ULB · अध्याय 1 / 13
नहेम्याह 1
1हकल्याहका छोरा नहेम्याहका वचनहरूः बिसौँ वर्षको किसलेव महिनामा म शूशनको किल्लामा छँदा,
2मेरा दाजुहरूमध्येका एक जना अर्थात् हनानी यहूदाबाट केही मानिसहरूसँगै आए, र मैले त्यहाँ बाँकी रहेका यहूदीहरू र यरूशलेमको विषयमा सोधपुछ गरेँ।
3तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन्, तिनीहरू ठुलो कष्ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मुल ढोकाहरूमा आगो लगाइएका छन्।”
4मैले यी वचन सुन्ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ।
5तब मैले भनेँ, “तपाईं स्वर्गका परमेश्वर परमप्रभु हुनुहुन्छ, जो महान् र भययोग्य हुनुहुन्छ। तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञाहरू मान्नेहरूप्रति करार पुरा गर्नुहुन्छ र तपाईंको अचुक प्रेम देखाउनुहुन्छ।
6अब तपाईंका दासहरू अर्थात् इस्राएलका मानिसहरूका निम्ति तपाईंका दास मैले दिनप्रतिदिन गर्ने मेरो प्रार्थना सुन्नुहोस्, र तपाईंका आँखा खोल्नुहोस्। तपाईंको विरुद्धमा हामी सबै इस्राएलीले गरेका पाप म स्वीकार गर्दै छु। म र मेरा पिताको घराना दुवैले पाप गरेका छन्।
7हामीले तपाईंको विरुद्धमा दुष्ट काम गरेका छौँ, र तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञाहरू, विधिविधानहरु र नियमहरू पालन गरेका छैनौँ।
8कृपा गरी आफ्ना दास मोशालाई तपाईंले आज्ञा दिनुभएको वचन स्मरण गर्नुहोस्, 'तिमीहरू अविश्वासयोग्य भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिने छु,
9तर तिमीहरू मकहाँ फर्केर मेरा आज्ञाहरूलाई पछ्याई पालन गर्यौ भने तिमीहरूका मानिसहरू आकाशका कुना-कुनासम्म तितर-बितर भए तापनि म तिनीहरूलाई त्यहाँबाट जम्मा गर्ने छु, र मेरो नाउँ राख्न मैले चुनेको ठाउँमा तिनीहरूलाई फर्काएर ल्याउने छु।'
10तिनीहरू तपाईंका दासहरू हुन्, र तपाईंका मानिसहरू हुन्, जसलाई तपाईंले आफ्नो महान् शक्ति र शक्तिशाली हातले छुटकारा दिनुभएको छ।
11हे परमप्रभु, म बिन्ती गर्छु, कि तपाईंको नाउँको आदर गर्ने तपाईंका दास र तपाईंका दासहरूको प्रार्थना सुन्नुहोस्। आज तपाईंको दासलाई सफलता दिनुहोस्, र यस मानिसको दृष्टिमा उसलाई कृपा देखाउनुहोस्।” म राजाको मद्य टक्र्याउने व्यक्तिको रूपमा काम गर्थें।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org