Bible Explorer एप लिनुहोस्

बाइबल › मिका › 6

ULB · अध्याय 6 / 7

मिका 6

1अब परमप्रभु के भन्‍नुहुन्छ त्यो सुन, “उठ र आफ्नो विषयमा पर्वतहरूलाई बताओ; पहाडहरूले तिमीहरूको आवाज सुनून्।

2ए पर्वतहरू र पृथ्वीका बलिया जगहरू परमप्रभुको अभियोगलाई सुन। किनभने आफ्ना मानिसहरूको विरुद्ध परमप्रभुको एउटा अभियोग छ, र उहाँ इस्राएलको विरुद्ध न्यायलयमा लड्नुहुनेछ।”

3“मेरा मानिस हो, मैले तिमीहरूलाई के गरेको छु? मैले तिमीहरूलाई कसरी थकित पारेको छु? मेरो विरुद्धमा साक्षी देओ!

4किनभने मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ र दासत्वको घरबाट बचाएँ। मैले मोशा, हारून, र मिरियमलाई तिमीहरूकहाँ पठाएँ।

5मेरा मानिस हो, तिमीहरू शित्तीमदेखि गिलगालसम्म जाँदा, मोआबका राजा बालाकले कल्पना गरेका कुरा, र बओरको छोरो बालामले कसरी जवाफ दिएका थिए त्यो सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरू जान्‍न सक।”

6उच्‍च परमेश्‍वरकहाँ म निहुरिँदा, मैले परमप्रभुकहाँ के लैजाऊँ? के म उहाँकहाँ एक वर्षे बाछाहरूका होमबलि लिएर आऊँ?

7के परमप्रभु हजारौँ भेडाहरुद्धारा, वा तेलका दश हजार नदीहरुद्धारा प्रसन्‍न हुनुहुन्छ? के मेरा अपराधहरूका निम्ति र मेरो आफ्नै पापको निम्ति मेरो जेठो छोरो, मेरो शरीरको फल चढाऊँ?

8ए मानिस, उहाँले तँलाई जे असल छ त्यो, र तँबाट परमप्रभुले चाहनुभएको कुरा बताउनुभएको छ। न्यायपूर्ण काम गर, कृपालाई प्रेम गर, र आफ्ना परमेश्‍वरसँग नम्र भएर हिँड।

9परमप्रभुको आवाजले सहरलाई एउटा घोषणा गर्दै छ - विवेकले तपाईंको नाउँलाई स्वीकार्दछ: “छडीलाई र त्यो ठाउँमा राख्‍नेलाई ध्यान देओ।

10बेइमान दुष्‍टका घरानाहरूमा सम्पत्तिहरू छन्, र त्यहाँ झुटा कुराहरू छन्, जुन घृणास्पद छन्।

11यदि कसैले छलपूर्ण तराजू र कपटपूर्ण ढक प्रयोग गर्छ भने के मैले त्यसलाई निर्दोष मान्‍ने?

12धनी मानिसहरू हिंसाले भरिएका छन्, त्यसका निवासीहरू झुट बोल्छन्, र तिनीहरूका मुखमा तिनीहरूका जिब्रा छलपूर्ण छन्।

13यसैकारण म तिमीहरूलाई भयङ्कर रूपमा प्रहार गर्नेछु, र तिमीहरूका पापको कारण म तिमीहरूलाई उजाड बनाउनेछु।

14तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ। तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु।

15तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ। तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ। तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ।

16ओम्रीका नियमहरू, र आहाबका घरानाका सबै कामहरू पालना भएका छन्। यसैकारण म तिमीहरूको सहरलाई भग्‍नावशेष बनाउनेछु, र त्यहाँका बासिन्दाहरूलाई खिसीको पात्रो बनाउनेछु, र मेरा मानिसहरूबाट तिमीहरूले निन्दा सहनेछौ।”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org