Bible Explorer एप लिनुहोस्

बाइबल › सपन्याह › 1

ULB · अध्याय 1 / 3

सपन्याह 1

1अमोनका छोरा, यहूदाका राजा योशियाहको समयमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको परमप्रभुको वचन यही हो।

2“म निश्‍चय नै यस पृथ्वीबाट सबै कुरा नाश गर्नेछु,परमप्रभु घोषणा गर्नुहुन्छ।

3म मानिस र पशु दुवैलाई सर्वनाश गर्नेछु। आकाशका चराहरू, र समुद्रका माछा, दुष्‍टहरू लगायत ढुङ्गाको रास सबैलाई म नष्‍ट गर्नेछु। किनभने म मानिस जातिलाई पृथ्वीबाट सखाप पार्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ।

4यहूदा र यरूशलेमका सबै वासिन्दाहरूमाथि म मेरो हात पसार्नेछु। यस ठाउँबाट बालका बाँकी रहेका सबैलाई र पूजाहारीहरुमध्ये मूर्तिपुजकहरूका नामलाई सखाप पार्नेछु,

5र घरका माथिल्लो भागमा बसेर नक्षत्रहरूको पूजा गर्नेहरू, र ती मानिसहरू जसले परमप्रभुको आराधना गर्छन् र उहाँको शपथ खान्छन् तर आफ्ना राजाको शपथ पनि खान्छन्, तिनीहरूलाई पनि म नाश गर्नेछु।

6परमप्रभुलाई पछ्याउन छोडेर उहाँबाट टाढा हुनेहरू, र उहाँको खोजी नगर्ने र उहाँको निर्देशन नखोज्नेहरूलाई पनि म सखाप पार्नेछु।”

7परमप्रभु परमेश्‍वरको सामु शान्त रहो, किनभने परमप्रभुको दिन नजिकै छ। परमप्रभुले बलिदान तयार पार्नुभएको छ र आफ्ना पाहुनाहरूलाई अलग्गै राख्‍नुभएको छ।

8“परमप्रभुको बलिदानको दिनमा, म राजकुमारहरू र राजाका छोराहरू, र विदेशी पहिरन लगाएका सबैलाई दण्ड दिनेछु।

9त्यस दिन सँघारमा खुट्टा नटेक्‍नेहरू सबैलाई, र आफ्ना मालिकका घरलाई हिंसा र छलले भर्ने सबैलाई म दण्ड दिनेछु।

10अनि त्यो दिन यस्तो हुनेछ भनेर परमप्रभु घोषणा गर्नुहुन्छ। माछा ढोकाबाट कष्‍टको रुवाबासी, नयाँ टोलबाट विलाप, र पहाडहरूबाट ठुलो धमाकाको आवाज आउनेछ।

11ए बजारहरूमा बस्‍नेहरू, रोओ, किनभने सबै व्यापारीहरू तहस-नहस हुनेछन्, र चाँदीका व्यापारीहरू सखाप पारिनेछन्।

12त्यस बेला म बत्तीहरू बालेर यरूशलेमको खोजी गर्नेछु र त्यसको मद्यमा प्रसन्‍न भएका र आफ्नो हृदयमा ‘परमप्रभुले असल वा खराब केही पनि गर्नुहुनेछैन’ भनेर भन्‍ने मानिसहरूलाई सजाय दिनेछु।

13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन्। तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मद्य पिउनेछैनन्।

14परमप्रभुको त्यो महान् दिन नजिकै छ, नजिक र चाँडै आउँदै छ। परमप्रभुको दिनको आवाज चिच्याई-चिच्याई रोइरहेको योद्धाको झैँ हुनेछ।

15त्यो दिन क्रोधको दिन, संकट र पीडाको दिन, आँधी र विनाशको दिन, अन्धकार र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन हुनेछ।

16त्यो दिन किल्ला भएका शहरहरु र उच्‍च धरहराहरूको विरुद्ध तुरही र चेतावनीको सोरको दिन हुनेछ।

17किनभने म मानवजातिमाथि संकट ल्याउनेछु, अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन्। तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन्।

18परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदी न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ। उहाँको डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ, किनभने उहाँले पृथ्वीका सारा वासिन्दाहरूको पूर्ण र भयानक अन्त गर्नुहुनेछ।”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org