ULB · अध्याय 10 / 29
१ इतिहास 10
1यति बेला पलिश्तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे। इस्राएलका हरेक मानिस पलिश्तीहरूको सामुबाट भागे र गिल्बो डाँडामा मरे।
2पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे। पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे।
3शाऊलको विरुद्धमा युद्ध कठिन भयो, र धनुर्धारीहरूले तिनीमाथि जाइलागे, र उनीहरूले तिनलाई घाइते बनाए।
4त्यसपछि शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुत् र मलाई घोच्। नत्रता यी बेखतनेहरूले आउनेछन् र मलाई दुःख दिनेछन्।” तर तिनको हतियार बोक्नेले त्यसो गरेन, किनकि ऊ धेरै डराएको थियो। यसैले शाऊलले आफ्नो तरवार थुते र त्यसमा छेडिए।
5जब तिनको हतियार बोक्नेले शाऊल मरेका देख्यो, तब ऊ पनि त्यसरी नै आफ्नो तरवारमा छेडिएर मर्यो।
6यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे, यसै गरी तिनका परिवारका सबै जना एकैपटक मरे।
7जब मैदानमा भएका सबै इस्राएलीले आ-आफ्ना सेना भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडे र भागे। अनि पलिश्तीहरू त्यहाँ आए र बसोबास गरे।
8भोलिपल्ट यस्तो भयो, जब पलिश्तीहरू मारिएकाहरूलाई लुट्नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मरेका भेट्टाए।
9उनीहरूले तिनलाई नङ्ग्याए, तिनका टाउको र तिनका हतियारहरू लगे। त्यसपछि उनीहरूले पलिश्तीहरूको देशका चारैतिर आफ्ना मूर्तिहरू र मानिसहरूलाई यो समाचार दिन समाचारवाहकहरू पठाए।
10उनीहरूले तिनका हतियारहरू आफ्ना देवताहरूको मन्दिरमा राखे, र तिनको टाउको चाहिं दागोनको मन्दिरमा बाँधे।
11जब याबेश-गिलादमा भएका सबैले पलिश्तीहरूले शाऊललाई गरेका सबै कुरा सुने,
12तब शाऊल र तिनका छोराहरूका मृत शरीर ल्याउन सबै योद्धाहरू गए, र तिनीहरूलाई याबेशमा ल्याए। तिनीहरूका हड्डीहरू त्यहाँ फँलाटको रूखमुनि गाडे र सात दिनसम्म उपवास बसे।
13यसरी परमप्रभुप्रतिको विश्वासहीनताको कारणले शाऊल मरे। तिनले परमप्रभुको निर्देशनहरूलाई पालन गरेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिए।
14तिनले परमप्रभुबाट मार्गदर्शन खोजेनन्, यसैले परमप्रभुले तिनलाई मार्नुभयो र यिशैका छोरा दाऊदलाई राज्य सुम्पनुभयो।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org