Bible Explorer एप लिनुहोस्

बाइबल › जकरिया › 10

ULB · अध्याय 10 / 14

जकरिया 10

1वसन्त ऋतुको मौसममा परमप्रभुबाट वर्षा माग, परमप्रभु जसले आकाशमा बिजुली र आँधी बनाउनुहुन्छ, अनि उहाँले सबैलाई वर्षाको झरी र भूमिमा उब्जनी दिनुहुनेछ।

2किनकि घरका मूर्तिहरू झुट बोल्छन्, र भविष्य बताउनेहरू झुटा दर्शनहरू देख्‍छन्। तिनीहरू छलपूर्ण सपनाहरू बताउँछन् र व्यर्थका सान्त्वना दिन्छन्।यसैकारण तिनीहरू भेडाझैँ बरालिन्छन् र गोठालो नभएकोले समस्यामा पर्छन्।

3“मेरो क्रोध गोठालाहरूमाथि खनिन्छ। भाले बोको, अर्थात् अगुवाहरूलाई म दण्ड दिनेछु। सेनाहरूका परमप्रभुले उहाँको बगाल अर्थात् यहूदाको घरानाको हेरचाह गर्नुहुनेछ र तिनीहरूलाई युद्धको घोडाझैँ बनाउनुहुनेछ!

4कुने-ढुङ्गो यहूदाबाट आउनेछ। पालको कीला त्यसबाट आउनेछ, अनि युद्धको धनु र हरेक शासक एकसाथ त्यसैबाट आउनेछ।

5युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन्। तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन्।

6म यहूदाको घरानाललाई बलियो बनाउनेछु र योसेफको घरानालाई बचाउनेछु, किनकि म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु र तिनीहरूमाथि दया देखाउनेछु। तिनीहरू वहिष्कृत नभएकाहरूझैँ हुनेछन्, किनकि म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु।

7अनि एफ्राइम योद्धाझैँ हुनेछ, र तिनीहरूका हृदय मद्यले झैँ आनन्दित हुनेछ। तिनीहरूका छोराछोरीहरूले यो देखेर आनन्द मनाउनेछन्। तिनीहरूका हृदय ममा आनन्दित हुनेछन्!

8म तिनीहरूलाई सुस्केराले बोलाउनेछु र तिनीहरूलाई भेला गराउनेछु। म तिनीहरूलाई बचाउनेछु, र तिनीहरू पहिलेको झैँ महान् हुनेछन्!

9मैले तिनीहरूलाई मानिसहरूका बिचमा छरेँ, तर तिनीहरूले मलाई टाढा-टाढाका देशहरूमा सम्झनेछन्, यसैकारण तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्नेछन् र फर्कनेछन्।

10किनकि म तिनीहरूलाई मिश्र देशबाट पुनर्स्थापित गर्नेछु र तिनीहरूलाई अश्शूर देशबाट भेला गराउनेछु। गिलाद र लेबनानमा तिनीहरूका निम्ति ठाउँ बाँकी नरहेसम्म म तिनीहरूलाई त्यहाँ लानेछु।

11म तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु। म त्यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु र नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु। अश्शूरको गौरव घटाइनेछ, र मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ।

12तिनीहरूलाई म ममा नै बलियो बनाउनेछु, र तिनीहरू मेरो नाउँमा हिँड्नेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ।”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org