्तिकोसपछिको 19औँ हप्ता · स्वर 1

पर्व र सन्तहरू

Protomartyr and Equal-to-the-Apostles Thekla (1st C)

उपवासको दिन

उपवास: तेलसहित

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

पत्र

फिलिप्पी 1:12–20

12भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्‍ने म चाहन्छु, कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको छ। 13किनकि ख्रीष्‍टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको छ। 14र परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन्। 15कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्‌भावले पनि ख्रीष्‍टको प्रचार गरेका छन्। 16प्रेमले ख्रीष्‍टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्‍ने कुरा जान्दछन्। 17तर अरूहरूले ख्रीष्‍टको प्रचार स्वार्थ र निष्‍ठाहीन उद्देश्यले गर्दछन्। मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्‍ट दिइरहेका छन् भनी तिनीहरू विचार गर्छन्। 18त्यसो भए के त? चाहे बहानामा होस् वा सत्यतामा दुवै तरिकाले ख्रीष्‍टको प्रचार हुन्छ, र म यसैमा रमाउँदछु। हो, म रमाउनेछु। 19किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ। तिमीहरूको प्रार्थना र येशू ख्रीष्‍टको आत्माको सहायताको कारण यो हुनेछ। 20मेरो विश्‍वस्त आशा र निश्‍चयताअनुसार, म शर्ममा पर्नेछैनँ। बरु, सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्‍ट मेरो शरीरमा उचालिनुहुनेछ भन्‍ने म आशा गर्दछु।

पत्र (बिहीबारको निम्ति)

फिलिप्पी 1:20–27

20मेरो विश्‍वस्त आशा र निश्‍चयताअनुसार, म शर्ममा पर्नेछैनँ। बरु, सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्‍ट मेरो शरीरमा उचालिनुहुनेछ भन्‍ने म आशा गर्दछु। 21किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो। 22तर शरीरमा जिउनाले मेरो परिश्रमबाट प्रतिफल आउँछ भने, कुन कुरालाई चुन्‍ने भन्‍ने कुरा मलाई थाहा छैन। 23किनकि मैले चयन गर्नुपर्ने यी दुवै कुराद्वारा म बिचमा परेको छु। म बिदा भएर ख्रीष्‍टसँग हुने इच्छा गर्दछु, जुनचाहिँ झनै असल कुरा हो। 24तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिँ धेरै आवश्यक छ। 25यस कुरामा म निश्‍चित भएको कारणले म जान्दछु, कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म तिमीहरू सँग-सँगै रहेर निरन्तरता दिनेछु। 26परिणामस्वरूप, तिमीहरूकहाँ मेरो पुनः उपस्थितिको कारण तिमीहरूले ख्रीष्‍ट येशूलाई मेरो निम्ति महिमा दिने काम अझ धेरै प्रशस्त हुनेछ। 27ख्रीष्‍टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर। चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, यो गर, ताकि तिमीहरू एउटै आत्मामा दृढ भएर खडा भएका छौ भनेर तिमीहरूका विषयमा मैले सुन्‍न पाऊँ। सुसमाचारको विश्‍वासको निम्ति तिमीहरू मिलेर एउटै प्राणको भएर कडा परिश्रम गरिरहेका छौ भनेर सुन्‍ने मेरो चाहना छ।

सुसमाचार

लुका 4:1–15

1तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्‍याइनुभयो। 2त्‍यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो। ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन, र त्‍यो समयको अन्त्‍यमा उहाँ भोकाउनुभएको थियो। 3तब शैतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस्।” 4येशूले जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्‍न सक्दैन।” 5त्यसपछि, शैतानले उहाँलाई उच्‍च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो। 6शैतानले उहाँलाई भन्यो, “म तपाईंलाई यी सबै राज्यहरू र यसको वैभवमाथि शासन गर्ने अधिकार दिनेछु। म यो गर्न सक्छु, किनकि यी सबैमाथि शासन गर्ने अधिकार मलाई दिइएको छ, मैले जसलाई चाहन्छु त्यसलाई दिन सक्छु। 7यसकारण यदि तपाईंले मलाई दण्डवत् गरी आराधना गर्नुभयो भने, यी सबै तपाईंकै हुनेछन्।” 8तर येशूले जवाफ दिनुभयो र त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको मात्र आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू।” 9त्यसपछि शैतानले येशूलाई यरूशलेम मन्‍दिरको उच्‍च स्थानको टुप्‍पामा लगेर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस्। 10किनभने लेखिएको छ, तपाईंको सुरक्षा र वास्ता गर्न ‘उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ।’ 11अनि तिनीहरूले तपाईंलाई हात हातै थाम्‍नेछन्, त्यसकारण तपाईंका खुट्टा ढुङ्गामा ठोकिने छैनन्।” 12येशूले जवाफ दिँदै त्यसलाई भन्‍नुभयो, “यस्तो भनिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको परीक्षा नगर्नू।” 13अनि शैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो। 14त्यसपछि पवित्र आत्माको शक्‍तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो। 15उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे।

सुसमाचार (बिहीबारको निम्ति)

लुका 4:16–22

16एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो। उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्‍त्र पाठ गर्नुभयो। 17उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो। त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो। 18“परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ। उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न, 19र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ।” 20त्यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्‍द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्‍नुभयो। सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्‍यो। 21उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पुरा भएको छ।” 22उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्‍चर्य चकित भए। उनीहरू यसो भन्दै थिए, “के यी मानिस योसेफका छोरा होइनन् र?

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको सेप्टेम्बर 24 नागरिक पात्रोमा अक्टोबर 7 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार