ULB · अध्याय 1 / 3
योएल 1
1पतुएलका छोरा योएलकहाँ आएको परमप्रभु वचन यही हो।
2ए धर्मगुरुहरू हो, यो कुरा सुन, र ए देशका सबै बासिन्दाहरू हो ध्यानसँग सुन। तिमीहरूका दिनमा वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको छ?
3यसको विषयमा आफ्ना छोराछोरीलाई भन, र तिमीहरूका छोराछोरीले आफ्ना छोराछोरीलाई भनून्, र तिनीहरूका छोराछोरीले अर्को पुस्तालाई भनून्।
4बथानमा हिंड्ने सलहहरूले जे बाँकी छोडेका छन्, ती ठुला सलहले खाएका छन्, ठुला सलहले जे बाँकी छोडेका छन् ती फट्याङ्ग्राले खाएका छन्, र फट्याङ्ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्किराले खाएका छन्।
5ए मद्यले मातेकाहरू हो, उठ र रोओ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको छ।
6किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्ती छ। त्यसका दाँत सिंहका दाँतझैं छन्, र त्यसका दाह्रा सिंहनीका झैं छन्।
7त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ। त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन्।
8आफ्नो भर्खरको पतिको मृत्यु भएर भाङ्ग्रा लगाएकी कन्या केटीले झैं विलाप गर।
9परमप्रभुको मन्दिरबाट अन्नबलि र अर्घबलि हटाइएका छन्। परमप्रभुको सेवा गर्ने पुजारीहरू विलाप गर्छन्।
10खेतहरू सखाप पारिएका छन्, र अन्नहरू नष्ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ। नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन।
11ए किसानहरू हो, लज्जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर। किनभने भूमिको उब्जनी नष्ट भएको छ। गहुँ र जौका बढिरहेका छैनन्।
12दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनार बोटहरू, खजूर बोटहरू र स्याउको बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन्। किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको छ।
13ए पुजारीहरू हो, भाङ्ग्रा लगाओ र विलाप गर! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर। ए मेरा परमेश्वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्ग्रा लगाएर बस। किनभने तिमीहरूका परमेश्वरको मन्दिरबाट अन्नबलि र अर्घबलि हटाइएका छन्।
14पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्हान गर। परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार।
15हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ। त्योसँगै सर्वशक्तिमान्बाट विनाश आउनेछ।
16के हाम्रै आँखाका सामु खानेकुरा, अनि हाम्रा परमेश्वरको मन्दिरबाट आनन्द र रमाहट रोकिएको छैन र?
17माटोका डल्लामुनि बीउहरू सडे, भण्डारहरू उजाड भए, र अन्नका भकारीहरू भत्काइए, किनकि अन्न सुकेको छ।
18पशुहरू कसरी विलाप् गर्छन्! पाल्तु पशुका बथानहरूले कष्ट भोग्दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन। साथै, भेडाका बगालहरू पनि कष्ट भोग्दैछन्।
19हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु। किनकि उजाड-स्थानका खर्कहरूलाई आगोले भस्म पारेका छ, र खेतका सबै रूखहरूलाई आगोले जलाएको छ।
20जमिनका पशुहरू पनि तपाईंका निम्ति तड्पिन्छन्, किनकि पानीका खोलाहरू सुकेका छन्, र उजाड-स्थानका खर्कहरूलाई आगोले भस्म पारेको छ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org