Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अगस्ट › अगस्ट 22

अर्थोडक्स पात्रो · अगस्ट 9 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2027 अगस्ट 22

आइतबार · स्वर 8

पर्व र सन्तहरू

पेन्तिकोसपछिको 9औँ आइतबार

मरियमको शयन-पर्वको उपवास

उपवास: तेलसहित

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

बिहानको प्रार्थनाको 9औँ सुसमाचार

यूहन्ना 20:19–31

19हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!” 20जब उहाँले तिनीहरूलाई यो भन्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो। चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए। 21तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्। जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पनि पठाउँदै छु।” 22जब येशूले यसो भन्‍नुभयो उहाँले तिनीहरूमाथि सास फुक्‍नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा लेओ। 23तिमीहरूले जसका पापहरू क्षमा गर्छौ ती तिनीहरूका निम्ति क्षमा गरिन्छन्; जसका पापहरू तिमीहरू कायम राख्‍छौ, ती कायम राखिन्छन्।” 24येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिँ तिनीहरूसँग थिएनन्। 25पछि अरू चेलाहरूले “हामीले प्रभुलाई देख्यौँ” भनी तिनलाई बताए। तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औँला त्यहाँ नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ।” 26आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए। ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!” 27त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर।” 28थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्‍वर!” 29येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले विश्‍वास गरेका छौ। धन्य हुन् तिनीहरू जसले देखेका छैनन् र पनि विश्‍वास गरेका छन्।” 30यस पुस्तकमा नलेखिएका अरू धेरै चिन्हहरू येशूले चेलाहरूको उपस्थितिमा गर्नुभयो, 31तर यीचाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्‍वास गर्न सक र विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक।

पत्र

१ कोरिन्थी 3:9–17

9किनकि हामीहरू परमेश्‍वरका सहकर्मी हौँ। तिमीहरू परमेश्‍वरका बगैँचा र उहाँका भवनहरू हौ। 10परमेश्‍वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ। तर हरेक व्यक्‍तिले कसरी बनाउँदै छ भन्‍ने बारेमा सावधान रहनुपर्छ। 11किनकि जुन जग बसालिएको छ, त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन, जुन जग ख्रीष्‍ट हुनुहुन्छ। 12यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, वा परालको प्रयोग गरेर निर्माण गर्छ भने 13उसको काम दिनमा प्रकट गरिनेछ, किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ। किनकि त्यो आगोमा प्रकट हुनेछ। हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ। 14यदि कसैले गरेको काम रहिरह्‍यो भने त्यसले इनाम प्राप्‍त गर्नेछ। 15तर यदि कसैको काम जलेर नष्‍ट भयो भने त्यसले नोक्सानी भोग्‍नुपर्नेछ। तर ऊ आफैँचाहिँ आगोबाट फुत्केझैँ बचाइनेछ। 16के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्‍वरका मन्दिर हौ, र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ? 17यदि कसैले परमेश्‍वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्‍यसलाई पनि नाश गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ।

सुसमाचार

मत्ती 14:22–34

22उहाँले आफ्ना चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्को पट्टि जान लगाउनुभयो, जब कि भिडलाई चाहिँ उहाँ आफैँले बिदा गर्न चाहनुभयो। 23उहाँले भिडलाई पठाइसक्‍नुपछि उहाँ आफैँ डाँडामा प्रार्थना गर्न जानुभयो। जब पूर्ण रूपमा साँझ भयो, उहाँ त्यहाँ एकलै हुनुहुथ्यो। 24तर त्यस बेला डुङ्गा भने समुद्रको बिचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्‍त्रित भयो। 25बिहान तिन बजेतिर येशू समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो। 26जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्‍च्‍याउन थाले। 27तर येशू तिनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “ढाडस गर! मै हुँ! नडराओ।” 28पत्रुसले उहाँलाई जवाफ दिए र भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमा आउनलाई आदेश दिनुहोस्।” 29येशूले भन्‍नुभयो, “आऊ।” त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिँडे। 30तर जब पत्रुसले बतासलाई देखे, उनी डराए। जब उनी डुब्‍न थाले, उनले चिच्‍च्‍याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस्!” 31येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो; पत्रुसलाई समात्‍नुभयो र उनलाई भन्‍नुभयो, “ए अल्पविश्‍वासी! तिमीले किन शङ्का गर्‍यौ?” 32त्यसपछि जब येशू र पत्रुस डुङ्गामा जानुभयो, तब बतास रोकियो। 33त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ।” 34जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्‍नुभयो।

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको अगस्ट 9 नागरिक पात्रोमा अगस्ट 22 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार