Bible Explorer एप लिनुहोस्

बाइबल › जकरिया › 13

ULB · अध्याय 13 / 14

जकरिया 13

1“त्यस दिन दाऊदको घराना र यरूशलेमका वासिन्दाहरूका पाप र अशुद्धताको कारण तिनीहरूका निम्ति पानीको छहरा खोलिनेछ।

2त्यस दिन, म भूमिबाट मूर्तिहरूका नाउँ मेटाइदिनेछु र तिनीहरूको कहिल्यै सम्झना हुनेछैन, परमप्रभु घोषणा गर्नुहुन्छ। म भूमिबाट अगमवक्ताहरू र अशुद्धताका आत्मालाई हटाइदिनेछु।

3कुनै मानिसले अझै अगमवाणी गरेमा, त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसलाई भन्‍नेछन्, ‘तँ बाँच्नेछैनस्, किनभने तैँले परमप्रभुको नाउँमा झुटो बोल्छस्!’ अनि त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसले अगमवाणी बोल्दा त्यसलाई छेडिदिनेछन्।

4त्यस दिन हरेक अगमवक्ता, अगमवाणी गर्न लाग्दा आफ्नो दर्शनको कारण शर्ममा पर्नेछ। यी अगमवक्ताहरूले अब मानिसहरूलाई धोकामा पार्न रौँ भएका लबेदा लगाउनेछैनन्।

5किनभने हरेकले भन्‍नेछ, ‘म अगमवक्ता होइनँ! म त माटोमा काम गर्ने मानिस हुँ, किनकि म जवान हुँदादेखि नै भूमिमा नै मैले काम गर्न थालेँ!’

6तर कसैले त्यसलाई भन्‍नेछ, ‘तेरा हातहरूका बिचमा भएका यी घाउ के हुन्?’ र त्यसले जवाफ दिनेछ, ‘म आफ्ना साथीभाइको घरमा हुँदा मलाईती चोट लागेका थिए।’”

7“ए तरवार! मेरो गोठालोको विरुद्ध उठ्, जो मेरो नजिक उभिएको छ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ। गोठालोलाई प्रहार गर्, र बगाल तितर-बितर हुनेछ! किनभने तल्लो वर्गकाहरूका विरुद्ध म मेरो हात उठाउनेछु।

8र साराभूमिमा यस्तो हुनेछ - परमप्रभु घोषणा गर्नुहुन्छ, कि त्यसको दुई-तिहाइ भाग नाश हुनेछ! ती मानिसहरू नष्‍ट हुनेछन्, र एक-तिहाइमात्र बाँकी रहनेछ।

9म ती एक-तिहाइलाई आगोबाट लैजानेछु र तिनीहरूलाई चाँदीलाई झैँ निखार्नेछु। सुनलाई झैँ म तिनीहरूको परिक्षण गर्नेछु। तिनीहरूले मेरो नाउँ पुकार्नेछन्, र म तिनीहरूलाई जवाफ यस्तो दिनेछु, ‘यी मेरा मानिस हुन्!’ र तिनीहरूले भन्‍नेछन्, ‘परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ!’”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org