Bible Explorer एप लिनुहोस्

बाइबल › यर्मिया › 13

ULB · अध्याय 13 / 52

यर्मिया 13

1परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा र एउटा सुतीको पटुका किन्, र यसलाई तेरो कम्मरको चारैतिर बाँध, तर त्यसलाई पहिले पानीमा नभिजा।”

2परमप्रभुले निर्देशन दिनुभएझैं मैले एउटा पटुका किनें र त्यसलाई मेरो कम्मरको चारैतिर बह्रें।

3तब दोस्रो पटक परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

4“तैंले किनेको पटुका जुन तेरो कम्मरको चारैतिर बाँधिएको छ, त्यसलाई निकाल्, र उठ र परातमा जा। त्यहाँ चट्टानको धाँदोमा त्यसलाई लुका।”

5त्यसैले जसरी परमप्रभुले मलाई आज्ञा दिनुभएको थियो त्‍यसरी नै म गएँ र त्यसलाई परातमा लुकाएँ।

6धेरै दिनपछि परमप्रभुले मलाई भन्‍नुभयो, “खडा हो र परातमा फर्केर जा। मैले तँलाई लुकाउन भनेको त्यो पटुका लिएर आइज।”

7त्यसैले म परातमा फर्केर गएँ, र मैले लुकाएको ठाउँबाट त्यसलाई खनेर झिकेँ, र हेर, त्‍यो त नष्‍ट भएको र पूर्ण रूपमा बेकम्मा भएको थियो।

8तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

9“परमप्रभु यसो भन्‍नुहुन्छ, 'त्यसरी नै यहूदा र यरूशलेमको ठुलो अहंकारलाई म नाश गर्नेछु।

10मेरो वचन सुन्‍न इन्कार गर्ने, आफ्नो हृदयको कठोरतामा हिंड्ने, अरू देवताहरूको पुजा गर्न तिनीहरूका पछि जाने र तिनीहरूको सामु निहुरने यो दुष्‍ट जाति त्यही पटुकाजस्तै हुनेछ, जसको कुनै काम छैन।

11जसरी एउटा पटुका कसैको कम्मरमा कसिएको हुन्छ, त्यसरी नै मैले इस्राएलका सबै घराना र यहूदाका सबै घरानालाई मेरो जाति हुन, मेरो नाउँ राख्‍न, मलाई इज्‍जत, प्रशंसा र आदर गर्न ममा कसिन लगाएको छु, यो परमप्रभुको घोषणा हो। तर तिनीहरूले मेरो कुरा सुन्दैनन्।

12त्यसैले तैंले यो वचन तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हरेक मशक दाखमद्यले भरिनेछ।' तिनीहरूले तँलाई भन्‍नेछन्, 'हरेक मशक दाखमद्यले भरिनेछ भनेर के हामीलाई थाहा छैन र?'

13त्यसैले तिनीहरूलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर, यस देशको हरेक बासिन्दा अर्थात् दाऊदको सिंहासनमा बस्‍ने राजाहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका सबै बासिन्दालाई मैले पियक्‍कडपनले भर्न लागेको छु।

14तब प्रत्‍येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीका विरुद्धमा नष्‍ट पार्न लगाउनेछु, यो परमप्रभुको घोषणा हो, म तिनीहरूलाई दया देखाउने वा टिठ्यानेछैनँ, र तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ।'

15सुन, र ध्यान देओ। अहङ्कारी नहोओ, किनकि परमप्रभुले बोल्नुभएको थियो।

16परमप्रभु तिमीहरूका परमेश्‍वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ। किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ।

17त्यसैले तिमीहरूले सुनेनौ भने, तिमीहरूको अहङ्कारको कारणले म एक्लै रुनेछु। निश्‍चय नै म रुनेछु, र मेरा आँखाबाट आँसुका धारा बग्‍नेछ, किनकि परमप्रभुको बगाल कैदमा लगिएको छ।

18“राजा र राजमातालाई भन्, 'आ-आफ्नो सिंहासनबाट ओर्लेर तल आओ, किनकि तिमीहरूका गौरवशाली मुकुटहरू तिमीहरूका शिरबाट खसेका छन्।'

19नेगेवका सहरहरू थुनिने छन्। तिनलाई खोल्ने कोही हुनेछैन। सारा यहूदा कैदमा लगिनेछन्। पूर्ण रूपमा कैदमा लगिनेछन्।

20आफ्ना आँखा उठाओ र उत्तरबाट आइरहेकाहरूलाई हेर्। उहाँले तँलाई दिनुभएको बगाल, तेरो लागि साह्रै सुन्दर बगाल कहाँ छ?

21तैंले तालिम दिएकाहरूलाई नै तेरा खास मित्रहरू हुन परमेश्‍वरले तँमाथि राख्‍नुहुँदा तैंले के भन्‍नेछस्? के यी एउटी स्‍त्रीले प्रसव-वेदनामा पीडा भोगेजस्तै तैंले भोग्‍ने पीडाको थालनी होइन र?

22तब तैंले आफ्नो हृदयमा भन्लास्, 'यी कुरा ममाथि किन आइरहेका छन्?' तेरा अपराधको थुप्रोको कारणले तेरो फरिया उचालिएको छ, र तँलाई कुव्यवहार गरिएको छ।

23के कूशका मानिसहरूले आफ्‍नो छालाको रङ बद्लन सक्छन् र, वा चितुवाले आफ्नो छालाको थोप्ला बद्लन सक्छ र? त्यसो हो भने, दुष्‍टताको निम्ति बानी परेको तैंले पनि भलाइ गर्न सक्छस्।

24मरुभूमिको बतासमा उडाइने भुसजस्तै म तिनीहरूलाई तितर-बितर पार्नेछु।

25मैले तँलाई यही कुरा दिएको छु, तेरो निम्‍ति मैले आदेश दिएको हिस्सा यही हो, यो परमप्रभुको घोषणा हो, किनकि तैंले मलाई भुलेको छस् र छलमाथि भरोसा गरेको छस्।

26त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्‍ताङ्‍ग देखिनेछ।

27मैले तेरो व्यभिचार, हिनहिनाइ, डाँडाहरू र मैदानहरूमा भएको तेरो वेश्यावृत्तिको दुष्‍टता देखेको छु, र यी घृणित कुराहरू मैले देखेको छु। ए यरूशलेम, तँलाई धिक्‍कार! तँलाई फेरि शुद्ध हुन कति समय लाग्‍नेछ?”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org