Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 डिसेम्बर › डिसेम्बर 30

अर्थोडक्स पात्रो · डिसेम्बर 17 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2026 डिसेम्बर 30

बुधबार · पेन्तिकोसपछिको 31औँ हप्ता · स्वर 5

पर्व र सन्तहरू

Prophet Daniel and the Three Holy Youths, Ananias, Azarias, and Misael (c 600 BC)

जन्मोत्सवको उपवास

उपवास: तेलबिना पकाएको खाना

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

पत्र

याकूब 1:1–18

1परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टका सेवक याकूबबाट, छरपष्‍ट भएका बाह्र कुललाई अभिवादन। 2मेरा भाइहरू हो, तिमीहरूले अनेकौँ किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ, 3तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँदछ। 4धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस्। 5तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ। 6तर उसले शङ्का नगरी विश्‍वाससाथ मागोस्। किनभने शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ। 7त्यस्तो व्यक्‍तिले परमप्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस्। 8त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ। 9दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्, 10तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ। 11किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ। फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ। त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ। 12त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ। किनभने परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ। 13परीक्षामा पर्दा “यो परीक्षा परमेश्‍वरबाट आएको हो” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन र उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्‍न। 14तर हरेक व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ। 15अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ। 16मेरा प्रिय भाइहरू हो, धोकामा नपर। 17हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो। ज्योतिका पिताबाट त्यो तल आउँछ। उहाँ बद्‌लिरहने छायाजस्तो बद्‌लिनुहुन्‍न। 18उहाँले सृष्‍टि गर्नुभएका सबै कुरामध्‍ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्‍वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्‍नुभयो।

पत्र (अगमवक्ता दानिएल र तीन जना युवाका निम्ति)

हिब्रू 11:33–12:2

33विश्‍वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्‍त गरे। तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए। 34तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्‍तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए। 35स्‍त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्‍त गरे। अरूले अझ उत्तम पुनरुत्थान प्राप्‍त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन्। त्यसैले, तिनीहरूले दण्ड भोगे। 36अरूहरूले निन्दा, कोर्रा, साङ्‌ला र कैदजस्ता आदि कुराहरू सहे। 37तिनीहरूलाई ढुङ्गाले हानियो। तिनीहरूलाई दुई भाग हुने गरी चिरियो। तिनीहरूलाई तरवारले मारियो। तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्‍यो र विभिन्‍न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्‍यो। 38यो संसार तिनीहरूका लागि योग्य थिएन। तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्‍यो। 39यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्‍वासको कारण परमेश्‍वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गर्न सकेनन्। 40हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्‍वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो। 12:1यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाऔँ। हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ। 2विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ, जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्‍नुभयो, अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ।

सुसमाचार

मर्कूस 8:30–34

30येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो। 31उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्‍नुपर्छ, र धर्म-गुरुहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र तिन दिनपछि फेरि मृत्युबाट जीवित भई उठ्नेछ भनी तिनीहरूलाई सिकाउन थाल्नुभयो। 32उहाँले यो स्पष्‍टसँग भन्‍नुभयो। तब पत्रुसले उहाँलाई एकातिर लगे र उहाँलाई हपार्न थाले। 33तर येशू आफ्ना चेलाहरूतिर फर्कनुभयो अनि पत्रुसलाई हप्काउनुभयो र भन्‍नुभयो, “मबाट पछि हट् शैतान! तैँले परमेश्‍वरको कुरालाई ख्याल गर्दैनस्, तर तैँले मानिसको कुरालाई ख्याल गर्छस्।” 34त्यसपछि उहाँले भिड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने, त्यसले आफैँलाई इन्कार गर्नुपर्छ, त्यसको क्रुस बोक्‍नुपर्छ र मलाई पछ्याउनुपर्छ।

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको डिसेम्बर 17 नागरिक पात्रोमा डिसेम्बर 30 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार