गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 अक्टोबर › अक्टोबर 11
अर्थोडक्स पात्रो · सेप्टेम्बर 28 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2026 अक्टोबर 11
आइतबार · स्वर 2
पर्व र सन्तहरू
पेन्तिकोसपछिको 19औँ आइतबार
उपवास
उपवास छैन
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
साँझको प्रार्थना: पाठ
यो अनुवादमा छैन
साँझको प्रार्थना: पाठ
यो अनुवादमा छैन
साँझको प्रार्थना: पाठ
यो अनुवादमा छैन
बिहानको प्रार्थनाको आठौँ सुसमाचार
11तर मरियमचाहिँ रुँदै चिहानबाहिर उभिएरहेकी थिइन्; तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन्। 12तिनले सेतो पहिरनमा येशूको शरीर राखिएको शिरपट्टि एक र पाउपट्टि अर्को गरी दुई जना स्वर्गदूत बसिरहेका देखिन्। 13तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन्।” 14जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन्। 15येशूले तिनलाई भन्नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ, र म उहाँलाई लिएर जानेछु।” 16येशूले तिनलाई भन्नुभयो, “मरियम!” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन् “रब्बोनी” (जसको अर्थ हुन्छ, “गुरु”)। 17येशूले तिनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जानेछु।” 18मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र तिनलाई उहाँले भन्नुभएका यी कुराहरू बताइन् र भनिन्, “मैले प्रभुलाई देखेँ।”
पत्र
31प्रभु येशूका पिता र सदासर्वदा प्रशंसा गरिनुहुने परमेश्वरलाई थाहा छ कि मैले ढाँटेको छैन! 32दमस्कसका राजा अरितसको मातहतमा रहेका हाकिमले मलाई गिरफ्तार गर्नको निम्ति सहरलाई पहरा दिइरहेका थिए। 33तर मलाई पर्खालको झ्यालबाट टोकरीमा हालेर तल झारियो र म तिनको हातबाट उम्केँ। 12:1मैले गर्व गर्नैपर्छ, तर यसबाट केही लाभ हुँदैन। तर प्रभुको दर्शन र प्रकाशहरूमा म लागिरहन्छु। 2म ख्रीष्टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो, शरीरमा वा शरीरविनै मलाई थाहा छैन, तर परमेश्वरलाई थाहा छ। 3र मलाई थाहा छ, त्यो मानिस शरीरमा वा शरीरविनै हो, मलाई थाहा छैन, तर परमेश्वरलाई थाहा छ। 4कि ऊ स्वर्गमा उचालि लगियो र उसले कसैले उच्चारण नै गर्न नसक्ने अति पवित्र कुराहरू सुन्यो। 5त्यस मानिसको तर्फबाट म गर्व गर्छु। तर म आफ्नै दुर्वलताबाहेक अरू कुरामा गर्व गर्नेछैन। 6यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्नेछैन किनकि मैले सत्य बोलिरहेको छु। तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु। 7आश्चर्यजनक प्रकाशहरूको कारण म गर्व गर्नदेखि थामिन्छु। त्यसकारण, म घमण्डले नफूलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइएको छ। म धेरै घमण्डी नहूँ भनेर शैतान तर्फको दूत मलाई दुःख दिनको निम्ति दिइएको छ। 8मबाट यो काँढो निकालिदिनुभएको होस् भनेर मैले प्रभुसित तिन पटक बिन्ती गरेँ। 9अनि उहाँले मलाई भन्नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्ति सिद्ध हुन्छ।” यसैले, ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु।
पत्र (सन्त खारितोनका निम्ति)
6किनकि परमेश्वरले भन्नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ।” येशू ख्रीष्टको उपस्थितिमा परमेश्वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ। 7यो अति नै महान् शक्ति हामीसँग होइन, तर परमेश्वरसँग छ भन्ने स्पष्ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ। 8हामी सबैतिरबाट कष्टित भएका छौँ, तर निराश भएका छैनौँ। 9हामी सताइएका छौँ, तर त्यागिएका छैनौँ। हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ। 10येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ। 11हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ। 12यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा। 13“मैले विश्वास गरेँ, यसैले मैले बोलेँ।” भनेर लेखिएजस्तै हामीसँग विश्वासको उस्तै आत्मा छ। 14हामीलाई थाहा छ, कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो, उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ। हामीलाई थाहा छ, कि उहाँले हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ। 15हरेक कुरा तिमीहरूको निम्ति हो ताकि जसरी धेरै मानिसहरूमा अनुग्रह फैलिएको छ, त्यसरी नै परमेश्वरको महिमाको लागि धन्यवाद दिने काम पनि वृद्धि होस्।
सुसमाचार
1जब मानिसहरू येशूकहाँ परमेश्वरको वचन सुन्नको लागि जम्मा भए, त्यो समयमा येशू गनेसरेतको तालमा उभिनुभएको थियो। 2उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखेको देख्नुभयो। जालहारीहरूले बाहिर निस्केर आफ्ना जालहरू धोइरहेका थिए। 3येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिँ सिमोनको थियो र उनलाई जमिनभन्दा पर पानी भएको ठाउँतिर लैजान भन्नुभयो। त्यसपछि उहाँले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउनुभयो। 4उहाँले बोलिसक्नुभएपछि सिमोनलाई भन्नुभयो, “माछाहरू समात्नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ र जाल हान।” 5सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि जाल हान्यौँ, तर केही पनि पक्रन सकेनौँ। तरै पनि तपाईं भन्नुहुन्छ भने म जाल हान्नेछु।” 6जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो। 7त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे। तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्न थाले। 8तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी हुँ।” 9तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्चर्य चकित भए। 10यस कार्यमा जब्दियाका छोराहरू याकूब र यूहन्ना पत्रुससँग साझेदार थिए। येशूले पत्रुसलाई भन्नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ।” 11जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे।
सुसमाचार (सन्त खारितोनका निम्ति)
17त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो। त्यहाँ उहाँका चेलाहरूको ठुलो भिड थियो र त्यसै गरी ठुलो सङ्ख्यामा यहूदिया, र यरूशलेम, र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए। 18तिनीहरू उहाँका वचन सुन्न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए। 19भभिडमा भएका सबैले उहाँलाई छुन खोजे, किनभने निको पार्ने शक्ति उहाँबाट गइहेको थियो र उहाँले सबैलाई निको पार्नुभयो। 20उहाँले चेलाहरूतर्फ हेर्नुभयो र भन्नुभयो, “धन्य तिमीहरू जो दीन छौ, परमेश्वरको राज्य तिमीहरूकै हो। 21धन्य तिमीहरू जो अहिले भोकाउँदछौ, तिमीहरू तृप्त हुनेछौ। धन्य तिमीहरू जो अहिले रुन्छौ, तिमीहरू हाँस्नेछौ। 22जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन्। धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन्। 23त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्ताहरूलाई त्यसै गरेका थिए।
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको सेप्टेम्बर 28 नागरिक पात्रोमा अक्टोबर 11 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार