Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › राजाहरू र इतिहास सँगसँगै › शाऊल र दाऊद

राजाहरू र इतिहास सँगसँगै · शाऊल र दाऊद

दाऊदको जनगणना

२ शमूएल 24:1–25 · १ इतिहास 21:1–27

२ शमूएल

२ शमूएल 24:1–25

1फेरि इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध पर्‍यो र उहाँले दाऊदलाई यसो भनेर उत्तेजित गर्नुभयो, “जा, इस्राएल र यहूदाको गणना गर्।”

2राजाले आफूसँग भएका फौजका कमाण्‍डर योआबलाई भने, “दानदेखि बेर्शेबासम्मका इस्राएलका सबै कुलमा जाऊ र सबै मानिसको गणना गर ताकि युद्धको निम्ति योग्य मानिसहरूका जम्माजम्मी सङ्ख्या मलाई थाहा होस्।”

3योआबले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले मानिसहरूका सङ्ख्‍यामा सय गुणा वृद्धि गर्नुभएको होस् र मेरा मालिक महाराजाले यसो भएको आफ्नै आँखाले देखून्। तर मेरा मालिक महाराजालाई यो किन चाहियो?”

4तापनि, योआब र फौजका कमाण्‍डरहरूका विरुद्धमा राजाको बोली नै अन्तिम भयो। त्यसैले योआब र कमाण्‍डरहरू इस्राएलका मानिसहरूको सङ्ख्‍या गणना गर्न राजाको उपस्थितिबाट निस्‍केर गए।

5तिनीहरू यर्दन नदी तरे र बेसीमा सहरको दक्षिणतिर अरोएरनेर छाउनी हाले। अनि तिनीहरू गाददेख याजेरसम्म हिंडे।

6तिनीहरू गिलाद र तातीम-हदोशीमा आए अनि दान-यान र सीदोनको सेरोफेरोसम्म पुगे।

7तिनीहरू टुरोस अनि हिव्वीहरू र कनानीहरूका सबै सहरका किल्‍लासम्म पुगे। अनि तिनीहरू यहूदाको बर्शेबामा भएको नेगेवतिर गए।

8जब तिनीहरू देशमा सबैतिर गए, तब तिनीहरू नौ महिना बिस दिनको अन्तमा यरूशलेममा फर्केर आए।

9त्यसपछि योआबले लडाकु मानिसका जम्‍मा सङ्ख्या राजालाई बताइदिए। इस्राएलमा तरवार चलाउन सक्‍ने साहसी मानिसहरू ८,००,००० थिए र यहूदामा ५,००,००० मानिसहरू थिए।

10दाऊदले गणना गरेपछि तिनको हृदय दुःखी भयो। त्यसैले तिनले परमप्रभुलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु। अब हे परमप्रभु, आफ्नो सेवकको दोष हटाइदिनुहोस्, किनकि मैले धेरै मूर्ख भएर काम गरेको छु।”

11जब दाऊद बिहान उठे, दाऊदका दर्शी गाद अगमवक्‍ताकहाँ परमेश्‍वरको वचन यसो भनेर आयो,

12“जा र दाऊदलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छ, “म तँलाई तीन वटा विकल्प रोज्‍न दिन्छु। तिमध्ये एउटा रोज।”

13त्यसैले गाद दाऊदकहाँ गए र तिनलाई भने, “तपाईंको देशमा तीन वर्षको अनकाल आउने छ? वा तपाईंका शत्रुहरूले तपाईंलाई खेद्दा तीन महिनासम्म तपाईं भाग्‍नुहुने छ? वा तपाईंको देशमा तीन दिन रुढी हुने छ? मलाई पठाउनुहुनेलाई मैले के जवाफ दिऊँ अब निर्णय गर्नुहोस्।”

14त्यसपछि दाऊदले गादलाई भने, “म ठुलो कष्‍टमा परेको छु। मानिसको हातमा पर्नुभन्दा परमप्रभुको हातमा नै हामी परौं, किनकि उहाँका दयापूर्ण कामहरू धेरै महान् छन्।”

15त्यसैले परमप्रभुले बिहानदेखि तोकिएको समयसम्म इस्राएलमा रुढी पठाउनुभयो र दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे।

16जब स्वर्गदूतले यरूशलेमलाई नाश गर्न आफ्‍नो हात त्‍यता पसारे, तब त्‍यसले ल्याउने हानिको कारणले परमप्रभुले आफ्‍नो मन बदल्नुभयो र उहाँले मानिसहरूलाई नाश पारिरहेका स्वर्गदूतलाई भन्‍नुभयो, “पुग्यो! अब तिम्रो हात थाम।” त्यस बेला स्वर्गदूत यबूसी अरौनाको खलामा खडा भएका थिए।

17अनि जब दाऊदले मानिसहरूलाई आक्रमण गर्ने स्वर्गदूत देखे तब तिनले भने, “मैले पाप गरेको छु, र मैले भ्रष्‍ट किसिमले काम गरेको छु। तर यी भेडाहरू, तिनीहरूले के गरेका छन् र? कृपया, तपाईंको हातले मलाई र मेरो बुबाको परिवारलाई दण्ड दिनुहोस्।”

18अनि त्यस दिन गाद दाऊदकहाँ आए र तिनलाई भने, “माथि जानुहोस् र यबूसी अरौनाको खलामा परमप्रभुको निम्‍ति एउटा वेदी बनाउनुहोस्।”

19जसरी परमप्रभुले गादलाई गर्ने आज्ञा गर्नुभयो, त्‍यसरी नै दाऊद माथि गए।

20अरौनाले बाहिर हेरे र राजा र तिनका सेवकहरू आइरहेको देखे। त्यसैले अरौना बाहिर गएर आफ्‍नो अनुहार भुईंमा घोप्टो पारेर राजालाई दण्डवत् गरे।

21तब अरौनाले भने, “मेरो मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभएको छ?” दाऊदले जवाफ दिए, “तिम्रो खला किन्‍नलाई ताकि म परमप्रभुको निम्ति एउटा वेदी बनाउन सकौं, जसले गर्दा मानिसहरूबाट रुढी हटाइयोस्।”

22अरौनाले दाऊदलाई भने, “ए मेरो मालिक महाराजा, त्‍यो आफ्नैझैं लिनुहोस्। तपाईंको दृष्‍टिमा जे असल छ सो त्‍यसमा गर्नुहोस्। हेर्नुहोस्, होमबलिको निम्ति गोरूहरू अनि दाउराको निम्ति दाइँ गर्ने काठहरू र जुवाहरू छन्।

23यी सबै म अरौनाले मेरो महाराजालाई दिने छु।” तब तिनले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई स्वीकार गर्नुभएको होस्।”

24राजाले अरौनालाई भने, “होइन, मैले मूल्य दिएर किन्‍नमा नै जोड दिन्छु। मलाई कुनै मूल्य नपर्ने कुनै पनि कुरा म परमप्रभुलाई होमबलि चढाउँदिनँ।” त्यसैले दाऊदले खला र गोरुहरूलाई चाँदीका पचास सिक्‍कामा किने।

25दाऊदले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए र त्‍यसमा होमबलि र मेलबलि चढाए। त्यसैले परमप्रभुले देशको निम्‍ति गरिएको प्रार्थनाको जवाफ दिनुभयो र इस्राएलमाथिको रुढी थामियो।

१ इतिहास

१ इतिहास 21:1–27

1इस्राएलको विरुद्ध एउटा दुश्‍मन खडा भयो र आफ्‍ना मानिसहरूको सङ्ख्‍या गन्‍नलाई दाऊदलाई सुर्‍यायो।

2दाऊदले योआब र आफ्‍ना फौजका कमान्डरहरूलाई भने, “जाओ, बेर्शेबादेखि दानसम्‍मका इस्राएलका मानिसहरूको सङ्‍खया गन्‍ती गर र मलाई बताओ, ताकि म तिनीहरूको संख्‍या जान्‍न सकूँ।”

3योआबले भने, “परमप्रभुले आफ्‍ना फौजलाई सय गुणा बढाउनुभएको होस्। तर हे मेरा मालिक राजा, के तिनीहरूले मेरा मालिकको सेवा गर्दैनन् र? इस्राएलमाथि किन दोष ल्‍याउनुहुन्‍छ?”

4तर राजाको वचन योआबको विरुद्धमा लागू भयो। त्यसैले योआब त्यहाँबाट हिंडे र सारा इस्राएलभरी गए। तब तिनी यरूशलेममा फर्केर आए।

5त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए। इस्राएलमा तरवार चलाउन सक्‍नेहरू इस्राएलमा ११ लाख थिए। यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए।

6तर लेवी र बेन्‍यामीनलाई तिनीहरूसँग गन्‍ती गरिएन, किनकि राजाको हुकुमले योआबलाई साह्रै खिन्‍न पारेको थियो।

7यो कामबाट परमेश्‍वर अप्रसन्‍न हुनुभयो, अनि उहाँले इस्राएललाई आक्रमण गर्नुभयो।

8दाऊदले परमेश्‍वरलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु। अब आफ्‍नो दासको दोषलाई हटाउनुहोस्, किनकि मैले धेरै मूर्खतापूर्ण काम गरेको छु।”

9परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्‍नुभयो,

10“गएर दाऊदलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छः तँलाई म तिनवटा कुरा रोज्‍न दिन्‍छु। तिमध्ये एउटा रोज।’”

11यसैले गाद दाऊदकहाँ गए र तिनलाई भने, “परमप्रभु यही भन्‍नुहुन्‍छ, ‘यिमध्ये एउटा रोज:

12तिन वर्षसम्‍मको अनिकालको कुरा, वा तेरा शत्रुहरूले तीन महिनासम्‍म खेद्‍ने र उनीहरूका तरवारले मारिने कुरा, वा तिन दिनको लागि परमप्रभुको तरवार, अर्थात् परमप्रभुका दूतले इस्राएलका सम्‍पूर्ण ठाउँमा विनाश ल्‍याउने एउटा विपत्तिको कुरा।’ त्‍यसो हो भने, मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्ने हो सो अब निर्णय गर्नुहोस्।”

13तब दाऊदले गादलाई भने, “म साह्रै सङ्कष्‍टमा परेको छु! मानिसको हातमा पर्नुभन्दा मलाई परमप्रभुको हातमा नै पर्न देऊ, किनकि उहाँका करुणामय कामहरू धेरै महान् छन्।”

14त्यसैले परमप्रभुले इस्राएलमा एउटा विपत्ति पठाउनुभयो, र सत्तरी हजार मानिसहरू मरे।

15परमेश्‍वरले यरूशलेम विनाश गर्न एउटा स्‍वर्गदूत पठाउनुभयो। तिनले त्‍यो नाश गर्न लाग्‍दा परमप्रभुले त्‍यो देखेर त्‍यस सर्वनाशदेखि मन बदल्‍नुभयो। ती नाश गर्ने स्‍वर्गदूतलाई उहाँले भन्‍नुभयो, “अब भयो! तिम्रो हात थाम।” त्‍यस बेला ती स्‍वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए।

16दाऊदले मास्‍तिर हेरे र परमप्रभुका स्‍वर्गदूतले आफ्‍नो हातमा नाङ्गो तरवार लिएर यरूशलेममाथि ताकेर आकाश र पृथ्‍वीका बीचमा खडा भएको देखे। तब भाङ्‌ग्रा लागाएका दाऊद र धर्म-गुरुहरू भूइँमा घोप्‍टो परे।

17दाऊदले परमेश्‍वरलाई भने, “सेनाको गन्‍ती गर् भनेर हुकुम दिने म होइनँ र? मैले यो दुष्‍ट काम गरें। तर बिचरा यी भेडाहरूले के नै पो गरेका छन् र? हे परमप्रभु मेरा परमेश्‍वर!, तपाईंको हातले म र मेरो घरानालाई प्रहार गरोस्, तर तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नरहोस्।”

18यसैले दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन भन् भनी परमप्रभुका स्वर्गदूतले गादलाई भने।

19यसैले परमप्रभुको नाउँमा गादले हुकुम गरेझैं गर्नलाइ दाऊद त्‍यहाँ उक्‍लेर गए।

20अरौनाले आफ्‍नो गहूँ चुट्दै गरेका समयमा, तिनी पछि फर्के, र स्‍वर्गदूतलाई देखे। तिनी र तिनका चार जना छोराहरू आफूलाई लुकाए।

21दाऊद अरौनाकहाँ आउँदा, अरौनाले हेरे र दाऊदलाई देखे। तिनी खलाबाट बाहिर आए र आफ्‍नो अनुहार भुइँमा घोप्‍टो पारेर दाऊदको अघि घुँडा टेके।

22तब दाऊदले अरौनालाई भने, “मलाई यो खला बेच ताकि यहाँ म परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन सकूँ। म पुरै दाम तिर्नेछु, ताकि मानिसहरूबाट यो विपत्ति हटिजाओस्।”

23अरौनाले दाऊदलाई भने, “त्‍यो तपाईंको आफ्नै ठानेर लिनुहोस्, मेरा मालिक महाराजा। हजुरो नजरमा जस्तो असल लाग्छ सो त्‍यहाँ गर्नुहोस्। हेर्नुहोस्, म तपाईंलाई होमबलिको निम्‍ति गोरुहरू, दाउराको निम्‍ति काठहरू र अन्‍नबलिको निम्‍ति गहूँ दिन्छु। यो सबै थोक म तपाईंलाई दिनेछु।”

24दाऊद राजाले औरानलाई भने, “होइन, पुरै दाम तिरेर नै म यसलाई किन्छु। तिम्रो जे छ त्‍यो लिने अनि मेरो दाम नपरी त्‍यो सित्तैंमा परमप्रभुलाई होमबलीको रूपमा चढाउने काम म गर्दिन।”

25यसैले त्‍यस जग्‍गाको निम्‍ति दाऊदले अरौनालाई छ सय सुनका सिक्‍का तिरे।

26दाऊदले त्‍यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाए र त्‍यसमाथि होमबलि र मेलबलि चढाए। तिनले परमप्रभुमा पुकारा गरे, जसले तिनलाई स्‍वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो।

27तब परमप्रभुले त्‍यो स्‍वर्गदूतलाई आज्ञा दिनुभयो र स्‍वर्गदूतले आफ्नो तरवारलाई त्‍यसको म्‍यानमा राखे।

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार