ULB · अध्याय 4 / 4
मलाकी 4
1किनभने हेर, त्यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ। त्यस दिन सबै हठी र दुष्ट काम गर्नेहरू ठुटाझैँ हुनेछन्। आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्नुहुन्छ।
2तर मेरो नाउँको भय मान्नेहरूका निम्ति भने, धार्मिकताको सूर्य निको पार्दै आफ्ना पखेटामा उदाउनेछ। तिमीहरू बाहिर जानेछौ, र गोठबाट निस्केका बाछाझैँ उफ्रनेछौ।
3त्यस दिन तिमीहरूले दुष्टलाई कुल्चनेछौ, किनभने मैले काम गर्ने दिनमा तिनीहरू, तिमीहरूका पाउमुनिका खरानीझैँ हुनेछन्, सेनाहरूका परमप्रभु भन्नुहुन्छ।
4“मेरा दास मोशाका शिक्षालाई याद गर, जुन विधि र नियमहरू मैले त्यसलाई सारा इस्राएलीहरूका निम्ति होरेब पर्वतमा दिएको थिएँ।
5हेर, परमप्रभुको महान् र भयानक दिन आउनुअगि म अगमवक्ता एलियालाई तिमीहरूकहाँ पठाउनेछु।
6त्यसले बुबाहरूका हृदयलाई छोराछोरीहरूतर्फ, र छोराछोरीहरूका हृदयलाई तिनीहरूका बुबाहरूतर्फ फर्काउनेछन्, अनि म आएर देशलाई आक्रमण गरी पूर्ण रूपमा नाश गर्नेछैनँ।”
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org