ULB · अध्याय 27 / 52
यर्मिया 27
1यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको सुरुमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो।
2परमप्रभुले मलाई यसो भन्नुभयो, “आफ्नो निम्ति डोरीहरू र एउटा जुवा बना। ती तेरो घाँटीमा बाँध्।
3तब तिनलाई एदोमका राजा, मोआबका राजा, अम्मोनका मानिसहरूका राजा, टुरोसका राजा र सीदोनका राजाकहाँ पठा। यहूदाका राजा सिदकियाहकहाँ यरूशलेममा आउने ती राजाहरूका दूतहरूको हातद्वारा ती पठा।
4तिनीहरूका मालिकहरूका लागि तिनीहरूलाई आज्ञा दे र यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूले आ-आफ्ना मालिकहरूलाई यसो भन्नुपर्छ,
5'मेरो महाशक्ति र पसारिएको पाखुराद्वारा म आफैले पृथ्वी बनाएँ। मैले पृथ्वीका मानिसहरू र जनावरहरू पनि बनाएँ, र मेरो दृष्टिमा ठिक लागेको जोकसैलाई म यो सुम्पिदिन्छु।
6त्यसैले अब म आफैले यी सबै देश मेरो दास, बेबिलोनका राजा नबूकदनेसरको हातमा दिंदैछु। साथै, त्यसको सेवा गर्नलाई जमिनका जीवित प्राणीहरू पनि म त्यसलाई दिंदैछु।
7किनकि उसको देशको निम्ति समय नआएसम्म सबै जातिले ऊ, उसको छोरो र उसको नातिको सेवा गर्नेछन्। त्यसपछि धेरै जातिहरू र महान् राजाहरूले त्यसलाई अधीन गर्नेछन्।
8त्यसैले बेबिलोनका राजा नबूकदनेसरको सेवा नगर्ने जाति वा राज्य र बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्न नमान्ने जोकसैलाई उसको हातद्वारा त्यो नष्ट नहुञ्जेल म तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, यो परमप्रभुको घोषणा हो।
9त्यसैले 'बेबिलोनका राजाको सेवा नगर्नू' भनेर तिमीहरूसँग बोलिरहने तिमीहरूका अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, भूतप्रेत खेलाउनेहरू र जादुगरी गर्नेहरूको कुरा नसुन्नू।
10तिमीहरूलाई आफ्नो देशबाट टाढा पठाउन भनेर तिनीहरूले तिमीहरूलाई झूटा कुराको अगमवाणी बोल्दैछन्, किनकि म तिमीहरूलाई धपाउनेछु, र तिमीहरू मर्नेछौ।
11तर बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्ने र उसको सेवा गर्ने जातिलाई चाहिं आफ्नै देशमा विश्राम गर्न म दिनेछु, यो परमप्रभुको घोषणा हो, र तिनीहरूले त्यसको खनजोत गर्नेछन्, र त्यहाँ आफ्ना घरहरू बनाउनेछन्'।”
12त्यसैले यहूदाका राजा सिदकियाहसित मैले बोलें र तिनलाई यो सन्देश दिएँ, “आफ्नो काँधमा बेबिलोनका राजाको जुवा थाप र ऊ र उसका मानिसहरूको सेवा गर, अनि तिमी बाँच्नेछौ।
13तिमी किन मर्ने—तिमी र तिम्रा मानिसहरू तरवार, अनिकाल र विपत्तिले किन मर्ने, जसरी बेबिलोनका राजाको सेवा गर्न इन्कार गर्ने जातिको विषयमा मैले घोषणा गरेको छु?
14ती अगमवक्ताहरूको वचन नसुन जसले तिमीसित बोल्छन् र यसो भन्छन्, 'बेबिलोनका राजाको सेवा नगर,' किनकि तिनीहरूले तिमीलाई झूटो कुराको अगमवाणी बोल्दैछन्।
15‘किनकि यो परमप्रभुको घोषणा हो, मैले तिनीहरूलाई पठाएको छैनँ, किनकि तिनीहरूले मेरो नाउँमा झूटा कुरो अगमवाणी बोल्दैछन् जसको कारणले म तँलाई धपाउनेछु, अनि तिमी र तिम्रो निम्ति अगमवाणी बोलिरहने अगमवक्ताहरू दुवै मर्नेछौ'।”
16मैले पुजारीहरू र सबै मानिसहरूलाई यो कुरा घोषणा गरें र यसो भनें, “परमप्रभु यसो भन्नुहुन्छः तिमीहरूका अगमवक्ताहरूको वचन नसुन जसले तिमीहरूका निम्ति अगमवाणी बोल्छन् र यसो भन्छन्, 'हेर, परमप्रभुको मन्दिरका सामानहरू अहिले बेबिलोनबाट फर्काइँदैछन्।' तिनीहरूले तिमीहरूलाई झूटो कुरा अगमवाणी बोल्दै छन्।
17तिनीहरूको कुरा नसुन्नू। तिमीहरूले बेबिलोनका राजाको सेवा गर्नुपर्छ र बाँच्नुपर्छ। यो सहर किन भग्नावशेष हुने?
18तिनीहरू अगमवक्ताहरू हुन्, र परमप्रभुको वचन तिनीहरूकहाँ साँच्चै आएको हो भने, यस मन्दिर, यहूदाका राजाको महल र यरूशलेमका सामानहरू बेबिलोनमा नलान भनेर तिनीहरूले सर्वशक्तिमान् परमप्रभुलाई बिन्ती चढाऊन्।
19स्तम्भहरू, 'खँड्कुलो' भनेर चिनिने विशाल बाटा र यसको आधार अनि यस सहरमा बाँकी रहेका सामानहरूका बबारेमा सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ—
20अर्थात् बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीनका साथमा यहूदा र यरूशलेका सबै कुलीनहरूलाई यरूशलेमबाट कैद गरेर बेबिलोनमा लैजाँदा तिनले नलगेका समानहरू।
21परमप्रभुको मन्दिर, यहूदाका राजाको महल र यरूशलेममा बाँकी रहेका सामानहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ,
22'ती बेबिलोनमा लगिनेछन्, र ती फर्काइने दिन नआएसम्म ती त्यहीँ नै रहनेछन्, यो परमप्रभुको घोषणा हो। त्यसपछि म तिनलाई ल्याउनेछु, र तिनलाई यस ठाउँमा पुनर्स्थापित गराउनेछु'।”
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org