ULB · अध्याय 4 / 22
प्रकाश 4
1यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ। मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु।”
2एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो।
3त्यसमाथि बस्नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो। सिंहासनको वरिपरि इन्द्रेणी थियो। त्यो इन्द्रेणी मोती जस्तो चम्किलो देखिन्थ्यो।
4त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्त्र पहिरिएर बसेका थिए।
5सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्ट भए। सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए। ती बत्तीहरूचाहिँ परमेश्वरका सात आत्मा थिए।
6सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो। सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए।
7पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो।
8चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए। दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् परमप्रभु परमेश्वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे।
9जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदासर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिए,
10चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे। तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने,
11“हाम्रा परमप्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्न योग्यका हुनुहुन्छ। किनकि तपाईंले सबै थोक सृष्टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्टि भए।”
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org