Bible Explorer एप लिनुहोस्

बाइबल › एस्तर › 9

ULB · अध्याय 9 / 10

एस्तर 9

1बाह्रौँ महिना अर्थात् अदार महिनाको तेह्रौँ दिनमा राजाको कानुन र आदेशलाई कार्यान्वयन गर्ने दिन, यहूदीहरूका शत्रुहरूले तिनीहरूमाथि शक्ति जमाउनलाई आशा गरेको दिन जब आयो, परिणाम उल्‍टो भयो। यहूदीहरूले आफूलाई घृणा गर्नेहरूमाथि शक्ति पाए।

2यहूदीहरूमाथि विपत्ती ल्याउन कोसिस गर्नेहरूलाई आक्रमण गर्न राजा अहासूरसका सबै प्रान्तभरि नै तिनीहरूका आ-आफ्ना सहरहरूमा तिनीहरू भेला। तिनीहरूको विरुद्धमा कोही खडा हुन सकेन, किनकि सबै मानिसमाथि तिनीहरूको डर परेको थियो।

3सबै प्रान्तका अधिकारीहरू, प्रान्तीय गभर्नरहरू, सथानीय गभर्नरहरू र राजाका प्रशासकहरूले यहूदीहरूलाई मदत गरे किनकि तिनीहरूमाथि मोर्दकैको डर परेको थियो।

4मोर्दकै राजदरबारमा महान् मानिस थिए, अनि तिनको ख्याति सबै प्रान्तभरि फैलियो किनकि यी मानिस मोर्दकै झनझन महान् बन्दै थिए।

5यहूदीहरूले आफ्ना शत्रुहरूलाई तरवारले आक्रमण गरेर मारे र विनाश गरे अनि आफूलाई घृणा गर्नेहरूलाई आफ्नो इच्छाअनुसार गरे।

6शूशनको किल्लामा मात्रै यहूदीहरूले पाँच सय जना मानिसलाई मारेर नष्‍ट पारे।

7तिनीहरूले पर्शन्‍दाता, दल्‍फोन, अस्‍पाता,

8पोराता, अदलिया, अरीदाता,

9पर्मशता, अरीशै, अरीदै र बैजाता,

10र हम्मदाताको छोरा यहूदीहरूका शत्रु हामानका दस जना छोरालाई मारे। तर तिनीहरूले कुनै कुरा पनि लुटेर लिएनन्।

11त्यो दिन शूशनको किल्लामा मारिएकाहरूको सङ्ख्याको विवरण राजालाई दिइयो।

12राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले हामानका दस छोरासहित शूशनको किल्लामा पाँच सय मानिसलाई मारेका छन्। तब राजाका बाँकी प्रान्तहरूमा तिनीहरूले झन् के गरेका होलान्? अब तिम्रो बिन्ती के हो? त्‍यो तिमीलाई दिइनेछ। तिम्रो अनुरोध के हो? त्‍यो तिमीलाई दिइनेछ।”

13एस्तरले भनिन्, “राजालाई खुसी लागेमा शूशनमा भएका यहूदीहरूलाई आजको आदेश भोलीको निम्ति पनि कार्यान्वयन गर्न अनुमति दिइयोस् र हामानका दसै जना छोराका लाशलाई फाँसीको काठमा झुण्ड्याइयोस्।”

14त्यसैले राजाले त्यसै गरियोस् भनी आज्ञा दिए। शूशनमा एउटा आदेश निकालियो, र तिनीहरूले हामानका दसै जना छोरालाई झुण्ड्याए।

15अदार महिनाको चौधौँ दिनमा शूशनमा भएका यहूदीहरू एकै ठाउँमा भेला भए, र शूशनमा थप तिन सय जना मानिसलाई मारे, तर तिनीहरूले लुटपाटमा हात हालेनन्।

16राजाका प्रान्तहरूमा भएका बाँकी यहूदीहरू आफ्‍नो ज्यान जोगाउन एकै ठाउँमा भेला भए, र तिनीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाए, अनि आफूलाई घृणा गर्ने पचहत्तर हजार मानिसलाई मारे, तर आफूले मारेका मनिसहरूका मुल्‍यवान थोकहरूमा भने तिनीहरूले आफ्‍ना हात लगाएनन्।

17यो अदार महिनाको तेह्रौँ दिनमा भएको थियो। चौधौँ दिनमा तिनीहरूले विश्राम लिए, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए।

18तर शूशनमा भएका यहूदीहरूचाहिँ तेह्रौँ र चौधौँ दिनमा एकसाथ भेला भए। पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए।

19त्यसकारण दुर्गम गाउँहरूतिर घर बनाएका यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई हर्ष र चाडको एउटा दिन अनि एक-अर्कालाई खानेकुराका उपहारहरू पठाउने दिनको रूपमा मान्छन्।

20मोर्दकैले यी कुराहरूका विवरण गरे, अनि राजा अहासूरसका टाढा र नजिकका सबै प्रान्तमा भएका सबै यहूदीलाई चिट्ठीहरू पठाए,

21जसमा हरेक वर्ष अदार महिनाको चौधौँ र पन्ध्रौ दिनलाई तिनीहरूले अनिवार्य मान्‍नुपर्ने गराए।

22यी दिनमा नै यहूदीहरूले आफ्‍ना शत्रुहरूबाट छुटकारा पाए, र यही महिनामा नै तिनीहरूको दुःख आनन्दमा र शोक उत्सवमा परिणत भएको थियो। ति दिनलाई तिनीहरूले चाड र हर्षका दिनको रूपमा मनाउनुपर्ने अनि एक-अर्कालाई र गरिबहरूलाई खनेकुरा उपहार पठाउनुपर्ने भनी स्‍थापित गरियो।

23त्यसैले मोर्दकैले तिनीहरूलाई जे लेखेका थिए त्‍यो गरेर यहूदीहरूले थालनी गरेका उत्सवलाई तिनीहरूले निरन्तरता दिए।

24त्यस बेला सारा यहूदीका शत्रु अगागी हम्मदाताको छोरा हामानले, यहूदीहरूलाई नष्‍ट गर्न तिनीहरूको विरुद्धमा षड्यन्त्र रचेको थियो, र तिनीहरूलाई थिचोमिचो गर्न र नाश पार्न उसले ‘पुर’ अर्थात् चिट्ठा हाल्‍यो।

25तर जब त्यो कुरो राजाको सामु पुग्यो, तब यहूदीहरूको विरुद्धमा हामानले रचेको दुष्‍ट योजना त्यसकै थाप्लोमा परोस् अनि ऊ र उसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनी राजाले चिट्ठीहरू लेखेर आदेश दिए।

26त्यसकारण तिनीहरूले यी दिनलाई “पूरीम” भने जुन “पूर” नामबाट आएको थियो। यस पत्रमा लेखिएको र तिनीहरूले देखेका र तिनीहरूमाथि आइपरेका हरेक कुराको कारणले गर्दा,

27यहूदीहरूले नयाँ चलन र कर्तव्यलाई स्वीकार गरे। यो चलन तिनीहरू, तिनीहरूका सन्तानहरू र तिनीहरूसँग मिल्ने हरेकको लागि थियो। हरेक वर्ष तिनीहरूले यी दुई दिनको उत्सव मनाउनुपर्ने भयो। हरेक वर्ष उही समयमा तिनीहरूले विशेष तवरले यो चाड मान्‍नुपर्ने भयो।

28हरेक पुस्ता, हरेक परिवार, हरेक प्रान्त र हरेक सहरमा यी दिनमा उत्सव मनाउनुपर्ने र पालन गर्नुपर्ने भयो। पूरीमका यी दिनहरूलाई यहूदीहरूले कहिल्यै नबिर्सून् भनेर तिनीहरू र तिनका सन्तानहरूले विश्‍वस्ततासाथ यो उत्सव मान्‍न कहिल्यै पनि छोड्‍दैनन्।

29अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले पुरा अधिकारसाथ लेखे र पूरीमको बारेमा यो दोस्रो चिट्ठीले पुष्‍टि गरे।

30यहूदीहरूको सुरक्षा र सत्यताको कामना गर्दै चिट्ठीहरू अहासूरसका राज्यका एक सय सत्ताइसवटै प्रान्तका सबै यहूदीहरूकहाँ पठाइए।

31यहूदी मोर्दकै र रानी एस्तरले यहूदीहरूलाई आज्ञा दिएझैँ तिनीहरूको तोकिएको समयमा पूरीमका यी दिन मान्‍न चिट्ठीहरूले निश्‍चयता दिए। यहूदीहरूले उपवास र विलापको समयलाई स्वीकार गरेझैँ तिनीहरूले आफू र आफ्ना सन्तानहरूका लागि यस कर्तव्यलाई पनि स्वीकार गरे।

32एस्तरको आज्ञाले पूरीमको सम्बन्धमा यी नियमहरूलाई पक्‍का गर्‍यो, र यसलाई पुस्तकमा लेखियो।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org