ULB · अध्याय 3 / 4
फिलिप्पी 3
1अन्त्यमा मेरा भाइहरू हो, परमप्रभुमा आनन्द गर। तिमीहरूलाई बारम्बार एउटै कुरा लेखिरहनु मेरो निम्ति झर्कोलाग्दो कुरो होइन। यी कुराहरूहरूले तिमीहरूलाई सुरक्षित राख्नेछन्।
2कुकुरहरूदेखि होसियार रहो। खराब काम गर्नेहरूदेखि होसियार रहो। अङ्ग कटाइ गर्नेहरूदेखि होसियार रहो।
3किनकि खतना हामीहरू नै हौँ। हामीहरू नै परमेश्वरका आत्माद्वारा आराधना गर्दछौँ। हामीहरू नै ख्रीष्ट येशूमा गर्व गर्दछौँ, र शरीरमा कुनै भरोसा राख्दैनौँ।
4यद्यपि, म आफैँले शरीरमा भरोसा राख्न सक्थे। यदि कसैले आफ्नो शरीरमा भरोसा राख्ने विचार गर्छ भने, त्योभन्दा बढी म गर्न सक्छु।
5मेरो आठौँ दिनमा खतना गराइएको थियो, म इस्राएलका मानिसहरूमध्ये एक, बेन्यामीन कुलमा जन्मेको, हिब्रूहरूका हिब्रू हुँ; व्यवस्थाको विषयमा चाहिँ, एक फरिसी।
6मैले जोसिलो रूपमा मण्डलीलाई सताएँ। व्यवस्थाको धार्मिकताको विषयमा चाहिँ म दोषरहित थिएँ।
7तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्टको खातिर मैले हानि नै सम्झेको छु।
8वास्तवमा, मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको कारण अब म सबै कुराहरूलाई हानि नै सम्झन्छु। उहाँको निम्ति मैले सबै कुराहरूलाई त्यागेको छु। मैले ती कुराहरूलाई काम नलाग्ने ठान्दछु ताकि मैले ख्रीष्टलाई हासिल गर्न सकूँ,
9र उहाँमा स्थापित हुन सकूँ। व्यवस्थाबाट मैले आफैँले प्राप्त गरेको धार्मिकता मसँग छैन। बरु, ख्रीष्ट येशूमा विश्वासद्वारा प्राप्त गरेको धार्मिकता मसँग छ, जुन धार्मिकता विश्वासमा आधारित परमेश्वरबाट मैले प्राप्त गरेको हुँ।
10यसैकारण, अब म उहाँ र उहाँको पुनरुत्थानको शक्तिलाई जान्न चाहन्छु र उहाँका कष्टहरूमा सहभागी हुन चाहन्छु। उहाँको मृत्युको समरूपतामा म बद्लिन चाहन्छु,
11ताकि मैले मरेकाहरूबाटको पुनरुत्थानको कुनै किसिमले अनुभव गर्न सकूँ।
12मैले यी सबै कुराहरू प्राप्त गरिसकेको छु, वा म पूर्ण भइसकेको छु भन्ने कुरा साँचो होइन। तर जे कुराको निम्ति म ख्रीष्टद्वारा चुनिएको थिएँ, ती मैले पक्रन सकूँ भनेर म जोड दिन्छु।
13भाइहरू हो, मैले यी सबै कुराहरू पक्रिसकेको छु भनी म ठान्दिनँ। तर एउटा कुराचाहिँ मैले पक्रन सकेकेछुः म पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूका निम्ति परिश्रम गर्दछु।
14म ख्रीष्ट येशूमा परमेश्वरको माथिल्लो बोलावटको इनाम जित्ने लक्ष्यतर्फ अगाडि बढ्नमा जोड दिन्छु।
15यसकारण, हामी परिपक्व भएकाहरू सबैले यसरी विचार गरौँ। यदि तिमीहरूले कुनै कुरालाई भिन्न प्रकारले विचार गर्दछौ भने परमेश्वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ।
16तथापि, हामीले जे प्राप्त गरिसकेका छौँ, हामी त्यसमा अडिग रहौँ।
17भाइहरू हो, मेरो अनुकरण गर्नेहरू होओ। हामीमा तिमीहरूले पाएका उदाहरणअनुसार हिँड्नेहरूलाई ध्यान दिएर हेर।
18ती धेरै व्यक्तिहरू जसको विषयमा मैले तिमीहरूलाई बारम्बार बताएको थिएँ, र अहिले आँसुका साथ म बताउँदै छु, कि तिनीहरू ख्रीष्टको क्रुसका शत्रुहरूझैँ हिँडिरहेका छन्।
19तिनीहरूको नतिजा विनाश हो। किनकि तिनीहरूको ईश्वर तिनीहरूको पेट हो, र तिनीहरूको शर्ममा तिनीहरूको घमण्ड छ। तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्दछन्।
20तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी मुक्तिदाता प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर्दछौँ।
21उहाँले हाम्रो क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ, जुन शरीर सबै कुराहरू उहाँको अधीनमा ल्याउनको निम्ति उहाँको शक्तिद्वारा बनाइएको छ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org