Bible Explorer एप लिनुहोस्

बाइबल › यशैया › 25

ULB · अध्याय 25 / 66

यशैया 25

1हे परमप्रभु, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ। तपाईंलाई म उच्‍च पार्नेछु, तपाईंको नाउँको म प्रशंसा गर्नेछु। किनकि धेरै अघि योजना बनाइएका कुराहरू, सुन्‍दर कुराहरू तपाईंले पुर्ण विश्‍वस्‍ततासाथ गर्नुभएको छ।

2किन तपाईंले सहरलाई एउटा थुप्रो, किल्लाबन्दी गरेको सहरलाई भग्‍नावशेष र परदेशीहरूका किल्ला भएको सहरलाई नाश गर्नुभएको छ।

3यसकारण बलिया मानिसहरूले तपाईंको महिमा गर्नेछन्। निर्दयी सहरका जातिहरूले तपाईंको डर मान्‍नेछन्।

4किनकि गरीबको निम्ति तपाईं सुरक्षाको ठाउँ, खाँचोमा परेकाको निम्ति शरणस्थान— हुरीबाट बच्‍ने घर र तापबाट बच्‍ने छहारी हुनुभएको छ। जब निर्दयीहरूको सास पर्खालविरुद्ध आँधीजस्तै थियो,

5र सुख्‍खा जमिनको ताप जस्‍तो थियो, तपाईंले विदेशीहरूका आवाजलाई निस्तेज गर्नुभयो, जसरी तापलाई बादलको छायाले निस्तेज पार्छ, त्यसरी नै निर्दयीको गीतको जवाफ दिइन्छ।

6यस पर्वतमाथि सर्वशक्तिमान् परमप्रभुले सबै मानिसहरूका निम्ति मोटा-मोटा थोकहरू, उत्तम मद्यहरू, स्वदिष्‍ट मासु र मिठो मद्यको भोज तयार पार्नुहुनेछ।

7उहाँले मानिसहरूमाथिका छकनीहरू, सबै जातिहरूमाथि बुनिएका जालोहरू यही पर्वतमाथि नाश गर्नुहुनेछ।

8उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र परमप्रभु परमेश्‍वरले सबैको मुहारको आँसु पुछ्नुहुनेछ। उहाँले आफ्‍ना मानिसहरूको अपमानलाई सबै पृथ्वीबाट हटाउनुहुनेछ, किनकि यो परमप्रभुले भन्‍नुभएको छ।

9त्यस दिन यसो भनिनेछ, “हेर, उहाँ नै हाम्रो परमेश्‍वर हुनुहुन्छ। हामीले उहाँको प्रतिक्षा गरेका छौं र उहाँले हामीलाई बचाउनुहुनेछ। उहाँ परमप्रभु हुनुहुन्छ। उहाँको उद्धारमा हामी खुसी हुनेछौं र आनन्द मनाउनेछौं।

10किनकि यो पर्वतमा परमप्रभुको हातले विश्रमा लिनेछ, अनि गोबरले भरिएको खाल्डोमा पराललाई कुल्चेझैं मोआबलाई त्यसकै ठाउँमा कुल्चिइनेछ

11पौडी खेल्‍नेले पौडनलाई आफ्नो हात फैलाएझैं तिनीहरूले त्‍यसको माझमा आफ्‍ना हातहरू फैलाउनेछन्। तर तिनीहरूका हातहरूका सीपहरूको बाबजुत पनि परमप्रभुले तिनीहरूका घमण्डलाई तल झार्नुहुनेछ।

12तेरा किल्लाहरूका अग्‍ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्‍नुहुनेछ।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org