ULB · अध्याय 24 / 66
यशैया 24
1हेर्, परमप्रभुले पृथ्वीलाई रित्तो बनाउन, यसलाई विनाश पार्न, यसको सतहलाई बिगार्न र यसका बासिन्दाहरूलाई तितरबितर पार्न लाग्नुभएको छ।
2यो मानिसहरूलाई झैं पुजारीहरूलाई, नोकरलाई झैं मालिकलाई, दासीलाई झैं मलिक्नीलाई, किन्नेलाई झैं बेच्नेलाई, ऋण दिनेलाई झैं ऋण लिनेलाई, ब्याज लिनेलाई झैं ब्याज दिनेलाई हुनेछ।
3पृथ्वीलाई पुर्ण रूपमा विनाश गरिनेछ र पुर्ण रूपमा नाङ्गो बनाइनेछ। किनकि परमप्रभुले यो वचन बोल्नुभएको छ।
4पृथ्वी सुख्खा हुनेछ र ओइलाउनेछ, संसार सुक्नेछ र ओइलाएर जानेछ। पृथ्वीका विशिष्ट मानिसहरू दुर्बल हुनेछन्।
5पृथ्वीलाई यसका बासिन्दाहरूले दूषित पारेका छन्, किनभने तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, नियमहरू तोडेका छन् र अनन्तको करार उलङ्घन गरेका छन्।
6यसकारण सरापले पृथ्वीलाई विनाश पार्छ र यसका बासिन्दाहरू दोषी भेट्टाइएका छन्। पृथ्वीका बासिन्दाहरू जलाइन्छन् र थोरै मानिसहरू मात्र बाँकी छन्।
7नयाँ दाखमद्य सुक्छ, दाख ओइलिन्छ, सबै आनन्दि हृदयहरूले शोक गर्छन्।
8खैंजडीको सुमधुर आवाज बन्द हुन्छ र आनन्द मनाउनेहरूको आनन्दको सोर पनि बन्द हुन्छ। वीणाको आनन्द बन्द हुन्छ।
9तिनीहरूले फेरि दाखमद्य पिउँदैनन् र गाउँदैनन्, र कडा मद्य पिउनेलाई त्यो तीतो हुन्छ।
10गोलमालको सहरलाई भत्काइएको छ। हरेक घर बन्द गरिएको र रित्तो छ।
11दाखमद्यको कारणले गर्दा सडकमा चिच्याहट छ। सबै आनन्द अन्धकार भएको छ, देशको खुसी लोप भएको छ।
12सहरमा उजाड छोडिएको छ र ढोका भग्नावशेष भएर फुटेको छ।
13किनकि जस्तो जैतूनको रूखलाई हल्लाउँदा, जस्तो अङ्गुर टिप्दा फाटफुट छुट्छ, सारा पृथ्वीभरि जातिहरू माझ यस्तै नै हुनेछ।
14आफ्नो सोरलाई तिनीहरूले उचाल्नेछन् र परमप्रभुको वैभवको जयजयकार गर्नेछन् र समुद्रबाट आनन्दसाथ कराउनेछन्।
15यसकारण पुर्वमा परमप्रभुको महिमा गर, समुद्रा टापुहरूमा परमप्रभु इस्राएलका परमेश्वरको नाउँलाई महिमा देओ।
16हामीले पृथ्वीको सुदूर भागबाट गीतहरू सुनेका छौं, “धर्मी जनको महिमा होस्!” तर मैले भनें, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु, मलाई धिक्कार! धोकेबाजले धोकापुर्ण व्यवहार गरेको छ। हो, धोकेबाजले धेरै धोकापुर्ण व्यवहार गरेको छ।
17ए पृथ्वीका बासिन्दाहरू, तिमीहरूमाथि त्रास, खाल्डो र पासो आइलागेको छ।
18त्रासको आवाजदेखि भाग्ने खाल्डोमा पर्नेछ, खाल्डोको बिचबाट बाहिर निस्कने पासोमा पर्नेछ। स्वर्गका झ्यालहरू खोलिनेछन् र पृथ्वीका जगहरू हल्लिनेछन्।
19पृथ्वी पुर्ण रूपमा टुट्नेछ, पृथ्वी चिरा पर्नेछ। पृथ्वीलाई डरलाग्दो किसिमले हल्लाइनेछ।
20पृथ्वी मद्यले मातेको मानिसझैं लरखराउनेछ र यो झुप्रोझैं यताउता हल्लिनेछ। यसमाथि यसको पाप भारि हुनेछ र यो पतन हुनेछ अनि फेरि कहिल्यै उठ्नेछैन।
21त्यस दिन परमप्रभुले स्वर्गका सेनाहरूलाई आकाशमा र पृथ्वीका राजाहरूलाई पृथ्वीमा दण्ड दिनुहुनेछ।
22तिनीहरूले कैदीको रूपमा खाल्डोमा एकसाथ जम्मा गरिनेछ र झ्यालखानमा बन्द गरिनेछ। अनि धेरै दिनपछि तिनीहरूलाई दण्ड दिइनेछ।
23तब चन्द्रमा लज्जित हुनेछ र सूर्य अपमानमा पर्नेछ, किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा अनि महिमामा आफ्ना धर्मगुरुहरूका सामु राज्य गर्नुहुनेछ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org