ULB · अध्याय 8 / 24
२ शमूएल 8
1यसपछि यस्तो भयो, दाऊदले पलिश्तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई परास्त गरे। त्यसैले दाऊदले मेथेग आमाहलाई पलिश्तीहरूको अधीनबाट लिए।
2त्यसपछि तिनले मोआबलाई परास्त गरे र तिनीहरूका मानिसहरूलाई मैदानमा सुताएर एउटा डोरीले नापे। तिनले दुई नापभित्र पर्नेहरूलाई मारे र अर्को एक नापमा पर्नेहरूलाई जीवित राखे। त्यसैले मआबीहरू दाऊदका नोकरहरू भए र तिनलाई कर तिर्न थाले।
3त्यसपछि सोबाका राजा रहोबका छोरा हददेजेरले यूफ्रेटिस नदीनेर आफ्नो शासन पुनर्स्थापना गर्नलाई यात्रा गरिरहँदा दाऊदले तिनलाई परास्त गरे।
4दाऊदले तिनीबाट १,७०० रथहरू र बिस हजार पैदल सिपाही कब्जा गरे। दाऊदले सबै रथ तान्ने घोडाहरूको ढोडनसा काटिदिए, तर आफूलाई एक सय रथहरू मात्र राखे।
5जब दमसकसका आरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्न आए, तब दाऊदले बाइस हजार आरामी पुरुषलाई मारे।
6तब दाऊदले दमसकसको आराममा छाउनी राखे र आरामीहरू तिनका नोकरहरू भए र तिनलाई कर ल्याए। दाऊद जहाँजहाँ गए, त्यहाँत्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो।
7दाऊद हददेजेरका सेवकहरूसँग भएका सुनका ढालहरू लिए र ती यरूशलेममा ल्याए।
8हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दाऊदले धेरै काँसा ल्याए।
9दाऊदले हददेजेरका फौजलाई दाऊदले परास्त गरेका थिए भनी जब हमातका राजा तोऊ सुने,
10तब तोऊले दाऊदलाई अभिवादन गर्न र आशिष् दिन आफ्नो छोरा योरामलाई पठाए, किनभने दाऊदले हददेजेरसँग युद्ध गरेका र तिनलाई पराजित गरेका थिए, किनभने हददेजेरले तोऊ विरुद्ध युद्ध गरेका थिए। योरामले आफ्नो साथमा सुन, चाँदी र काँसाका सामानहरू ल्याए।
11राजा दाऊदले यी सामानहरू साथै तिनले कब्जा गरेका सबै जातिबाट लिएका चाँदी र सुनलाई परमप्रभुको निम्ति अलग गरे,
12ती आराम, मोआब, अम्मोनका मानिसहरू, पलिश्तीहरू, र अमालेक साथै सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका सामानहरू पनि।
13दाऊदले नुनको बेसीमा अठार हजार अरामीहरूलाई जितेर फर्कंदा तिनको नाउँ चर्चित भएको थियो।
14तिनले एदोमका सबै ठाउँमा छाउनी तैनाथ गरे र सबै एदोमी तिनका सेवकहरू भए। दाऊद जहाँजहाँ गए त्यहाँत्यहाँ नै परमप्रभुले विजय दिनुभयो।
15दाऊदले सारा इस्राएलभरि शासन गरे र तिनले आफ्ना सबै मानिसलाई न्याय र धार्मिकता प्रदान गरे।
16सरूयाहका छोरा योआब सेनाका कमाण्डर थिए र अहीलूदका छोरा यहोशापात लेखापाल थिए।
17अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पुजारीहरू थिए र सरायाह शास्त्री थिए।
18यहोयादाका छोरा बनायाह करेती र पलेथीहरूका प्रमुख थिए र दाऊदका छोराहरू राजाका मुख्य अधिकृतहरू थिए।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org